श्रीलंकाली राष्ट्रपति सिरिसेनाद्वारा लुम्बिनीमा पूजा(फोटोसहित)

 भदौ १६, २०७५ शनिबार १७:१५:४२ | गोपाल भण्डारी

कपिलवस्तु – श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आज गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्नु भएको छ । काठमाडौंबाट विमान चार्टर गरी भैरहवा विमानस्थल पुग्नु भएका राष्ट्पति सिरिसेना भैरहवाबाट उच्च सुरक्षाका साथ गाडीमा लुम्बिनी पुग्नु भएको हो । 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन आउनुभएका सिरिसेना लुम्बिनी भ्रमण गरी दिउँसो २ बजे काठमाडौं फर्कनुभएको हो ।

लुम्बिनीमा राष्ट्रपति सिरिसेनाले मायादेवी मन्दिर दर्शन गरी मायादेवी मन्दिर परिसरमा बुद्धपूजामा सहभागी हुनु भएको थियो । त्यस अवसरमा लुम्विनी विकास कोषको गुरुयोजनाका बारेमा कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले राष्ट्रपति सिरिसेनालाई जानकारी गराउनु भएको थियो । 

धर्मपत्नीसहित लुम्बिनी भ्रमण्मा आउनु भएका राष्ट्रपति सिरिसेनालाई संघीय सरकारका पर्यटन तथा संस्कृति मन्त्री रवीन्द्र अधिकारी, प्रदेश नं. ५ पर्यटन मन्त्री लिला गिरी, लुम्बिनी विकास कोषका पदाधिकारीहरु एवं कर्मचारीहरु र लुम्बिनीस्थित विभिन्न गुम्बाका भिक्षुहरुले स्वागत गर्नु भएको थियो । 

संघीय सरकारका पर्यटन तथा संस्कृति मन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीलाई विश्व शान्तिको शहरको रुपमा विकास गर्न सरकारले विशेष चासो दिएको र चाँडै नै गुरुयोजनालाई पूरा गर्न आफूहरु लागि परेको बताउनु भएको छ ।

 

राष्ट्रपति सिरिसेनाको यो भ्रमणले लुम्बिनीलाई गौतम बुद्धको जन्मस्थलको रुपमा प्रचारप्रसार गराउन थप सहयोग पुग्ने मन्त्री अधिकारीले बताउनुभयो । उहाँका प्रतिनिधिले संक्षिप्त मन्तव्य प्रकट गर्दै श्रीलंकाली जनता र श्रीलंका सरकारले लुम्बिनीको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको लुम्बिनी विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले बताउनु भयो । 

मायादेवी मन्दिर र बुद्धपूजापछि राष्ट्पति सिरिसेना लुम्बिनीमा दिवा भोजमा सहभागी हुनु भएको थियो । दिवा भोजपछि उहाँले लुम्बिनी परिसरमा रहेको श्रीलंकाली मन्दिरको अवलोकनपछि गाडीमा दिउँसो सवा दुई बजे भैरहवा विमानस्थल फर्कनु भएको थियो । राष्ट्रपति सिरिसेनाको सवारीका क्रममा लुम्बिनी परिसरमा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको थियो । नेपाली सेनोको हेलिकोप्टरले लुम्बिनी परिसरमा हवाई गस्ती गरेको थियो ।

राष्ट्रपति सिरिसेनाको यो भ्रमणबाट गौतम बुद्धको जन्मस्थल लुम्बिनीको बारेमा बौद्ध राष्ट्रहरुलगायत संसारका अन्य राष्ट्रहरुमा पनि प्रचारप्रसार हुने विश्वास गरिएको लुम्बिनी विकास कोषका निमित्त सदस्य–सचिव सरोज भटट्राईले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया