हत्या, हिंसा र बलात्कारका घटनामा सरकारले ह्याट्रिक गर्‍याे : सांसद विश्वकर्मा

 भदौ २१, २०७५ बिहिबार १६:२०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सांसदहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउदै जनताप्रति जिम्मेवार बन्न आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसहरुले आ–आफ्नो क्षेत्रको क्षेत्रगत र समसामियक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । अधिकांश सांसदहरुले मूल्य वृद्धिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउदै बजारको प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिए ।

सांसद मिनबहादुर विश्वकर्माले हत्या, हिंसा, बलात्कारलगायतका घटनामा सरकारले ह्याट्रिक गरेको भन्दै पेट्रोलियम पदार्थमा हालै भएको मूल्यवृद्धि फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद डाक्टर मिनेन्द्र रिजालले बिमस्टेक शिखर सम्मेलनमा सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यास गर्ने सहमति नभएको भन्ने प्रधानमन्त्रीले भारतमा आयोजना गर्ने भनिएको सैन्य अभ्यासमा नेपाली सेनालाई  नपठाउने निर्णय गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रंगमती शाहीले प्रधानन्त्रीले सांसदले उठाएका प्रश्नमा गैह् जिम्मेवार ढंगले उत्तर दिने गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, ‘सडकमा खाल्डाखुल्डी भयो भन्दा खाल्डाखुल्डी बनाउने हामी होइनौँ भन्ने, बाढी र डुबानमा परेकालाई राहत र पुनःस्थापनाको व्यवस्था गर्न माग गर्दा, डुबाउने हामी होइनौँ भन्ने,  कर बढ्यो भन्दा हामीले पञ्चायत कालमा गाडाको कर तिरेका थियौँ भनेर गैह्जिम्मेवार बन्न पाइँदैन । जनताको करबाट उठेको पैसाले विदेशमा गएर उपचार गराउने ? रोगी बनाउने पनि नेपाली जनता होइनन् ।’ 

सांसद रामकुमारी झाक्रीले चाडबाड नजिकिएसँगै बजारमा गुणस्तर कम भएका सामान तथा अस्वभाविक मूल्यवृद्धि हुने गरेको भन्दै प्रभावकारी बजार अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया