साफ च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दै

 असोज २४, २०७८ आइतबार ६:४०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । खेल नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्समा सुरु हुनेछ । यसअघिका दुई खेल जितेको नेपाल ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले र दोस्रो खेलमा श्रीलङ्कालाई ३–२ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल नजिक छ । दुई खेलमा बराबरी खेलेको भारत २ अङ्कसहित चौथो स्थानमा छ ।

भारतलाई फाइनल पुग्न अबका बाँकी दुई खेल जित्नै पर्ने दबाब छ । भारतले पहिलो खेलमा बङ्गलादेशसँग १/१ गोलको बराबरी र दोस्रो खेलमा श्रीलङ्कासँग गोलरहित बराबरी खेलेको थियो।

भारतसँगको खेलअघि बोल्दै नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीले भारतीय टोलीसँग नडराउने बताएका छन् । उनले नेपाल भारतसँग जित्नकै लागि खेल्ने पनि बताएका छन् ।

भारत साफमा सात पटकको विजेता हो । नेपाल र भारत अहिलेसम्म २१ खेल खेलेकोमा भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएका छन् ।

यसअघि घरेलु मैदान दशरथ रङ्गशालामा भएका दुई मैत्रीपूर्ण खेलमध्ये नेपालले पहिलो खेलमा बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारत २–१ विजयी भएको थियो । त्यस्तै कप्तान किरण चेम्जोङले साफ च्याम्पियनसिप जित्ने आफ्नो, टोलीको र नेपाली फुटबलप्रेमीको सपना पूरा गर्न भारतसँगको खेल महत्त्वपूर्ण रहेको बताएका छन् ।

भारतीय टोलीका मुख्य प्रशिक्षक इगोर स्टिमासले पनि नेपालसँग जित्नकै लागि खेल्ने बताएका छन् । उनले नेपाली टोलीले उत्कृष्ट खेलिरहेको पनि बताएका छन् । दक्षिण एसियाका ५ टोली साफ च्याम्पियनसिपमा सहभागी छन् ।

तीन खेल खेलेको बङ्गलादेश ४ अङ्कका साथ दोस्रो र दुई खेल खेलेको माल्दिभ्स ३ अङ्कका साथ तेस्रो स्थानमा छ । एक अङ्क रहेको श्रीलङ्का पुछारमा छ । नेपाल र भारतको खेल अघि आज बेलुका पौने ५ बजे माल्दिभ्स र श्रीलङ्का पनि खेल्दैछन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया