प्लास्टिक र बोराले छाएको घरमा बस्दै बादी परिवार

 साउन २९, २०७८ शुक्रबार १३:४४:४८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - शीतगङ्गा नगरपालिका-६ दाङ्ग सिङ्गको पाखापानीका ४२ वर्षीय टीकाबहादुर बादीको परिवार फाटेको प्लास्टिक र बोराले छाएको सानो झुप्रोमा बस्छ । फाटेको त्रिपाल र बोराले छाएको घरमा बसेका टीका बहादुरको परिवारसँग न ओत लाग्ने घर छ, न खाने अन्न । 

श्रीमती गुमाएका टीका बहादुरका पाँच छोराछोरी छन् । उहाँ आफैँ अपाङ्ग हुनुहुन्छ । एक हात र एक खुट्टाका औँला गाँसिएका छन् । उहाँले कसैकोमा मेलापात गएर पनि काम गर्न सक्नुहुन्न ।

'पहिले पहिले गाउँमा डुलेर गाउँलेले दिएको अन्न र पैसाले परिवार पालेकाे थिएँ । अहिले कोरोनाका कारण गाउँ डुल्न पाइएन । घरमा खाने अन्न छैन । वर्षाको समयमा पानी चुहिएर घरमा बस्न मिल्दैन, न सुत्न नै' उहाँले भन्नुभयाे।

छानाे नै नभएकाे घरमा बस्नु परेकाे बताउँदै उहाँले घर बनाउने आश्वासन दिए पनि कसैले वास्ता नगरेकाे दुखेसाे गर्नुभयाे । 

काेभिड र गरिबीका नाममा थुप्रै राहतका प्याकेज र कार्यक्रमहरु आए पनि आफूले केही नपाएकाे उहाँले बताउनुभयाे।

​शीतगङ्गा- ६ का वडाअध्यक्ष रिसी रेश्मीले जनता आवास कार्यक्रम अन्तरगत टीका बहादुरकाे घर निर्माणसम्मकाे प्रक्रिया पूरा गरे पनि  काम भने सम्पन्न हुन नसकेकाे बताउनु भयाे।  

'उहाँकाे अवस्था निक्कै पीडादायक छ । हामी यसप्रति गम्भीर छाैँ । याे वर्ष जसरी पनि समयमै काम सम्पन्न गर्ने याेजनामा छाैँ' उहाँले भन्नुभयाे । 

याेजना तथा कार्यक्रमकाे प्रक्रिया ढिलाे भएकाे कारण समयमा राहत उपलब्ध गराउन नसकिएकाे नगरपालिकाका प्रशासकीय प्रमुख प्रेमबहादुर केसीले बताउनु भयाे । उहाँले भन्नुहुन्छ ' असार मसान्तकाे अन्तिम दिनसम्म उहाँहरु बैंकमा खाता खाेल्ने काम गर्दैहुनुहुन्थ्याे । सर्भरले काम गरेन । जसकाे कारण समयमा काम हुन सकेन ।'

यस्तै,  धेरै पटक पीडितकाे गुनासो र समस्याहरु राख्दा पनि वडा र नगरपालिकाले राहतकाे व्यवस्था नगरेकाे स्थानीय समाजसेवी  विक्रम आचार्यले बताउनु भयाे । 

‘बादी समुदायका केही बस्तीको अवस्था हेर्दा निकै पीडादायी नै छ । सराेकारवाला निकायसँग कति पटक ताकेता गर्नु ? यहाँ आवाजविहीनहरुकाे आवाज कस्ले सुन्छ र ?' आचार्यले भन्नुभयाे।

​पटक पटक गुनासाे राख्दा पनि वडा र नगरपालिकाका जनप्रतिनिधि जिम्मेवार बन्न नसकेकाे उहाँले बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया