सार्क सुस्ताएको बेला बिमस्टेक जुर्मुराउन सक्छ

 भदौ १४, २०७५ बिहिबार १४:१८:११ | डा‍. भेषबहादुर थापा
unn.prixa.net

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) हुँदाहुँदै किन बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) भन्ने कुराले अहिले प्राथमिकता पाएको छ ।

यो बहस नराम्रो हो जस्तो मलाई लाग्दैन । तर सार्कको ३३ वर्ष लामो इतिहासमा विभिन्न देशको एक अर्काको तनावले गर्दा यसले जति गर्नुपर्ने थियो गर्न सकेन । पछिल्लो समय त झन भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण यो छायाँमा पर्न थालेको छ । कुनै एउटा देशले शिखर सम्मेलन बहिष्कार गरे पनि सम्मेलन नै स्थगित हुने विधि र विधानले गर्दा पनि सार्क बैठक नियमित हुन सकेको छैन । 

यस्तो अवस्थामा बिमस्टेकको सम्मेलनले अझ धेरै महत्व पाएको हो जस्तो लाग्छ मलाई । सार्कमा जुन अवरोध र गतिरोध आउँदै गयो, त्यसैले सार्क स्थापना भएको १२ वर्षपछि नै बिमस्टेकको स्थापना भएको हो । सन् १९९७ मा त भारत, बंगलादेश, श्रीलंका र थाइल्याण्ड मिलेर बिष्ट इकोनोमिक फोरम बनाएका थिए । तर सन् १९९७ कै अन्तिमतिर म्यानमार पनि यसमा मिसियो । सन् १९९८ देखि २००४ सम्म नेपाल यसको पर्यवेक्षक थियो, तर सन् २००३ मा नेपाल र भुटान पनि सदस्य भए । सार्कका ३ देश बाहेक अरु देश अहिले बिमस्टेकका सदस्य बनिसकेका छन् । 

बिमस्टेकलाई प्राथमिकता दिनुको अर्थ  विशेषगरी भारतले ‘लुक इस्ट पोलिसी’ अर्थात अब हामी पूर्वतिर फर्कियौं भन्ने  सन्देश दिन खोजेको पाइन्छ । भारतले आफूलाई दक्षिण एसियामा मात्र होइन, दक्षिण पूर्वी एसियामा पनि आफूलाई बलियो बनाउन र अरु देशको पनि साथ खोज्न बिमस्टेकलाई अलि बढि नै जोड दिएको पाइन्छ । धेरै सदस्यहरु सार्क र बिमस्टेक दुवै ठाउँमा छन् । विशेष गरी थाइल्याण्ड र म्यानमार आर्थिक रुपमा उदाउँदा  देश भएकोले पनि भारतले यसलाई जोड दिएको अनुमान गर्न सकिन्छ । 

सार्कको जन्म हुँदाखेरी नै हामीहरु सदस्य थियौँ । वास्तवमा सार्कको जन्मदाता नै बंगलादेश र नेपाल हुन् भन्दा पनि फरक पर्दैन । जन्मदाता भएकैले नै सार्कको सचिवालय नेपालमा रहेको थियो । तर बिमस्टेकमा नेपाल पछि जोडियो । बिमस्टेकमा नेपालले आफूलाई खास के फाइदा हुन्छ भन्ने धेरै सोचेन । भारत सहभागी भएको र भारतले महत्व दिएकाले नेपालले पनि यसलाई महत्व दिएको जस्तो मलाई लाग्छ । 
वास्तवमा क्षेत्रीय संठगनबाट सबै देशलाई बराबर अवसर प्राप्त हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता हो । अमेरिकामा नाफ्टा, युरोपमा युरोपियन युनियन, हामीभन्दा पूर्वका देशहरुले आसियान संगठन बनाएका छन् । उनीहरुले एक अर्कालाई उत्तिकै अवसर र लगानी अवसर दिएका छन् । 

तर बिमस्टेकले सबै देशलाई उत्तिकै अवसर दिएको छ कि छैन अनि यसले खास के गर्‍यो भन्ने कुरा चाहिँ सोचनीय छ । 

बिमस्टेकको अहिलेसम्मको नतिजा हेर्दा यो अलमलमा परेको जस्तो देखिन्छ । यसलाई खास उद्देश्यसहितको संस्था बनाउन र नयाँ आयाम दिनको लागि काठमाडौंमा हुने सम्मेलनले केही भूमिका खेल्छ कि भन्ने आशा गर्न सकिन्छ । सार्क सुस्ताएको बेलामा बिमस्टेक जुर्मुराउन सक्छ कि भन्ने आशा पनि गर्न सकिन्छ । 

हुन त सार्कले नछोएको पनि कुनै विषय पनि छैन, संकल्प र प्रतिवद्धता नगरेको पनि कुनै विषय छैनन् । तर काम पनि कुनै भएको छैन । त्यसले गर्दा पनि बिमस्टेकले अलिक महत्व पाएको हो कि जस्तो लाग्छ मलाई । सार्कलाई धेरैले प्रगतिहीन संरचनाको रुपमा हेर्न थालेका छन् । अहिले त बैठक नै  बसेको छैन, अरु त के आशा गर्नु र ।

सार्कको नेपाल जन्मदाता पनि हो । अनि नेपालले पहल गरेमा सार्क देशबीचको मियो पनि नेपाल बन्न सक्छ । नेपालले चाहेमा बिमस्टेकमा पनि नेपाल मियो बन्न सक्छ । बिमस्टेकको खास उद्देश्य सम्पर्क सञ्जाल, विस्तार र आर्थिक विकास हो । विगत हेर्दा बिमस्टेकबाट आशा गर्नुपर्ने ठाउँ त म देख्दिन, तर अहिले जुन पहल गरिरहेको छ, यसलाई अझ जोडबल गरेमा नेपालले केही फाइदा त लिन सक्छ ।

आयोजक र अध्यक्ष राष्ट्र भएको नाताले नेपालले बिमस्टेकको भव्य तयारी गर्नु त स्वभाविक हो । तर देखाउनकै लागि जुन तडकभडक गरिएको छ, त्यो चाहिँ मलाई चित्त बुझेको छैन । अरुबेला नागरिकलाई फोहोर र खाल्डाखुल्डीमा राख्ने, तर अहिले फोहोर बाहिर खोल हालेर जुन तडकभडक गरिएको छ, त्यो जरुरी थियो कि थिएन भन्ने पनि सोचनीय कुरा नै होला ।

(परराष्ट्रविद थापासित अर्जुन पोख्रेलले गरेको कुराकानीमा आधारित)


 

अन्तिम अपडेट: असोज ३०, २०७५

डा‍. भेषबहादुर थापा

थापा परराष्ट्रविद हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया