पहिरोेले क्षति पुर्‍याउँदा मन्थलीमा खानेपानी अभाव

 भदौ १८, २०७८ शुक्रबार १५:५६:१० | दीपक भट्ट
unn.prixa.net

रामेछाप – केही दिनदेखिको लगातारकाे वर्षाले खानेपानीको मुहानमा पहिरो जाँदा सदरमुकाम मन्थलीमा खानेपानीको समस्या भएकाे छ । वर्षाका कारण आएको बाढीले मन्थली नगरपालिका ६ भलुवाजोरको लामपाटे र कमेरे खोलामा रहेको खानेपानी ट्याङ्कीमा क्षति पुर्‍याएको हो । 

यस्तै ठाउँ–ठाउँमा पहिरो जाँदा सदरमुकाम मन्थलीमा ल्याइएको मुख्य लाइन पाइप बगाएको छ । त्यसैगरी पहिरोले मन्थली नगरपालिका वडा ५ सुनारपानीको मचवारी खोलाको मुहानमा बनाइएको ट्याङ्की र पाइप लाइनमा पनि क्षति पुगेको मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक जगदीश सुवेदीले जानकारी दिनुभयो ।   

बाढीले बगाएकाे पाइप खोज्न र मर्मत गर्न समय लाग्ने भएकाले केही समय पानी वितरणमा समस्या देखिएको हो । 

भलुवाजोरमा रहेका दुई वटा मुहान मर्मतपछि पानी नियमित आउन थालेको भए पनि सुनारपानीतर्फको पाइप लाइन अझै मर्मत हुन सकेको छैन । सुनारपानीको मचवारी मुहान हुँदै मन्थली ल्याइएको पानीको मुहानमा पहिरोले धेरै क्षति पुर्‍याएकाले अहिले मर्मतको काम भइरहेको छ । 

मचवारी मुहान हुँदै ल्याएको पानीको पाइप धेरै ठाउँमा बगाएको र केही ठाउँमा पाइप फुटेकाले मर्मतको काम अघि बढाइएको हो । त्यस क्षेत्रको काम सकिनासाथ पानी नियमित हुने खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव ढाकल थापाले जानकारी दिनुभयाे ।  


    
उहाँका अनुसार यस वर्ष वर्षाका कारण मन्थली खानेपानी उपभोक्ता समितिले धेरै ठूलो क्षति बेहाेरेकाे छ । धेरै ठाउँमा खानेपानी लाइन बगाएको छ । ठाउँठाउँमा पानी जम्मा गर्ने रिजर्भ ट्याङ्की बगाएको छ भने केही पुरेको छ ।   

सदरमुकाम मन्थलीमा अहिले सुनारपानीको मचवारी, भलुवाजोरको लामपाटे र कमेरेखोला मुहानको पानी साथै तामाकोसी नदी किनारमा निमार्ण गरिएको इनारबाट विद्युतीय माध्यमबाट पानी तानेर उपभोक्ताहरूलाई वितरण गरिँदै आएको छ । 

मन्थली खानेपानी उपभोक्ता समिति अन्तर्गत नाै सय ४२ जना सदस्यले खानेपानी उपभोग गर्दै आइरहेका छन् । जसमध्ये व्यक्तिगत धारा जडान गर्ने सङ्ख्या आठ सय ९२ रहेको छ भने सरकारी कार्यालयमा ३५ धारा जडान भएको छ । 

यसबाहेक सदरमुकाम मन्थलीमा विभिन्न १४ सङ्घ/संस्थामा धारा जडान गरिएको छ । साथै एउटा सार्वजनिक धारा पनि रहेको मन्थली खानेपानी उपभोक्ता समिति रामेछापले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया