५७ वर्षको उमेरमा पहिलोचोटी नागरिकता पाउँदा शान्ताको आँखामा आँसु !

 भदौ १२, २०७५ मंगलबार ९:२६:२७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ– नामथर : शान्ता परियार । जन्म मिति : २०१८ असार १० । हालको ठेगाना : बेसीशहर–३ गाउँशहर, लमजुङ । 

अघिल्लो आइतबार उहाँको हातमा नागरिकता पर्यो । त्यो पनि ५७ वर्षको उमेरमा । यो उमेरमा पहिलोचोटी नेपाली नागरिकता हात पर्दा उहाँका आँखा रसाए । नागरिकता पाउँदाको खुशीमा उहाँले धोको फेरेरै खुशीका आँसु बगाउनुभयो ।        

जिल्ला प्रशासन कार्यालय लमजुङबाट नागरिकता पाउँदा उहाँले खुशीका आँसु परेलीकै डिलमा रोक्नै सक्नुभएन । 

नागरिकता लिन शान्ता आफ्नै भाई सोमबहादुर परियारसँगै जिल्ला प्रशासन पुग्नुभएको हो । उहाँका अनुसार बिहे भएको २५ वर्षसम्म पनि श्रीमान्ले नागरिकता बनाउन बेवास्ता गर्नुभयो ।  
  
‘नागरिकता बनाउनका लागि श्रीमान्लाई बारबार बिन्ति चढाएँ । श्रीमान्ले कुरै सुन्नु भएन । जसका कारण नेपाली नागरिक भए पनि नागरिकताविहीन हुनुपर्यो । बाबुआमाको मृत्युपछि श्रीमान् नभए नागरिकता नै नबन्दो रहेछ । श्रीमान् पनि १० वर्षदेखि बेपत्ता हुनुहुन्छ,’ दुई छोरा र दुई छोरीका आमा रहनुभएकी उहाँले बेलिविस्तार सुनाउनुभयो । 

पटक–पटक नागरिकता बनाउन खोजे पनि पति नभएकै कारण नागरिकता बनाउने उहाँको सपना अधुरै हुन्थ्यो । 

शान्तालाई यसपटक नागरिकता दिलाउन बेसीशहर नगरपालिकाकी कार्यपालिका सदस्य मन्दिरा दनाई, इन्सेक जिल्ला प्रतिनिधी दलबहादुर मजाकोटी र समग्र विकास सेवा केन्द्रकी जिल्ला संयोजक मिरा भण्डारी लगायतले पहल गर्नुभयो ।  

‘भिनाजु वेपत्ता हुनुहुन्छ । नागरिकता नहुँदा दिदी र भाञ्जाभाञ्जीलाई समेत समस्या भयो । त्यसैले माईती पक्षबाट दिदीलाई नागरिकता दिलाउन हामीहरु तयार भयौँ । दिदीलाई नागरिकता दिलाउन सहयोग गर्यौं’ शान्ताको भाई सोमबहादुरको भनाई उद्धृत गर्दै छिमेकी समेत रहेका मजाकोटीले भन्नुभयो ।

‘विगतमा नागरिकता नहुँदा बेलाबेलामा आउने चुनावमा मन परेको दल र उम्मेदवारलाई भोट हाल्न नपाउँदा खिन्न महसुस हुन्थ्यो,’ उहाँले पीडा सुनाउनुभयो ।

‘अब त साथमा नागरिकता छ । उमेर पुगेपछि सामाजिक सुरक्षा भत्ता पाउन, चुनावमा भोट हाल्न पाउँछु । यसमा ज्यादै खुशी छु,’ प्रशासनको ढोका अगाडि उभिएर नागरिकता देखाउँदै उहाँले भन्नुभयो ।  
    
आवश्यक सबै प्रकृया पुरा गरेरै शान्ता परियारले नेपाली नागरिकता पाउनुभएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनुभयो ।      
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया