ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु

 भदौ १४, २०७५ बिहिबार ११:५७:१२ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– मोलुङ गाउँपालिका वडा नं. ८ रागादीपमा पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले घर पुर्दा परिवारका रागादीपको खिम्लीका ५० वर्षीय पूर्णबहादुर राई, ४० वर्षीय श्रीमती धनकुमारी  राई, ५५ वर्षीया दिदी मित्रमाया ५५ राई र पूर्णबहादुरका तीन वर्षीय छोरा आशिष राईको मृत्यु भएको हो ।  

बुधबार राति गएको पहिरोले घर पुरेपछि चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

राई परिवारका एक छोरा र एक छोरी घरमा नभएका कारण पहिरोबाट जोगिएका छन् ।  उनीहरु पठनपाठनका लागि रुम्जाटारमा रहेकाले पहिरोमा पुरिनबाट जोगिएको स्थानीयले बताए । पूर्णबहादुरले अपांगता भएकी दिदीको आफ्नै घरमा पालन पोषण गर्दै आएका थिए । एकै परिवारका चार सदस्य पहिरोमा पुरिएपछि खिम्ली गाउँ शोकमा डुबेको छ । जनप्रतिनिधि र प्रहरीको सहयोगमा मृतकको शव पहिरोबाट निकालिएको छ ।  

बिहीबार बिहान ४ बजे सूचना आएपछि खटिएको उद्धार टोलीले घटनास्थलबाट चार जनाको शव निकालेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बताउनुभयो । सूचना पाउनासाथ प्रहरी टोलि खटिएको शर्माले जानकारी दिनुभयो । उद्धार गरिएका शव पोष्टमार्टम गराई आफन्तलाई बुझाउने प्रहरीले तयारी गरेको छ । दुई दिनदेखि लगातारको वर्षाका कारण ओखलढुंगामा पहिरोको जोखिम बढेको छ । स्थानीय प्रशासनले सतर्क रहन सबैलाई आग्रह गरेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया