छोरी बचाउन पैसा खोजिरहेकी आमाको पीडा : म मरेर छोरी बाँच्ने भए मै मरिदिन्थेँ

 जेठ १९, २०७५ शनिबार २०:५:२९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – तेह्र वर्षको उमेरमा विवाह, चार छोरीकी आमा, श्रीमान र ससुराको यातना खप्न नसकेर घर छोड्न बाध्य । भारी बोकेर छोरीहरुको लालनपालन, अचानक छोरीलाई मुटुको समस्या, दैनिक सात सयदेखि ९ सय सम्मको दबाइ गर्नुपर्ने, र शल्यक्रियाका लागि ४०-५० हजार जम्मा गर्नुपर्ने । 

यो कुनै कथा होइन । यो अवस्था हो, बझाङको तल्कोट गाउँपालिका २ की ३६ वर्षीया पार्वती रोकायाको । 

श्रीमान र ससुराको यातना खप्न नसकेर मध्यरातमा घर छोड्न बाध्य भएपछि भारी बोकेरै तीनजना छोरीको लालनपालन गरिरहेकी पार्वतीलाई साइँली छोरी रुमलालाई मुटुको रोग लागेपछि यो आपत आइलागेको हो । 

चारजनाको परिवार पाल्ने मुख्य श्रोत पार्वतीले बोक्ने भारी हो । दुईजना छोरीले स्थानीय होटलमा काम गरेर आफ्नो पेट पालेर अलिअलि भरथेग गर्ने गरेको उहाँ बताउनुहुन्छ । होटलमा काम गर्ने ११ वर्षीया छोरी रुमलालाई मुटुको शल्यक्रिया गर्नुपर्ने भएपछि खर्चको जोहो गर्न नसक्दा पार्वती अहिले दिनको भोक न रातको निंद भनेजस्तो अवस्थामा भौतारिइरहनुभएको छ । 

रुमलालाई काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा शल्यक्रिया गर्ने तय भएको छ । डाक्टरले साउनको पहिलो हप्ताका लागि समय पनि दिइसकेका छन् । यो त खुशीको कुरा हो तर दु:खको कुरा के भइदियो भने शल्यक्रियालगायत उपचार निःशुल्क हुने भए पनि केही औषधि अस्पताल बाहिरबाट किन्नुपर्ने भएकाले ४०-५० हजार रुपैयाँ जम्मा गर्न अस्पतालले अह्राएको पार्वतीले बताउनुभयो ।  

पैसा जम्मा गर्नुपर्ने भएपछि सुशीलाले छोरी रुमलालाई उपचारका क्रममा अस्पतालमै चिनेका बझाङका किशोर खड्काको कोठामा छोडेर फर्किनुभएको हो । तर पैसा जोहो होला भनेर आश मरिसकेको उहाँको भनाई छ । ‘आउने बेलामा छोरी म पैसा लिएर छिट्टै आउँछु भनेकी थिएँ, पार्वतीले सम्झनुभयो उसले बाटो हेरिरहेकी होली तर कहाँबाट पैसा जुटाउनु ?’ 

‘म मरेर छोरी बाँच्ने भए मरिदिन्थेँ बरु, काठमाडौंमा गएर छोरीलाई अँगालो हालेर रुन मन छ । उसले छिट्टै आउनु है आमा भनेकी थिई’, पार्वतीले भन्नुभयो, ‘तर छोरीको मुख हेर्नै पाउँदिन जस्तो लाग्न थालेको छ’, यति भनिसक्दा पार्वतीको भक्कानो फुटेको थियो । केहीबेरपछि उहाँले थप्नुभयो, ‘भाग्यले बाँचे बाँची हाली नभए मैले बचाउन नसक्ने भएँ ।’ यति भनिसक्दा पार्वतीको गला अवरुद्ध भैसकेको थियो । 

एकैदिनमा ७ सय रुपैयाँको सूई लगाउनुपर्ने तर आफू बझाङ फर्केदेखि एक रुपैयाँ पनि पठाउन नसकेकोमा पार्वतीले दुखेसो पोख्नुभयो । अहिले छोरीलाई आश्रय दिइरहेका किशोर खड्काले गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । दैनिक महंगो इन्जेक्सन लगाउनुपर्ने भएकोले खर्च जुटाउन हम्मे परिरहेको रुमलालाई आश्रय दिइरहेका किशोर खड्काले उज्यालो अनलाईनलाई बताउनुभयो । 

पार्वतीको दुःखको जीवन

पार्वतीको जीवनमा सन्तोषको दिन कहिल्यै आएन । ३६ वर्षकी हुँदासम्म उनको जीवन दुःखको अँध्यारो सुरुङभित्रै चलिरहेको छ । १३ वर्षमा बिहे भएपछि पार्वतीका चार जना छोरी जन्मिए । छोरीमात्र जन्माई भनेर श्रीमानले हेला मात्र होइन शारीरिक यातना पनि दिन थाले । विस्तारै ससुराले दिने दुःख पनि थपिन थाल्यो । एकदिन त श्रीमान र ससुराले मार्ने प्रयत्न नै गरेपछि त उहाँलाई भाग्नुको विकल्प भएन । त्यसपछि उहाँ तीनजना छोरी लिएर सदरमुकाम चैनपुर पुग्नुभयो । जेठी छोरीको विवाह त्यसभन्दा अघि नै श्रीमानले जबरजस्ती गरिदिएको तर केटाले कुटपिट गरेपछि माइती जाँदा बुवाले उल्टै किन भागेर आएकी भनेर कुटपिट गरेपछि छोरी ३ वर्षदेखि सम्पर्कमै नरहेको पार्वतीको भनाई छ । ‘केटाकेटीको हुँदाको कुरा बेग्लै हो बिहेपछि सुःख कस्तो हुन्छ ? मलाई थाहा भएन’, पार्वती भन्नुहुन्छ, ‘अनुहारमा हाँसो आएको सम्झना नै छैन ।’
छोरीको उपचार गर्न पाए पार्वतीको अनुहारबाट गुमेको हाँसो र चमक फर्किने थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया