संखुवासभाका १० ओटा स्थानीय तहको बजेट निकासा रोकियो

 भदौ १८, २०७५ सोमबार ११:४७:१७ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – कोष तथा लेखा नियन्त्रक कार्यालय संखुवासभाले गएको वर्षको आर्थिक खर्च विवरण पेश नगरेको भन्दै स्थानीय तहको बजेट निकासा रोकेको छ ।

जिल्लामा रहेको १० ओटा स्थानीय तह मध्ये ४ ओटा स्थानीय तहले मात्रै गत आ.व. २०७४÷७५ मा गरेको खर्च विवरण पेश गरेको तर अन्य ६ ओटा स्थानीय तहले खर्च विवरण पेश नगरेकाले आर्थिक वर्ष २०७५/७६ को बजेट निकासा रोकेको प्रमुख कोष नियन्त्रक भोजराज पौडेलले बताउनुभयो । 

उहाँका अनुसार, गएको आ.व. २०७४÷७५ मा जिल्लामा रहेका खाँदबारी, पाँचखपन र धर्मदेवी गरि तीन ओटा नगरपालिका र एक सभापोखरी गाउँपालिकाले मात्रै गएको आ.व.को खर्च विवरण पेश गरेको छ । अन्य ६ ओटा स्थानीय तह चैनपुर, मादी नगरपालिका, चिचिला, मकालु, भोटखोला र सिलिचोङ्ग गाउँपालिकाले खर्च विवरण पेश नगरेका कारण सबैको रोकेको उहाँले बताउनुभयो । 

कोलेनिकाको फरमेट अनुसार खर्च विवरण पेश गर्न अनुरोध गरे पनि धर्मदेवी नगरपालिका बाहेक स्थानीय तहले आफ्नै छुट्टै फरमेटमा खर्च विवरण पेश गरेको कोलेनिकाको भनाइ छ । आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र सबै स्थानीय तहहरुले सम्पूर्ण खर्च विवरण कोलेनिकामा पेश गर्नु पर्ने भए पनि ति स्थानीय तहहरुले नगरेका हुन् ।

सबै स्थानीय तहलाई तुरुन्त खर्च विवरण पेश गर्न भनेर गएको साउन ६ गते नै पत्राचार गरे पनि अहिलेसम्म ६ ओटा स्थानीय तहले खर्च विवरण पेश नगरेको कोषका प्रमुख पौडेलले बताउनुभयो । 

खर्च विवरण बुझाई सक्ने स्थानीय तहहरुले भने बजेट निकासा नहुदाँ योजना र कार्यक्रमहरु प्रभावित हुने भएकाले तत्कालै निकासा गर्नुपर्ने माग गर्दै आएका छन् । खाँदबारी नगरपालिकाका मेयर मुरारी खतिवडाले आफूले खर्च विवरण पेश गरिसकेको बताउँदै पेश नगर्ने स्थानीय तहका कारणले आफूहरुको बजेट रोक्न नहुने बताउनुभयो । कोलेनिकाले भने १० ओटै स्थानीय तहले खर्च विवरण पेश नगरे सम्म ४ ओटा स्थानीय तहको मात्रै बजेट निकासा नगर्ने अडान दोहो¥याउँदै आएको छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया