सल्यानकाे पहिराे: आँखै अगाडि तीन सन्तान गुमाउँदाको पीडा

पीडितलाई प्रशासनको ७५ हजार रुपैयाँ सहयोग

 भदौ १८, २०७५ सोमबार १७:२८:१२ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – सल्यानको बागचौर नगरपालिकामा घरभित्र बसिरहेको समयमा माथिबाट आएको पहिरोले एकै घरका तीन बालबालिकालाइ घरसँगै पुरेपछि गाउँ नै शोकमा डुबेको छ । 

केहीदिन अघि त्यसै नगरपालिकामा घरभित्र सुतिरहेको अवस्थामा घर भत्किंदा पाँच जनाको ज्यान गएको थियो । 

आइतबार साँझ नगरपालिकाको वडा नं–१२, ओख्रेनी मूलखोलामा आएको पहिरोमा परी स्थानीय बालाराम डाँगीको घर पहिरोले पुर्दा बेपत्ता भएका डाँगीका २ छोरी र १ छोरा मृत अवस्थामा फेला परेका हुन् । 

मृत्यु हुनेमा डाँगीका १० वर्षीया छोरी ललिता डाँगी, ७ वर्षीय छोरा ललित डाँगी र चार वर्षकी छोरी मेनका डाँगी रहेको इलाका प्रहरी कार्यालय सिमखोलीले जनाएको छ । 
घरमा बालबालिकाहरु भान्सा कोठामा आगो तापिरहेको समयमा घर माथिबाट पहिरो आएर भान्छा कोठा भत्किएपछि ३ बालबालिका पुरिएका हुन् । 

आँखै अगाडि तीन सन्तान गुमाउँदाको पीडा 

आफ्नै आँखा अगाडि तीन सन्तान गुमाउनुको पीडा कस्तो हुन्छ सायदै सबैले अनुमान गर्न सक्ला । 

मृतक बालबालिकाका बुबा बलरामले भावविव्हल हुदै भन्नुभयाे, ‘हामीहरु भैँसी दुहुनको लागि गोठमा गएका थियौँ, त्यहि बेला पहिरो आएर सबैलाई पुरेछ ।’ 

५ जनाको परिवार रहेको डाँगी परिवारमा डाँगी दम्पत्ति गोठमा गएको बेला घरमा पहिरो आएको थियो । तीनजना कलिला बालबालिकाको पहिरोमा पुरिएर ज्यान गएपछि पूरै गाउँ नै शोकमग्न छ । 

११ घण्टापछि निकालियो तीनैजनाको शव 

पुरिएर मृत्यु भएका बालबालिकाको शव झन्डै ११ घण्टा पछि निकालिएकोे इलाका प्रहरी कार्यालय सिमखोलीका प्रहरी नायव निरीक्षक रतन शर्माले बताउनुभयो ।  
‘तीनैजनाको शव पहिरोमा परिएको अवस्थामा निकालिएको हाे, शर्माले भन्नुभयो ‘माथिबाट आएको पहिरो घरमा ठोक्किएर घरको भित्ता भत्किएपछि उनिहरु पुरिएका हुन ।’

घटना आइतबार बेलुका घटे पनि रातको समयमा घटनास्थल पुग्न कठिनाई हुने भएकाले जिल्ला र नगरस्तरीय टोली घटनाको अवस्था बुभ्mन सोमवार बिहानमात्र घटनास्थल पुुगेको थियो । 

बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकीले नगरपालिकाभित्र यस्तो दुखद घटना दोहोरिनुले सिंगो नगरवासीलाई दुखी बनाएको बताउनुभयो । 

घटनास्थल पुगेका उनले पीडितहरुलाई तत्काल थोरै मात्रामा रकम उपलब्ध गराउनु भन्दा पनि नगर कार्यपालिको बैठक बसी क्षतिपुर्तिको व्यवस्था गरिने बताउनुभयो । साथै यस्ता घटना न्यूनीकरणका लागिसमेत योजना बनाउने उहाँले बताउनुभयो ।  

पीडितलाई सबैले सहयोग गर्ने बेला आयोः मन्त्री ज्वाला  

घटनाको विषयलाई लिएर कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले केही दिन अघिमात्र बागचौरमा यस्तै प्रकृतिको घटना सेलाउन नपाउँदै बागचौर न पा १२ बाँफुखोलामा फेरि घरभित्रै बसेको अवस्थामा बालबालिका पुरिएको खबरले आफुलाई दु:खी बनाएको बताउनुभयो । 

शोक वक्तव्य जारी गर्दै उहाँले भन्नुभयो ‘ओख्रेनी निवासी बालाराम डाँगीको घर पहिरोले पुरिंदा ३ जना अबोध बालबालिकाको दु:खद निधनको खबरले म अत्यन्त दु:खी एवं स्तब्ध भएको छु । दुःखको यस घड़ीमा मृतक बालबालिकाप्रति हार्दिक भावपूर्ण श्रद्धान्जली तथा परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

साथै उहाँले पीडित परिवारका लागी यतिबेला सहयोग गर्ने बेला आएको भन्दै पीडितलाई सहयोगका लागी सहयोगी हातहरूको आवश्यकता रहेको बताउनुभयो । 

उहाँले कर्णाली प्रदेश सरकार र जनप्रतिनिधिको नाताले केही दिनभित्रै पीड़ित परिवारलाई सक्दो सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रशासनको राहत र किरिया खर्च ७५ हजार 

जिल्ला प्रशासन कार्यालयले घटनास्थल पुगेर पिडित परिवारलाई राहत र किरियाखर्चको लागि सहयोग गरेको छ । 

प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले उनिहरुलाई किरियाखर्च र राहत वापत प्रशासनको तर्फबाट ७५ हजार सहयोग गरिएको बताउनुभयो । 

अझै पनि अधिकाँश बस्ती पहिरोको उच्च जोखिममा ,२१ परिवार विस्थापित 

जिल्लाको बागचौर नगरपालिकासँगै छत्रेश्वरी गाउँपालिका, कुमाख गाउँपालिका, र वनगाड कुपिण्डे नगरपालिका भित्रका अधिकाँश वस्ती पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पहिरोका कारण यसक्षेत्रमा धनजनको ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी विरेन्द्र वहादुर शाहीले बताउनुभयो । 

पहिरोका कारण कुमाख गाउँपालिका–५ त्वालधरीमा एकै गाउँका १७ घर परिवार विस्थापित भएका छन । छत्रेश्वरी गाउपालिका–५ दहखोलामा ४ वटा घरमा पहिरोले पूर्णरुपमा क्षति पुर्याएको उहाँले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया