जाजरकाेट बस दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या ६ पुग्याे

 मंसिर १२, २०७८ आइतबार १९:५७:५८ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकाेट – जाजरकोटमा हिजाे शनिवार राति भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । कुशे गाउँपालिका ९ का वीरबहादुर नेपालीको उपचारका क्रममा ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 

नलगाड नगरपालिका ३ का शेरबहादुर नेपाली, सप्तरीको राजविराज नगरपालिका १ का गंगाराम यादव, जाजरकोटको कुसे गाउँपालिका ९ की अनिला नेपाली, पश्चिम रुकुमको आठबीसकोट नगरपालिका ४ की कन्या मल्ल शाही र उहाँकी चार वर्षीया छोरी दिव्याको घटनास्थलमै ज्यान गएको थियो ।

नेपालगञ्जबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको राडी बजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस हिजाे राति जाजरकोटको भेरी नगरपालिका १३ बराहचौर नजिकै दुर्घटना भएको हो । बसमा ३२ जना यात्रु रहेका थिए ।

दुर्घटनामा घाइते भएका २६ जनामध्ये पाँच जनालाई उपचारका लागि हेलिकप्टर र नौ जनालाई एम्बुलेन्समार्फत नेपालगञ्ज लगिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो । १२ जना स्वास्थ्य केन्द्रमा उपचारपछि डिस्चार्ज भएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया