राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन सकेन : ओली
बैशाख २९, २०८१ शनिबार
जुम्ला - जुम्लाको तातोपानी गाउँपालिका हुँदै सिञ्जा गाउँपालिका जोड्ने थारमारे-दिलौरी सडक १५ किलोमिटर निर्माण गरिएको छ ।
गाउँपालिका र प्रदेश सांसद विकास कोषको सहयोगमा १५ किलोमिटर सडक निर्माण गरिएकाे हाे । अहिले याे क्षेत्रसम्म एम्बुलेन्स, गाडी पुग्ने गरेकाे छ । गाडी पुग्न थालेपछि स्थानीयबासिन्दा खुशी भएका छन्।
स्थानीय सूर्यबहादुर अधिकारीले सबै घरधुरीमा खानेपानी, खेतीयाेग्य जमिनमा सिँचाइ र सडक पुगेपछि सङ्घीयता आएको महसुस भएको बताउनुभयो।
जुम्ला सदरमुकामबाट जाने छोटो मार्गको रुपमा रहेकाे याे सडक एक करोड ४५ लाख रुपैयाँ लागतमा निर्माण भएको वडाध्यक्ष हरिबहादुर डाँगीले जानकारी दिनुभयो । वडाध्यक्ष डाँगीले अब चार सय मिटर सडक खनिएमा सिञ्जा गाउँपालिका र दिलौरी काँध जोडिने बताउनु भएकाे छ ।
सडकको प्रदेश सांसद तथा पूर्व मन्त्री नरेश भण्डारी, गाउँपालिका अध्यक्ष नवराज न्यौपाने, चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरा देवी न्यौपाने, तातोपानी ५ का वडाध्यक्ष हरिबहादुर डाँगी र स्थानीयले अनुगमन गरेका छन् ।
अनुगमनको क्रममा सांसद नरेश भण्डारीले यो सडकले वास्तविक सङ्घीयता पालिकामा आएको आभास गराएकाे बताउनु भयाे । वडाको पहलमा यति ठूलो सडक निर्माण हुनु निक्कै ठूलाे कुरा भएकाे बताउँदै उहाँले सडकलाई गन्तव्यमा पुर्याउन आफूले थप सहयाेग गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले गाउँपालिकाले गरेकाे लगानीमा ४५ लाख रुपैयाँ सहयोग गर्ने प्रदेश सांसद भण्डारीलाई धन्यवाद दिनुभयो ।
उहाँले तातोपानीकाे लेक क्षेत्रमा पनि सडक पुगेकाले कृषि उत्पादन समेत वृद्धि हुन थालेको र निर्यात गर्न सजिलो हुन थालेको बताउनुभयो ।
१५० घरधुरीमा खानेपानी
वडाध्यक्ष हरिबहादुर डाँगीले वडा नम्बर ५ मा पानी लिन गाग्री लिएर दौडिने, सिँचाइ नहुने र सडक अभावमा लेकाली जमिन बाँझाे हुने समस्या अब समाधान भएकाे बताउनु भयाे ।
उहाँले अहिले लाम्राका १५० घरधुरीमा खानेपानी, मार्सीधान सिँचाइ कुलो स्तरवृद्धि, थारमारे दिलौरी सडक निर्माणकाे काम सम्पन्न भएको बताउनुभयो ।
तातोपानी-५ ले दिलौरी लेक नजिकको छकालेपानीबाट पानी लगेर प्रत्येक घरमा एउटा खानेपानीकाे धारा बनाएकाे उहाँले जानकारी दिनुभयाे ।
चन्दननाथ नगरपालिकाका उपमेयर न्यौपानेले चन्दननाथ र तातोपानी मिलेर मध्य सिञ्जा जोड्ने यो सडक पूरा गर्नुपर्ने बताउनुभयो । चन्दननाथ नगरपालिका वडा नम्बर ८ र ९ हुँदै छकाले पानी दिलौरी सडक जोड्न करिब पाँच सय मिटर मात्रै बाँकी रहेको उहाँले बताउनुभयो ।
स्थानीय गुम्म डाँगीले सडक पुगेपछि सिञ्जा-६ का स्थानीयले बिरामी बाेकेर दिलौरीसम्म ल्याउने र त्यहाँबाट एम्बुलेन्समार्फत कर्णाली प्रतिष्ठान लैजाने गरेकाे बताउनु भयाे ।
सडक पुगेपछि बाँझाे जमिनमा आलु, सिमी लगाउँदा उत्पादनमा वृद्धि भएको र बजार लिन पनि सजिलो भएकाे उहाँले बताउनु भयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।