निर्माण कार्य सुरु भएको वर्षौ बित्दा पनि बनेन् डोटीका पक्की पुल

 जेठ १९, २०७५ शनिबार १३:१५:९ | विमल बिष्ट
unn.prixa.net

डोटी, जेठ १९ – निर्माण कार्य सुरु गरेको वर्षौ बितिसक्दा समेत डोटीका मोटर चल्ने पुलहरु अझै निर्माण हुन सकेका छैनन् ।

ठेकेदार कम्पनीहरुको लापरबाहीका कारण पुलको निर्माणमा ढिलाई भएको हो । ठेकेदार कम्पनीहरुले विभिन्न बाहना देखाई पुल निर्माणको कार्यमा ढिलाई गर्ने गरेको डिभिजन सडक कार्यालय कुल्पाते दिपायलले जनाएको छ ।

तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी गएको असार २९ गते सम्झौता भएको सातनाली सडक पुलको काम अहिलेसम्म १० प्रतिशत मात्रै भएको छ । पहिलो पटक भएको तीन बर्से सम्झौता गएको असार २९ गते सम्पन्न भएपछि न त, अर्को सम्झौता भएको छ, न सम्बन्धित निकायले सम्झौता रद्द गरेको छ ।

मूल्य अभिवृद्धि कर (भ्याट) सहित २६ करोड २० लाखको लागतमा निर्माण हुने करिब चार सय मिटर लम्बाइको त्यो आरसीसी पुल डिभिजन सडक कार्यालय कुलपाते दिपायलले पुष्प, राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरी निर्माण कार्य सुरु गराएको थियो । पुल निर्माण हुने समयावधि समाप्त भएर पनि करिब एक वर्ष बितिसक्दा समेत पुलका दायाँ र बायाँ पिल्लर समेत बनेका छैनन् ।

सेती नदीमा निर्माण हुने त्यो पुल अझै निर्माण हुन नसक्दा शिखर नगरपालिकाको वडा नं. ११ सडक सञ्जालमा जोडिन सकेको छैन् । पुल निर्माण कार्यमा ढिलाइ हुनुको मुख्य कारण निर्माण व्यवसायीको लापरबाही भएको पुलको साइड हेर्ने डिभिजन सडक कार्यालयका इञ्जिनियर बसन्तकुमार गायी बताउँछन् । 
‘पिल्लरको फाउण्डेसनमा रक भेटियो, डीएमसी मेसिनले काम गरेन’, इञ्जिनियर गायी भन्नुहुन्छ, ‘अर्को मेसिन ल्याउनु पर्ने तर आइपुेको छैन ।’ उहाँले करिब १० प्रतिशत मात्रै काम भएको स्वीकार गर्नुभयो ।

निर्माणका कम्पनीका सञ्चालक भीमबहादुर साउद डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका नगर प्रमुख हुनु भएको छ । यस्तै दुई वर्षमा बनेर सञ्चालनमा आउनु पर्ने अर्को सडक पुल ६ वर्ष पुग्दासमेत सञ्चालनमा आएको छैन् । जोरायल गाउँपालिकाको कुम्रेली गाड (नदी) मा निर्माणाधिन पुल दुई वर्षमा सम्पन्न गर्ने गरी सडक डिभिजन कार्यालय कुल्पाते दिपायल र एसबीए, चन्द्र एण्ड बसन्त र आईएसजेभी निर्माण कम्पनीहरुले २०६८ असार २३ गते पहिलो सम्झौता गरी काम सुरु भएको थियो ।

कुल लागत दुई करोड ५८ लाख ७२ हजार नौ सय १७ रुपैयाँमा निर्माण भइरहेको त्यो पुल निर्माणको समय २०७० साउन ४ गतेसम्म मात्र रहेको थियो । ५० मिटर लम्बाइ रहेको त्यो पुल निर्माण सम्झौता तेस्रो पटकसम्म थप भइसक्दा समेत अझै निर्माण कार्य पूरा हुन सकेको छैन् । ‘ठेकेदारको लापबाहीका कारण योजना समयमा सम्पन्न हुन नसकेको हो’, त्यो योजनाको साइड हेर्ने सडक डिभिजन कार्यालय कुल्पाते दिपायलका इञ्जिनियर महानन्द जोशीले भन्नुभयो, ‘सम्झौता भएको समयमा निर्माण कार्य सम्पन्न नभएका कारण १० प्रतिशत हर्जना लिन्छौं ।’

निर्माण कम्पनीले योजना सम्पन्न पनि गर्नुपर्ने र ढिलो भएमा हर्जना तिर्नु पर्ने बताउँदै जोशीले थप भन्नुभयो, ‘यदी पुल सम्पन्न नगरेरै छोड्छन भने कम्पनीलाई कालो सूचीमा राख्छौं, अब हामी कारबाहीको प्रक्रियामा छौं, तीन वटै निर्माण कम्पनीहरुलाई कारबाही हुन्छ ।’

तेस्रो पटक ०७२ माघ २९ गतेदेखि २०७३ भदौ १४ गतेसम्मको लागि पुल निर्माणको सम्झौताको म्याद थप गरिएको थियो । निर्माण कार्य अझै बाँकी रहेको भए पनि ०७३ भदौ १४ गतेदेखि भने अहिलेसम्म सम्झौताको म्याद थप नगरिएको सडक डिभिजन कार्यालय कुल्पाते दिपायलले जनाएको छ ।

पुल निर्माण नहुँदा स्थानीयबासिन्दा र विद्यार्थीहरुले नदी तर्न नसक्दा पुलमा भ¥याङ लगाएर नदी वार पार गर्न बाध्य भएका छन् । ‘समयमा पुल बनेन् नदीमा पानीको बहाब बढेका बेला हामी पुलमा लगाएको भ¥याङको सहायताले नदी तर्न बाध्य छौ’, स्थानीय शिक्षक बिजयप्रकाश मल्लले भन्नुभयो, ‘ठेकेदारले पुल बनाइदिएन,नदीमा ठूलो बाढी आएको बेला त बग्ने डरले स–साना बालबालिका स्कुल नै आउदैनन्, बालबालिका स्कुल नआउँदा साना कक्षाहरु त बन्द गर्नु पर्ने हुन्छ ।’

अन्तिम अपडेट: चैत १२, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया