डलरको भाउ अहिलेसम्मकै महँगो, सबैभन्दा ठूलो असर पेट्रोलियम पदार्थमा

 भदौ १५, २०७५ शुक्रबार १२:८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – नेपाली बजारमा डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । शुक्रबार १ डलरको नेपाली बजार भाउ १ सय १३ रुपैयाँ ४९ पैसा पुगेको छ । शुक्रबार अमेरिकी डलरको खरिद दर १ सय १२ रुपैयाँ ८९ पैसा रहेको छ भने विक्रिदर १ सय १३ रुपैयाँ ४९ पैसा पुगेको छ । 

यसअघि बिहीबार १ डलरको नेपाली बजारभाउ १ सय १३ रुपैयाँ २५ पैसा पुगेको थियो । नेपालमा गएको साउन २९ गते डलरको भाउ १ सय १२ रुपैयाँ २९ पैसा पुगेको थियो, त्यसपछि डलर झनै महँगो बनेको हो ।  

अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निकै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको हो । 

डलरको भाउ बढ्दा नेपाललाई रेमिट्यान्स, पर्यटन र वस्तु निकासी लगायतका केही क्षेत्रमा फाइदा भए पनि घाटा धेरै हुने अर्थविद्हरुको भनाई छ । डलर महँगो हुँदा नेपालले विकास निर्माणका लागि ल्याउने विदेशी सामग्रीको भाउ बढ्न सक्ने डर छ । त्यस्तै भारतीय मुद्रा बाहेक अन्य मुद्रा किनिने सामग्रीको भाउ पनि बढ्न सक्छ । 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशन नरबहादुर थापाका अनुसार डलरको भाउ बढ्दा सबैभन्दा ठूलो असर पेट्रोलियम पदार्थमा पर्ने गरेको छ । ‘भारतसँग पेट्रोलियम पदार्थको ठूलो खानी छैन्, उसले पनि डलरमा किनेर नेपाललाई डलरमा नै बेच्ने हो, त्यसैले अब नेपाल आयल निगमलाई हुने घाटा बढ्दै जाने देखिएको छ’ थापाले उज्यालो अनलाइनसँग भन्नुभयो । 


 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया