रिहा भएलगत्तै फेरि पक्राउ परे प्रकाण्ड, भोजपुरबाट दाङ लगियाे

 भदौ २०, २०७५ बुधबार १९:१०:४८ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई बुधबार जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरेको छ । 

ज्यान मार्ने उद्योग, विष्फोटक पदार्थ र आगजनी मुद्दा लागेका ‘प्रकाण्ड’ लाई ६० हजार धरौटीमा रिहा गरिएपश्चात् पुनः पक्राउ गरी बुधबार नै दाङ लगिएको छ ।

प्रकाण्डलाई टेम्के मैयुङ गाउँपालिका–६, कोट गुम्बामा शेरधन राई चढेको गाडीमा बम विष्फोट गराएको र ज्यान मार्ने मुद्दामा थप प्रमाणबाट बुझ्दै जाने क्रममा ठहरे बमोजिम हुनेगरी २५ हजार, षडानन्द नगरपालिका १३ तीनतले भिरथाप्लामा भएको बम विष्फोटमा २५ हजार र साल्पासिलिछो गाउँपालिका–२, कुलुङको सहकारी टोलमा वाम गठबन्धनको चुनावी सभामा बम विष्फोट गराएकोमा १० हजार नगद गरी ६० हजार नगद धरौटीमा रिहा गरिएको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी मणिराम पोखरेलले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डीएसपी केशवकुमार थेवेले प्रकाण्डलाई बुधबार अदालतबाट रिहापछि अदालत परिसरबाटै पुनः पक्राउ गरी दाङ लगिएको  बताउनुभयो । दाङ केका लागि लगिएको भन्ने जानकारी अाफूलाई नभएको  डीएसपी थेवेले बताउनुभयो ।

ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थ मुद्धाअन्तर्गत गएको कात्तिक २८ गते प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचारप्रसारका लागि गोगनेतर्फ जाने क्रममा भोजपुरको प्रदेश ‘ख’ का तात्कालीन एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार तथा हाल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई लक्षित गरेर टेम्के मैयुङ गाउँपालिका –६, कोटको गुम्बास्थित सकेट बम विष्फोट गराइएको थियो ।

विष्फोटमा राईको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) डिल्ली देवकोटा घाइते भएका थिए । राईसहित पार्टी कार्यकर्ता चढेको बा १५ ज ५६०८ नम्बरको ल्याण्डरोभर जीप विष्फोटमा परेर क्षतिग्रस्त बनेको थियो । विष्फोटपछि असई देवकोटाले २१ राउण्ड जवाफी फायरिङ समेत गरेका थिए । 

यसअघि उनलाई काठमाडौं, काभ्रे र नुवाकोटमा विभिन्न अभियोगमा मुद्धा चलाइएको थियो । उनीसहित ‘विप्लव’ समूहका उच्च तहका नेताहरु पदमबहादुर राई ‘विकास’, देवान राई ‘दिपेश’, किरण राई, चन्द्र बुढाथोकीलगायत विरुद्ध जिल्ला अदालत भोजपुरमा विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता भएको अदालतले जनाएको छ । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएकै भोलिपल्ट उनलाई मोरङको विराटनगर विमानस्थल हुँदै प्रहरीको गाडीमा मंगलबार राति सवा ११ बजे भोजपुर ल्याइएको थियो ।


 

अन्तिम अपडेट: बैशाख २, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • प्रबेशिका खनाल

    Sept. 5, 2018, 10:36 p.m.

    हे भगवान, के हो यस्तो अदालतको काम प्रकाण्डलाइ रिहा गर्ने र पुलिसको काम समात्ने मात्र हो ? अरु केहि काम छैन ?

  •  0 Reply

तपाईको प्रतिक्रिया