‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक -२०७५’ माथिको दफावार छलफलमा डा. केसी

 भदौ १३, २०७५ बुधबार १७:२९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथिको दफावार छलफलमा वरिष्ठ चिकित्सक गोविन्द केसी पनि सहभागी हुनु भएको छ । 

बुधबार समितिको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथिको दफावार छलफलमा वरिष्ठ चिकित्सक केसी पनि सहभागी हुनु भएको हो । तर, उहाँले त्यो विधेयकमाथिको छलफलमा भने भाग लिनु भएन । विधेयकका बारेमा आफूले सरकारसँग सम्झौंता गरिसकेकाले समितिको बैठकमा छलफलमा भाग लिन नसकिने अडान लिँदै उहाँले बैठकमा त्यससम्बन्धमा लिखित  धारणा राख्नुभयो ।

समितिको बैठकमा वरिष्ठ चिकित्सक केसीले लिखित धारणा राख्दै आफूसँग भएको सम्झौता बमोजिम संसदबाट यथाशीघ्र त्यो विधेयक पारित गराउन पहल गरिदिन समिति समक्ष आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी ओलीले आश्वासन दिएकाले सो विधेयक आफूसँग भएको नौं बुँदे सहमति अनुसार परिमार्जन गरी पारित हुने विश्वास पनि समिति समक्ष व्यक्त गर्नुभयो ।

वरिष्ठ चिकित्सक केसीले मेडिकल शिक्षाको नियमन तथा यसबारे कानुन र नीति निर्माणको काम अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गर्न पनि संघीय सरकार र सांसदहरुको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच र सबै विद्यार्थीले मेडिकल शिक्षा हासिल गर्न सकून भन्ने उद्देश्यका साथ आफूले १५ औं पटकसम्म सत्याग्रह गर्नु परेको पनि स्पष्ट पार्नु भयो ।

समितिको अर्को बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ । समितिको त्यो बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा नेपाल मेडिकल एशोसिएशनसँग छलफल गर्ने कार्यसूची तय गरिएको समितिका जेष्ठ सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया