काम गर्न त विदेशमा भन्दा नेपालमा नै सजिलो

मिस्त्री दाजुभाइको सिन्धुली–काठमाडौ–साउदी र काठमाडौं अनुभव

 भदौ १२, २०७५ मंगलबार १६:५६:५४ | सन्जिता देवकोटा

काठमाडौं – कीर्तिपुरको कुटुम्ब बस्ती । बस्तीमा नयाँ घर बन्दैछन् । यही बस्तीमा अरुको घर बनाउँदै आफ्नो नयाँ घरको सपना बुन्दैछन्, सिन्धुलीका दाजुभाइ तिलक र विशाल मगर पनि ।

बाँयातर्फ विशाल, दाँयातर्फ तिलक

मध्यान्हको १२ बजे चम्केको घाम चरक्क चर्किएको छ । चर्किएको घाममा टाउको जोताउँदै काममा लम्किरहेका विशाल र तिलक पनि आफ्नो भविष्यलाई घामजस्तै चम्किलो बनाउने प्रयासरत छन् ।

त्यसो त घर बनाउने सपना पूरा गर्न उनीहरु परदेशिएका पनि थिए, तर एउटाको सपना अझै अधुरो छ । घरको सपना जस्तै उनीहरुका धेरै कुरा साझा छन् । तर भोगाई र अनुभव अलग अलग । 

एउटै आमाको कोखबाट जन्मिएका तिलक र विशालले गरी खाने बाटो पनि एउटै रोजे । ४८ वर्ष उमेरका दाइ तिलक र ३८ वर्षका भाइ विशाल बीच उमेरको मात्र हैन, एउटै बाटो हिँड्दाका भोगाई पनि फरक छन् ।

यात्रा सिन्धुलीदेखि काठमाडौंसम्म 

१४ वर्षको उमेरमा भविष्य बनाउन सिन्धुलीबाट काठमाडौं छिर्नुभएको थियो तिलक । चार कक्षाभन्दा पढ्नु पाउनु भएन । ६ जना दाजुभाइ मध्येका जेठा तिलकलाई काठमाडौंमा कमाएर धेरै कुरा पूरा गर्न थियो । तर बिरानो सहरको यात्रा कहाँ सजिलो थियो र ! 

 

पाटनका गल्ली गल्ली भौँतारिदा बल्लतल्ल पाउनुभयो, मिठाइ पसलको काम । ‘भाँडा माझियो, त्योबेला त जे पनि गरियो, तर पेट मात्रै भरियो,’ तिलकले किशोर वयको त्यो क्षण सम्झनुभयो । 

मिठाइ पसलको काम मिठाइ जस्तो गुलियो भएन । त्यसपछि तिलकले सुरु गर्नुभयो तेल मिलमा काम  । तेल पेल्नुभयो । बेच्नुभयो । तर तेल पेल्ने र बेच्ने काम गर्दा पनि तिलकको जिन्दगी फुस्रै रह्यो ।  

तिलककै बाटो समाते भाइ विशालले पनि


काम जस्तोसुकै होओस्, तर दाम हुनु पर्‍यो भन्ने लागेपछि तिलकले ज्यामीको काम गर्न थाल्नुभयो । 

‘चार पाँच तलसम्म थुन्सेमा बालुवा र ईंटा बोक्यो, बेलुका पैसा थाप्यो, एक वर्षपछि त मिस्त्री भैहालें नि,’ तिलकले मख्ख पर्दै भन्नुभयो । ज्यामीको काम गर्दा दुःख त थियो । तर आनन्द पनि उतिकै लाग्थ्यो तिलकलाई  । 

मिस्त्रीको काम गर्न थालेपछि उहाँको पैसा पनि बढ्यो । जानेर काम गर्दा दाम पनि बढेपछि तिलकलाई अरु कामको बारेमा सोच्ने आवश्यकता परेन । 

केही वर्षपछि तिलकले समातेको बाटो समात्न आइपुगे भाइ विशाल पनि । दाजुभाइले मिलेर कतिका पुराना घरलाई नयाँ बनाए । कतिका नयाँ बनाए । दाजुभाइले हिसाव नै राखेका छैनन् । अरुका राम्रा राम्रा घर बनाएर नङ्ग्रा खियाए पनि आफ्नो चाहिँ घर बनेन ।

काठमाडौंमा आफ्नै पक्की घर बनाउने दाजुभाइको मनका रहर । तर मनको रहर पूरा गर्न आफ्नै सिपालु हातले मौका पाएन । ‘यहाँ काम गरेर के हुन्थ्यो र, पेट पाल्नै ठिक्क हुने’ अहिलेसम्म काठमाडौमा जग्गा समेत किन्न नसेकेका तर अरुका धेरैवटा घर बनाईसकेका विशाल र तिलक एकै स्वरमा भन्छन् । 

आफ्नो घर बनाउने सपनाले साउदी पुर्‍यायो

काठमाडौंमा अरुका घर बनाउँदा बनाउँदै पूरा नभएको आफ्नो घर बनाउने सपना साकार पार्न दाजुभाइ दुवैजना २०६५ सालको असोजमा साउदी लागे । 

साउदीमा भएका साथीले तिलकका दाजुभाइसहित अरु पाँच जनालाई पनि भिसा पठाएका थिए । काम उहाँ पनि काठमाडौंमा गरेको जस्तै घर बनाउने । काम एउटै भए पनि नाम फरक थियो । ‘यता त्यही कामलाई मिस्त्री, ज्यामी भन्थे, तर उता त मेशनको काम भन्दा रहेछन्,’ विशालले भन्नुभयो । 

साउदीमा कामको नाम मात्रै फरक थिएन, घर बनाउने तरिका पनि नेपालको भन्दा फरक थियो । ‘नेपालमा भन्दा उल्टो तरिका हुँदो रहेछ, त्यहाँ प्रयोग गर्ने सामान, ब्लकहरु नै फरक हुने,’ विशालले सुनाउनुभयो । 

गाउँबाट सहर छिर्ने बित्तिकै हातमा सीप नहुँदा विशालले थुन्सेमा ईंटा पनि बोक्नुभएकै होे । तर साउदीमा ‘ब्लक’ उचाल्दा दुखेको ढाड वर्षौं बित्दा पनि दुखेझैं लाग्छ विशाललाई ।

दाजुभाइको काम र दाम एउटै थियो साउदीमा । मासिक एक हजार रियाल । तर काम नेपालमा गरेको भन्दा निकै अप्ठेरो थियो । 

‘भाषा पनि नजानिने, काम पनि नजानिने, भाषा नबुझ्दा कतिपटक त उल्टो काम गरियो, काम बिगारेपछि दोहोर्‍याएर गर्नु पर्ने,’ तिलकले हाँस्दै भन्नुभयो ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भने झै भयो ।’

जताततै बालुवा । कतै हरियो नदेखिने । सडकमा काम गर्नुपर्ने । तातो घाममा ब्लक बोक्नु पर्ने काम । गारो लगाए पनि घाममै । लगाएका लुगा पसिनाले सबै भिज्थ्यो । लुगाभन्दा बढी पीडाले मन भिज्थ्योे । 

‘आफ्नै देशमा खान पुगेकै थियो, यहाँ त तातो घाम खान आइएछ भन्ने लाग्थ्यो, एक वर्ष त्यसरी नै बिताइयो’ तिलकले नमिठो मान्दै सुनाउनुभयो । दाइ तिलकलाई जस्तै भाइलाई पनि पछुतो लाग्थ्यो । 

‘मुख बाँधेर काम गर्दा पनि हावाले उडाएर मुखभरी बालुवा भरिदिन्थ्यो, आँखाभरी बालुवा पर्ने, अलि पर पुरै पानी परेको जस्तो देखिने, तर पानी होईन, बालुवा उडेर त्यस्तो हुँदोरहेछ,’ विशालले सम्झनुभयो । 

साथीले भिसा पठाएको भए पनि तिलकका दाजुभाइले झण्डै डेढ लाख रुपैयाँ खर्च गर्नुपर्‍यो साउदी जान । आफ्नै देशमा गरिरहेको काम गर्नकै लागि तिर्नुपरेको रकम निकै धेरै त लागेको थियो । तर महिनामा हुने कमाईको लोभले ऋण काढ्ने आँट दियो । 

साउदीको तातो घामले भन्दा साउदी जान लिएको डेढ लाख रुपैयाँ ऋणले पोल्थ्यो तिलकलाई । ‘त्यो ऋण सम्झँदा त झन औडाहा हुन्थ्यो नि, घर परिवारकै चिन्ता हुने, साहुले कचकच गर्छन् होला भन्ने लाग्ने, के खाँदा हुन्, साहुलाई के भन्दा हुन् जस्तो मात्र लाग्ने,’ तिलकले विदेश छँदाका छटपटी सुनाउनुभयो । परिवार र ऋणकै चिन्ताले निकै तनाव हुन्थ्यो, तिलकलाई । 

अहिलेजस्तो इन्टरनेट र फोन थिएन त्यो बेलामा । बाहिरबाट फोन गर्न पथ्र्यो घरमा । मिनेटको सात रियाल खर्च गरेर दुःख साट्न पनि महङगो पथ्र्यो ।  शारीरिक थकाइभन्दा पनि मनको थकाइले गलाउँथ्यो । 

घरमा दुःखसुख साट्न नपाए पनि दाजुभाइ सँगै भएकाले केही सजिलो त थियो । त्यसमाथि विशालले त पराइदेशमा पनि अभिभावक पाउनुभएको थियो । आफूसँग सँगै दुःख गरिरहेका भाइलाई देख्दा तिलकको पनि पीडामा मल्हम लगाएझैं हुन्थ्यो ।

विशालले जेसीबी चलाए, तिलकले अरुका घर मात्रै बनाए

साउदी गएको एक वर्षपछि विशालले जेसीबी चलाउन पाउनुभयो । ‘कम्पनीमा बंगलादेशी नागरिकले जेसीबी चलाउँथे, उनी घर फर्किएपछि नेपाली कसैले गाडी चलाउन जानेको छ भने तालिम दिने भन्यो कम्पनीले, म अघि सरेँ,’ विशालले सुनाउनुभयो ‘एक महिनाको तालिमपछि त मैले जानी हालें, नेपालमा पनि अलि अलि गाडी चलाएकोले मलाई सिक्न गाह्रो भएन ।’

काम फेरिएपछि दाम पनि बढ्यो । विशालको तलब एक हजार रियालबाट बढेर १८ सय रियाल भयो । तिलकलाई पनि भाषा र काम जान्दै जाँदा सहज भयो । तिलकको पनि तलब एक हजार रियालबाट बढेर १४ सय रियाल भयो । 

विशाललाई मेशनको काम भन्दा जेसीबी चलाउने काम सजिलो भयो । तर तिलकको भने तलब बढेसँगै दुःख पनि बढ्यो । 

‘तातो घाममा काम, लुगा भिजाउँदै चिसो बनाउँदै गर्‍यो, सबैभन्दा दुःखको कुरा त के थियो भने, काम गर्दा पानी खान पाईंदैनथ्यो, दिनभरी तिर्खा लागेर प्याकप्याक हुँदा पनि पानी नखाइ काम गर्नुपर्ने’ तिलकले काम गर्दाको हैरानी सम्झनुभयो ।  

सानै उमेरमा सहरको बारेमा नबुझी रहर मै काठमाडौं आउँदा पनि तिलकले त्यस्तो दुःख भोग्नु परेको थिएन । ‘त्यो बेला त भाँडा माझ्दा पनि टन्न खान पाइन्थ्यो, साउदीमा त तिर्खा लाग्दा पनि खान पाइएन,’ तिलकले साउदीको सकस सुनाउनुभयो । 

चार/पाँच तलासम्म थुन्सेमा बालुवा र ईंटा बोक्दा पनि उहाँको थाप्लो त्यति पोलेन, जति साउदीमा घामले पोल्यो । तिलकका हातका नङ्ग्रा खिइए पनि मनको उत्साह खिइएन । काठमाडौंमै दुःख गर्दा परिवार पाल्न सकेकोमा उहाँलाई गर्व लाग्थ्यो । तर गरिरहेको काम छाड्दाको पछुतोले विदेशमा मन भतभति पोल्थ्यो । 

दाइले गरिरहेको काम भएकाले भाइ विशाललाई घर बनाउने काम गर्न गाह्रो भएन । विदेशमा पनि गएको एक वर्षमै जेसीबी चलाउने काम गर्न पाएकाले दाइले जस्तो दुःख भाइले सहनु परेन । 

दाजुभाइलाई ऋण तिर्न झण्डै डेढ वर्ष लाग्यो । साउदीको कमाइले ऋण तिर्नुभयो । परिवारको पेट पाल्नुभयो । तर जाँदा पालेको आफ्नो घर बनाउने सपना भने तिलकले पूरा गर्न सक्नुभएन । त्यसैले उहाँ २०७० सालमा घर फर्किनुभयो । 

विशाल चाहिँ दाइभन्दा २ वर्षपछि २०७२ सालमा मात्रै घर फर्किनुभयो । ‘तलब पनि बढेर २९ सय रियाल पुगेको थियो, तर कम्पनी बन्द भएकाले म फर्किएको हुँ,’ विशालले भन्नुभयो । 

भाइको घर बन्यो, दाइको बनेन

विशालले विदेशको कमाइले गाउँमा सानो घर बनाउनुभयो । घडेरी पनि किन्नुभयो । तर दाइ तिलकले  परिवारको पेट भर्नबाहेक विदेशको कमाइले नयाँ घर बनाउन सक्नुभएन । 

विदेशमा देखेर मात्र हुँदैन, कमाउन लेखेर पनि ल्याउनुपर्छ भन्ने लाग्छ तिलकलाई । ‘आफ्नो भागमा विदेशमा कमाउन लेखेको रहेनछ’ भनेर तिलक चित बुझाउनुहुन्छ ।  

विदेशको सुख, दुःखबाट सिक्दै दाजुभाइ फेरि पुरानै काममा फर्किए । अहिले दुबैजना काठमाडौमा घर बनाउने काम गर्छन् । मिस्त्रीको काम गर्दा एकजनाले दिनको १५ सय रुपैयाँ कमाउँछन् ।  

नेपालको काम बिदेशको भन्दा धेरै सजिलो लाग्छ यी दाजुभाईलाई । ‘बिरामी हुँदा आराम गर्न पाइन्छ, बस्न पाइन्छ, खान पाइन्छ, पैसा पनि पाइन्छ,’ तिलकले भन्नुभयो, ‘मलाई त यही काम ठिक लाग्छ ।’

विशालले अहिले साथीसँग मिलेर जेसीबी पनि किन्नुभएको छ । घरको काम र जेसीबीको काम बराबरी नै गर्नुहुन्छ । ‘मसँग लाइसेन्स नभएकाले साथीले चलाउँछ, म चाहिँ सहयोगीको काम गर्छु, यता घर बनाउने काम पनि गर्छु, राम्रै छ,’ विशाल भन्नुहुन्छ ।

स्वदेशमा होस् वा विदेशमा दाजुभाइ मिलेर काम गर्दा सुख दुःखमा र काममा पनि सहयोग भएको छ । ‘अब फेरि विदेश जान नपरोस्,’ तिलक भन्नुहुन्छ, ‘नबुझी विदेश जाँदा फेरि अरु तिलकले दुःख भोग्न नपरोस् ।’ 

तिलकको घरमा श्रीमती र छोरी तथा विशालको घरमा श्रीमती र दुई छोराछोरी छन् । दाजुभाइ दुवैका परिवार काठमाडौं मै भाडामा बस्छन् । दुवैका परिवार वल्लोपल्लो घरमा कोठा लिएर बसेका छन् ।

विशालले गाउँमा घर बनाए पनि तिलकको आफ्नो घर छैन । घर नभए पनि तिलकलाई अब घर बनाउने सपना लिएर विदेश जानु छैन । सुखी नभए पनि दुवैजना देशभित्रै घर बनाउने काम गरेर खुसीले भरिएको जीवन जिउन चाहन्छन् । 
 

अन्तिम अपडेट: असोज २९, २०७५

सन्जिता देवकोटा

वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउने सन्जिता देवकोटालाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया