विराट कोहलीले एसिया कप नखेल्ने, शर्माको कप्तानीमा यस्तो छ भारतीय टिम

 भदौ १६, २०७५ शनिबार १५:२४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप क्रिकेटका लागि भारतीय टिमको घोषणा भएको छ । यो एकदिवसीय प्रतियोगिता सेप्टेम्बर १५ देखि हुनेछ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) ले शुक्रबार मुम्बईमा १६ सदस्यीय भारतीय टिमको घोषणा गरेको छ ।

एसिया कपका खेलहरु यूएईको दुबई र अबु धाबीमा हुनेछ । भारतीय टिमको कप्तानी रोहित शर्माले गर्नेछन् । विराट कोहली प्रतियोगिताबाट बाहिर रहनेछन् । उनलाई आराम दिइएको छ ।

भारतीय टिममा २० वर्षीय लेफ्ट आर्म पेसर खलील अहमदलाई पहिलो पटक समावेश गरिएको छ । राजस्थानका तीव्र गतिका बलर अहमदलाई आईपीएल–२०१८ मा सनराइजर्स हैदराबेदले ३ करोड भारतीय रुपैयाँमा किनेको थियो । उनले आईपीएल–२०१८ मा एक खेल मात्रै खेलेका थिए । 

यो–यो टेस्टमा विफल भएपछि इंग्ल्याण्डसँगको श्रृङ्खलामा बाहिर रहेको दाँया हाते ब्याट्सम्यान अंबति रायडू भने टिममा परेका छन् । त्यस्तै केदार जाधव पनि भारतीय टिममा पुनरागमन गरेका छन् । 

एसिया कपका लागि १६ सदस्यीय टिम

रोहित शर्मा (कप्तान), शिखर धवन (उपकप्तान), केएल राहुल, अंबति रायडू, मनीष पान्डे, केदार जाधव, एमएस धोनी (विकेटकीपर), दिनेश कार्तिक, हार्दिक पंड्या, कुलदीप यादव, युजवेंद्र चहल, अक्षर पटेल, भुवनेश्वर कुमार, जसप्रीत बुमराह, शार्दुल ठाकुर, खलील अहमद

एसिया कपमा भारतले पहिलो खेल सेप्टेम्बर १८ मा खेल्नेछ । उसले कोसँग खेल्छ भन्ने कुरा मलेसियामा जारी एसिया कप छनौट प्रतियोगिता सकिएपछि मात्रै थाहा हुनेछ । त्यस्तै सेप्टेम्बर १९ मा भारतले आफ्नो दोस्रो खेल चीर प्रतिद्वन्द्वी पाकिस्तानसँग खेल्नेछ ।

भारतले पछिल्लो पटक सन् २०१६ मा आयोजक राष्ट्र बंगलादेशलाई हराएर एसिया कप(टी–२०)को उपाधि जितेको थियो । एसिया कप क्रिकेट प्रतियोगिता सन् २०१६ देखि प्रत्येक दुई वर्षमा एकदिवसीय र टी–२० को फर्म्याटमा आयोजना भैरहेको छ ।

भारतले अहिलेसम्म सर्वाधिक ६ पटक एसिया कप क्रिकेटको च्याम्पियन बनेको छ । 

सन् १९८४ बाट सुरु भएको यस प्रतिस्पर्धामा श्रीलंकाले पाँच पटक र पाकिस्तान दुई पटक च्याम्पियन बनेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया