के काठमाडौंलाई सँधै सजाएर राख्न मिल्दैन ?

 भदौ १९, २०७५ मंगलबार १४:३९:१ | अशाेक काेइराला
unn.prixa.net

चार दिन अघिमात्रै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको अवसरमा राजधानी चिटिक्क सिंगारियो । मुख्य सडकमा खाल्डाखुल्डी पुरियो । सडकका दायाँबायाँ किनाराहरुमा रंगरोगन गरियो । हिलो लागेको भित्तामासमेत रंग पोतियो । 

यसअघि २०७१ साल कार्तिक महिनामा सार्क  शिखर सम्मेलनको बेलामा पनि राजधानी दुलहीझैँ सजाइएको थियो । सडक सफा थिए । सडककको बीचमा हरियो दुबो, दायाँ बायाँ किनारामा रुख । कतै फोहोर थुप्रिएको देखिँदैनथ्यो । 

२०७३ साल कार्तिक महिनामा तात्कालीन भारतीय राष्ट्रपति  प्रणव मुखर्जी नेपाल भ्रमणमा आएका थिए । त्यो बेलामा पनि काठमाडौंलाई निकै तामझामका साथ सिँगारियो । सडक सफा गरियो । सडकमा थुप्रिने फोहोर हटाइयो । खाल्डाखुल्डी पुरियो र सडक चिल्लो बनाइयो । 

गएको वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आए । उपत्यकाका धेरैजसो सडक अस्तव्यस्त र धुलाम्मे थियो । नरेन्द्र मोदी हायात होटलमा बस्ने भएपछि चाबहिलबाट हायात होटलको गेटसम्म रातारात सडक पिच गरियो । 

नेपालमा हरेक पटक विदेशी पाहुना आउँदा मात्र सडकको हिलो, धुलो र फोहोर छोप्ने काम भैरहेको छ । विदेशी पाहुनालाई देखाउनकै लागि मात्र सफा गर्ने गरिएको छ । विदेशी पाहुना आउँदा र नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदा मात्रै सडक सफा हुन्छन् । सडकमा फोहोर थुप्रिएको देखिँदैन । वरिपरिको वातावरण पनि चिटिक्क सजाइन्छ, आकर्षक र हराभरा बनाइन्छ । 

विदेशी पाहुना फर्किएसँगै उपत्यकाको सुन्दरता पनि हराउँछ । फेरि सडकमा फोहोर थुप्रिन थाल्छन् । रोपिएका विरुवाहरु संरक्षण अभावमा सुक्न थाल्छन् । हतार–हतार कालोपत्रे गरिएका सडक फेरि धुलो र हिलोमा परिणत हुन्छन् । 

उपत्यकाका मुख्य सडकबाहेक भित्री सडकको अवस्था सम्मेलन र विदेशी पाहुना आउँदा पनि उस्तै हुन्छ । सरकारले देखाउने दाँत मात्रै अलि–अलि सफा गरेजस्तो गरेको मात्रै हो । अरुलाई देखाउनकै लागि भए पनि सडक सफा हुँदा, खाल्डाखुल्डी पुरिँदा उपत्यकाबासी खुशी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हायात होटलमा बस्न आउँदा हायात गेटसम्म बाटो पिच भएपछि बौद्ध, जोरपाटीका बासिन्दा अब कोही पाहुना आउँदा बौद्ध घुम्न आउन् र गोकर्ण रिसोर्टमा बसुन् भनेर प्रार्थना गरिरहेका थिए । 

बौद्ध–जोरपाटीका स्थानीयलाई बिमस्टेक सम्मेलनले अब चाहिँ बाटो बन्छ कि भन्ने आश थियो । तर उनीहरुको त्यो आशा पनि निराशामा नै परिणत भयो । बिमस्टेक सम्मेलन सकियो । सबै पाहुना पनि फर्किए तर यो सडकको अवस्थामा परिवर्तन भएन । अलि–अलि पुरिएका खाल्डा फेरि उस्तै भैसके । 

बिमस्टेक शिखर सम्मेलनका क्रममा उपत्यकाका धेरै ठाउँमा स्वागतद्वार निर्माण भए । तीनकुने, माइतीघरलगायत विभिन्न स्थानमा विशेष सजावट भयो । स्वागतद्वारमा कलात्मक एवं पुरातात्विक महत्वका मन्दिरको तस्बिर सजाइयो । स्वागतद्वारमा नेपालको कला, संस्कृति  झल्कने विभिन्न चित्र बनाइयो । ‘बुद्धको जन्मभूमि नेपालमा स्वागत छ, सगरमाथाको भूमिमा स्वागत छ’ लेखिएका होर्डिङ बोर्डले काठमाडौंलाई सजाइयो । कतै विश्वको सर्वोच्च शिखर सगरमाथाको तस्बिर राखियो भने कतै डाँफे, मुनाल र हिमाली क्षेत्रको आकर्षक तस्बिर राखियो ।  तर अहिले न त काठमाडौंमा डाँफे, मुनाल देख्न पाइन्छ । न त विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका हिमशिखरहरु ।

विदेशी पाहुनाले हेरेको सुन्दर र चिटिक्क काठमाडौं हामीले चाहिँ हेर्न नहुने हो र ? लाखौँ खर्च सजाइएको काठमाडौं चार दिनमै पुरानै अवस्थामा फर्कियो । बिमस्टेकका बेला देखेको काठमाडौं सधैँका लागि त्यस्तै बनाउन मिल्दैन र ? सहरका भित्ता र पर्खालहरु सधैँका लागि सजाउँदा नि त राम्रै हुन्छ होला नि ।
तर अब यी सबै स्वागतद्वार अब भत्किए । लेखिएका यी अभिव्यक्ति र नेपालको पहिचान झल्किने यी तस्बिर स्वागत गेटबाट च्यातिए । माइतीघर र तिनकुनेमा राखिएका हरिया बिरुवा सुन्दर फूल सुक्न थाले । 

विदेशी पाहुना आउँदा मात्रै होइन अरु बेलामा पनि कहिलेकाहीँ सम्पदा पुनर्निर्माण, बाटोको खाल्डाखुल्डी पुर्ने काम हुने गरेको पाइन्छ । विदेशी पाहुना आउने बेलामा उनीहरुलाई देखाउनकै लागि हतारमा काम हुने गर्छन् । पानी, हिलो, धुलो केही हेरिँदैन । हतारमा गरेको काम टिकाउ हुँदैन, केही दिनमा नै फेरि खाल्डाखुल्डी हिलो धुलो उस्तै भैहाल्छ । 

काठमाडौं महानगरपालिकाले ‘हरियाली काठमाडौं’ अभियान नै ल्यायो । काठमाडौंलाई सुन्दर, आकर्षक र हराभरा बनाउन । सार्क शिखर सम्मेलनका बेलामा रोपिएका बिरुवालाई संरक्षण दिने, उपत्यकालाई हराभरा बनाउने चर्चा खुबै चले त्यतिबेला पनि । तर चर्चा चल्ने मात्रै हो काम हुने होइन । उपयुक्त मात्रामा संरक्षण नहुँदा बिरुवाहरु सुके । फेरि बिरुवा रोप्ने पहल कतैबाट भएन । अलि–अलि सडक छेउमा बचेका बिरुवाहरु पनि संरक्षण नहुँदा बढ्न सकेनन् । काठमाडौंलाई हरियाली बनाउने अभियान अभियानमै मात्रै सीमित भयो । 

पछिल्लो समय उपत्यकाभित्र सडक विस्तारको काम पनि भैरहेको छ । कोटेश्वरदेखि कलंकीसम्म सडक ठूलो बनाइयो । चाबहिल–साँखु सडक पनि विस्तारकै क्रममा छ । उपत्यकाभित्र विभिन्न ठाउँमा साना–ठूला सडक विस्तारका काम भैरहेका छन् । सडक विस्तारकै क्रममा सडक छेउछाउमा भएका अधिकांश विरुवाहरु काटिएका छन् । तर नयाँ बनेका सडकमा कतै पनि बिरुवा रोप्ने ठाउँ छोडिएको छैन । विश्वमा ‘हरियाली सडक’को अवधारणा आइरहँदा हाम्रोमा भएका रुख बिरुवा पनि मासेर ‘उजाड सडक’ निर्माण भैरहेका छन् । 

सडकको छेउछाउ र बीचमा रुख बिरुवा, विभिन्न जातका फूलहरु रोप्दा शहरको सुन्दरता मात्र होइन । सवारी साधनबाट हुने प्रदुषण पनि केही हदसम्म कम हुने विज्ञहरुले बताउँदै आइरहेका छन् । 

देखाउनकै लागि भए पनि अन्तर्राष्ट्रिय सम्मेलन हुँदा र विदेशी पाहुना आउँदा अलि–अलि विरुवा रोपिन्छन् । शहरको चोक–चोकमा रंगरोगन हुन्छ । टाँसिएका अनावश्यक पोस्टर र पम्पलेटहरु उक्काइन्छन्  । सडकमा धुलो कम हुन्छ ।  शहरको प्रत्येक चोकमा उस्तै फोहोर थुप्रिएका हुँदैनन् । पाहुनालाई देखाउनकै लागि मात्रै घर, आँगन, बाटो सफा गर्ने प्रवृत्ति हामीले कहिले मेटाउने ? 


 

अन्तिम अपडेट: चैत १५, २०८०

अशाेक काेइराला

अशाेक काेइराला वातावरण क्षेत्रमा रुची राख्नु हुन्छ।  

तपाईको प्रतिक्रिया