दाङका स्थानीयद्वारा प्राकृतिक सम्पदाकाे संरक्षण, पर्यटककाे आकर्षण बढ्दै

 मंसिर ४, २०७८ शनिबार ९:२०:२५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा स्थानीय बासिन्दाको सक्रियतामा प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटकीय क्षेत्रको विकास हुँदै गएको छ ।

सामुदायिक वनमा आबद्ध स्थानीय बासिन्दा आफ्नो लगानीसँगै पालिका र प्रदेश सरकारको सहयोगमा पर्यटकीय क्षेत्रको विकासमा लागेका छन् । उनीहरुको सक्रियतामा लामो समयदेखि सुस्ताएको दाङको पर्यटन क्षेत्र बिस्तारै चलायमान बन्दै  गएको छ ।

स्थानीय कुलपानी सामुदायिक वन समूहले देउखुरीको गढवा गाउँपालिका वडा नं १ वडहराको कुलपानी हरितपार्क बनाएर सञ्चालनमा ल्याएको छ ।

अहिले हरितपार्क हेर्नका लागि दैनिक ५ देखि ७ सय मानिस जाने गरेका छन्। कुलपानी सामुदायिक वनले पर्यटन तथा जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले तयार गरेको हरित पार्क लुम्बिनी प्रदेशको राजधानी क्षेत्रभित्र पर्ने भएकाले पनि पर्यटन प्रवर्द्धनमा थप सहयाेग पुगेकाे छ ।

अहिले तीन हेक्टरमा फैलिएको पार्कलाई विस्तार गर्ने योजना रहेको लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीको कुलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवराज शर्मा बताउनुहुन्छ । 

शान्त एवं मनोरम वातावरणमा रमाउन पाउँदा निकै रमाइलो महसुस भएको पार्क अवलोकनका लागि गएकी प्युठानकी अंशु बोहरा बताउनुहुन्छ ।

कुलपानीको हरित पार्क त एउटा प्रतिनिधि ठाउँ मात्रै हो । दाङका सामुदायिक वनले दुई दर्जनभन्दा बढी पर्यटकीय क्षेत्र बनाएर व्यवस्थित रुपमा सञ्चालन गर्दै आएका छन् ।

विश्वकै अग्लो त्रिशूल रहेको धारापानी मन्दिर, पुरन्धाराको झरना, हलवारको चमेरे गुफा, हात्तीखर्क, तुलसीपुरको गणेशपुर पार्क, दुधेना पार्क र शीतलपुर पार्क, बिजौरीको छिल्लिकोट मन्दिर, घोराहीको घोरदौरा, बाह्रकुने दह र ज्यामिरे दह, बङ्गलाचुलीको बङ्गलाचुली पार्क, रामपुरका चरिड्गेदह, भोटेदह, किचेनीदह र मालझाँक्री गुफा, देउखुरीको बगारबाबा रिहार, जेखेरा, जङ्गलकुटी लगायतका दर्जनौँ ठाउँलाई स्थानीय सामुदायिक वन समूहले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आएकाे छ। 

यहाँ जङ्गलको संरक्षणसँगै जङ्गलमा रहेका झरना र गुफालाई जोगाएर थप व्यवस्थित गरिएको छ । पर्यटकको आकर्षणका लागि पौराणिक मन्दिर, गैँडा, बाघ, चित्तल, राते, हरिण, लोपाेन्मुख प्रजातिका गिद्ध, मयूर, खरायो लगायतका जङ्गली जनावरका मूर्तिहरु समेत राखिएकाे छ । 

नयाँ गन्तव्यका रुपमा रहेका ती ठाउँमा भ्यु टावरहरु, पिकनिक स्पोर्टको व्यवस्था गरिएकाे छ ।  प्राचीन सङ्ग्रहालयको संरक्षण र निर्माण, व्यवस्थित सिमसार क्षेत्रमा विकास, पर्यापर्यटनको स्तरवृद्धिका लागि आधुनिक डुङ्गा समेत सञ्चालनमा ल्याइएकाे छ ।​​

वन पैदावार तथा अन्य स्रोतबाट सङ्कलित रकम तथा स्थानीय र प्रदेश सरकारको सहयोगमार्फत यहाँका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिएकाे सामुदायिक वन उपभोक्ता महासङ्घ दाङका अध्यक्ष शोभाकर सापकोटा बताउनुभयाे ।  उहाँले स्थानीयको यो प्रयासबाट वन समूह पनि आम्दानीको विविध क्षेत्र पहिचान गर्न लागि परेकाे जानकारी दिनुभयाे । 

जिल्लामा पर्यटकीय क्षेत्रको अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको पनि सङ्ख्या बढ्दै गएको रामपुरका ध्रुवराज पौडेल बताउनुहुन्छ ।

स्थानीयको प्रयासका कारण दाङका विभिन्न क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएको पाैडेलले बताउनुभयाे । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया