लमजुङको हिलेबजार : बाढीले बनाइदियो बगर ! (फोटो फिचर)

 असार १२, २०७८ शनिबार १५:५:४६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – दुवैतिर उच्च हरियाली पहाड । खोँच हुँदै बगेको दोर्दी खोला । खोला आडैमा रहेको लस्करै बस्ती । केही दिन पहिलेसम्म आकर्षक लाग्ने यो ठाउँ अहिले उराठ लाग्दो बनेको छ । लमजुङको सुन्दर हिलेबजार, अहिले बगरको तन्नामा लमतन्न परेको छ । 

एक सय १४ घरधुरी रहेको यस बजारमा अहिले २० घर घटेका छन् । असार १ गते (मंगलबार) दोर्दी खोलामा आएको बाढीसँगै बगेर गए २० घर । 

‘बाढीले धेरै क्षति पुर्यायो । हिलेबजारलाई बाढीले बगर नै बनाइदियो नि,’ भावुक हुँदै स्थानीय धर्म गुरुङले भन्नुभयो, ‘यति धेरै घरहरु त बगायो बगायो, बाँकी रहेको बस्ती पनि जोखिममा छ ।’

उहाँका अनुसार बाढीले हिलेबजारका २० घरका साथै एक सामुदायिक भवन समेत बगाएको छ । बाँकी ५५ घर उच्च जोखिममा रहेका छन् । बाढीले बगाएको बस्तीमा बालुवा र ढुंगाको थुप्रो देख्न सकिन्छ । दोर्दीले फेरि बस्तीमा नजर लगाउने हो कि भन्ने चिन्ता छाइरहेको छ स्थानीयहरुमा ।

दोर्दी गाउँपालिका वडा नम्बर ८ मा रहेको हिलेबजार व्यापारिक केन्द्र पनि हो । दारिमबोट, लप्सीबोट, फलेनी लगायतका थुप्रै ग्रामीण क्षेत्रका नागरिक किनमेलका लागि हिलेबजारसम्म आउँछन् । बाढीले यहाँका धेरै क्षेत्र कटान गरेको छ । केही ठाउँमा बाटो अवरुद्ध भएको छ । हिलेबजारमा अहिले विद्युत सेवा ठप्प छ । झोलुङे पुल समेत उच्च जोखिममा छ । यहाँबाट हिँड्डुल गर्न रोक लगाइएको छ । ​

दोर्दीखोलामा विगतमा सानोतिनो बाढी आउने गरेको तर यस वर्ष असारको सुरुमै ठूलो बाढी आएर निकै भौतिक क्षति पुर्याएको वडाअध्यक्ष तुलबहादुर घलेले बताउनुभयो । उहाँका अनुसार हिलेबजारका बाढीबाट विस्थापित भएकाहरु अहिले फलेनी माविको भवनमा बसेका छन् । विस्थापित र बाढीको जोखिममा रहेका अन्य स्थानीय माथि गाउँमा रहेका स्थानीयको घरमा बसेका छन् ।

‘विद्यालयको कुनै पनि कोठा खाली छैनन् । एउटा कोठामा २/३ घरका परिवार बसेका छन् । कोही माथि गाउँमा रहेका स्थानीयको घरमा बसेका छन्,’ वडाध्यक्ष घलेले भन्नुभयो ।

‘ढुक्कले घरमा बस्न सक्ने स्थिति छैन’

पानी पर्न नरोकिएको र बाढीको उच्च जोखिम रहेकाले यहाँका कुनै पनि स्थानीय ढुक्कले घरमा बस्न सक्ने स्थिति छैन । बाढीको उच्च जोखिममा रहेका हिलेबजारलाई जोगाउन तत्कालका लागि तटबन्ध गर्न स्थानीय, प्रदेश र संघ सरकारले सहयोग गर्न आफूले आग्रह गरेकाे वडाध्यक्ष घले बताउनुहुन्छ ।

यस्तै विस्थापितहरुका लागि दिनहुँ विभिन्न संघसंस्थाले हिलेबजारमा राहत पुर्याइरहेका छन् । तर स्थानीयहरुमा भने बासकाे चिन्ता छ । 

‘बाढीले घर बगायो । राहत त पाइरहेका छौँ । विद्यालयमा बसेका छौँ । विद्यालय खुलेपछि कहाँ जाने ?’ बाढी विस्थापित गंगामाया गुरुङले दुःख पाेख्दै भन्नुभयो, ‘अन्यत्र घर घडेरी छैन । हामीलाई बासको व्यवस्था गरिदिए हुने थियो ।’ 

अहिले विस्थापितहरुकाे पुनर्स्थापनाकाे आवश्यकता छ । जोखिममा रहेका बस्ती संरक्षणका साथै विस्थापितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्बन्धित विभिन्न निकायसँग पहल भइरहेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।

यस्तै बाढीबाट विभिन्न ठाउँमा क्षति पुगेकाले विस्थापितहरुको पुनर्स्थापनाका लागि बृहत योजना बनाइ अघि बढ्नुपर्ने आवश्यकता रहेको बाढी प्रभावित क्षेत्र हिलेबजारको स्थलगत अनुगमन गर्दै नेकपा माओवादी केन्द्र नेता एवं पूर्वमन्त्री देव गुरुङले बताउनुभएकाे छ । ‘बाढी–पहिरो जोखिममा रहेका बस्तीको संरक्षणका साथै विस्थापितहरुको पुनर्स्थापनाका लागि बृहत योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ,’ उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया