एसिया कप छनोट : नेपाल दाेस्राे खेलमा यूएर्इसँग ७८ रनले पराजित

 भदौ १४, २०७५ बिहिबार १५:१९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

मलेसियामा जारी एसिया कप छनोट क्रिकेट अन्तर्गत दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । युएईले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपाल १७६ रनमा अल आउट भएपछि ७८ रनले पराजित हुन पुगेको हो ।

हिजोको खेलमा पनि ओमानविरुद्ध सात विकेटले पराजित भएको नेपाल राउन्ड रोविन लिगमा शीर्ष दुईमा परेर उपाधि भिडन्त गर्ने सम्भावना पनि कमजोर देखिएको छ ।

२५५ रन पछ्याउने क्रममा नेपालले शुरुआतदेखिनै राम्रो गर्न सकेन् ।खेलमा युएईका अहमद राजाले ४ तथा, मोहम्द नाभेदले ३ विकेट लिएका थिए ।

नेपालका ओपनर ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भएपछि विकेट पतनको श्रृंखला शुरु भएको थियो ।

त्यसपछि मैदान आएका कप्तान पारस खड्का पनि धेरैबेर क्रिजमा टिक्न सकेनन् । उनी जम्मा २० बल खेल्दै १६ रन बनाएर आउट भए ।

अर्का ब्याट्सम्यान सागर पुनको आजको खेल सम्झन  लायक रहेन । उनी ३ रनमै आउट भएपछि नेपालले ४३ रन बनाउँदा ३ विकेट गुमाएको थियो । त्यसपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरी र अर्का ओपनर सुवास खकुरेलले ८८ बलमा ५८ रनको साझेदारी गर्दै नेपालको इनिङ उकास्ने प्रयास गरेका थिए ।

तर खकुरेल ५० रन बनाउँदै आउट भएपछि फेरि नेपालको पारि धमराउन शुरु गरेको थियो । सुवास चौथो विकेटका रुपमा आउट भएपछि लगातार थप २ विकेट  नेपालले गुमाएको थियो । नेपालका आरिफ शेख र करन केसी एउटै ओभरमा आउट भए ।

आरिफले ३ रन बनाउँदा करन केसीले खातानै खोल्न सकेनन् । यस्तै रोहित पौडेल पनि ९ रन बनाउँदै पेभेलियनको बाटो लागे । ४० रन जोडेका दीपेन्द्र सिंह ऐरी पनि आउट भए । केहीबेर सोमपाल कामी र बसन्त रेग्मीले प्रयास गरेपनि बसन्त १२ रनमा आउट भए ।

सोमपाल अन्तिम सम्म क्रिज रहेपनि नेपाललाई पार लगाउन सकेनन् । अन्तिम विकेटको रुपमा सन्दिप लामिछाने २ रनमा आउट हुँदा सोमपाल २७ रनमा नटआउट रहे ।

टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २५४ रन बनायो ।

युएइले पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्न सफल भयो । तर बसन्त रेग्मीले मोहम्मद अस्फाक अहमदलाई ४५ रनमा आउट गरेपछि नेपाले पहिलो सफलता हात पार्यो ।

त्यसको लगत्तै सन्दिप लामिछानेले कप्तान रोहन मुस्तफालाई पेभेलियनको बाटो देखाएपछि युईएले अरु एक रन पनि थप्न नपाउदै दोस्रो विकेट गुमायो । तेस्रो विकेटका लागि रमिज सहजाद र चिराग सुरी विच ६७ रनको साझेदारी हुदा युएई बलियो स्थितिमा पुगेको थियो । तर एक सय ३७ रनमा उसले तेस्रो विकेट गुमायो ।

त्यसपछि एक सय ५९ रन हुदा नेपालले युएईको ५ विकेट लियो ।  नेपालविरुद्ध राम्रो लयमा देखिएका चिराग सुरीलाई ६५ रनमा दिपेन्द्र ऐरीले रनआउट गरेपछि युएईले एक सय ८४ रनमा ६ विकेट गुमायो ।

तर सन्दिप लामिछानेले आफ्नो अन्तिम ओभरमा दुई विकेट लिएपछि युएईले दुई सय २१ रनमा आठ विकेट गुमायो । अन्तिममा अद्नान मुफ्तीले आक्रामक अर्धसतक प्रहार गरेपछि युएईले नेपाललाई बलियो लक्ष्य दिन सफल भयो । अद्नानले ५७ रन बनाए ।

आजको खेलमा सन्दिप लामिछानेले १० ओभर बलिङ गर्दै २ ओभर मेडन सहित ४ विकेट लिए । यसैगरी बसन्त रेग्मी र सोमपाल कामीले दुई दुई विकेट लिए ।

नेपालले अब शनिबार मलेसियासँग खेल्ने छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया