सुन तस्करीको नयाँ रुट : गोरखाको उत्तरी नाका

१० किलो सुन बरामद गर्ने प्रहरी सम्मानित

 भदौ २५, २०७५ सोमबार १३:५८:५१ | किरण लोहनी
unn.prixa.net

गोरखा – तिब्बतसँग सीमा जोडिएको गोरखाको उत्तरी नाकाबाट सुन तस्करी हुने गरेको पुष्टि भएको छ । चुमनुब्री गाउँपालिका छेकम्पारको ङुङ्ला नाका हुँदै चीनबाट नेपालमा सुन भित्रने गरेको खुलेको हो । चुम उपत्यकाबाट ङुङ्ला नाका पुग्न पैदल १० घण्टा हिँड्नु पर्छ । १० किलो सुन सहित दुईजना पक्राउ परेपछि सुन तस्करीको नयाँ रुट पत्ता लागेको हो ।

यो क्षेत्रबाट सुन तस्करी बढेको आशंकासहित सुरक्षा निगरानी बढाइएको थियो । केही महिनाअघि लमजुङको वेँशी शहरमा सुनसहित पक्राउ परेकाहरुले गोरखामा तिब्बतको सीमा नाकाबाट सुन भित्र्याएको बताएका थिए । गोप्य सूचनाका आधारमा प्रहरीले सुरक्षा निगरानी बढाएको थियो ।

यो क्षेत्रमा हेलिकप्टर उडानमा पनि कडाई गरिएको थियो । १० किलो सुनसहित शनिबार पक्राउ परेका दुई ब्यक्तिलाई सदरमुकाममा सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भन्नुभयो, “हेलिकप्टरबाटसमेत सिधै काठमाडौंसम्म सुन तस्करी हुने गरेको सूचनाहरु प्राप्त भएका थिए ।” 

प्रशासनले जिल्लाको उत्तरी चुमनुब्री गाउँपालिकामा हुने हेलिकप्टर उडानमा एक महिना यता कडाई गर्दै आएको थियो । “आकस्मिक सेवामा प्रभाव नपर्ने गरी हेलिकप्टर उडानमा कडाई गरिएको छ” प्रजिअ भट्टराईले भन्नुभयो, “सुरक्षा रणनीतिका सबै कुरा बाहिर भन्न मिल्दैन, उत्तरी भेगको हाम्रो सुरक्षा रणनीतिमा फेरबदल भएको छैन ।” हेलिकप्टर उडानमा कडाईसँगै पैदलयात्रीलाई पनि नियमित सुरक्षा जाँच गर्ने गरिएको थियो । “हेलिकप्टरबाट लैजान नसकिने भएपछि दुई व्यक्तिले स्थलमार्गबाट सुन ओसार्ने प्रयास गरेका थिए, जुन हाम्रो सुरक्षा सजगताका कारण सम्भव भएन” पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी विमल बस्नेतले भन्नुभयो । 

शनिबार १० किलो सुनसहित पक्राउ परेका जिल्लाको चुमनुब्री गाउँपालिका ७ छेकम्पारका ५८ वर्षका छिरिङ मुटुप लामा र २८ वर्षका लोप्चन तेन्बेलाई सदरमुकाम ल्याएर थप अनुसन्धान थालिएको हो । बस्नेतले भन्नुभयो, “चीनको जोङ्गा भन्ने स्थानमा च्याङचिन नामका चिनियाँ नागरिकले काठमाडौं पुर्‍याइदिन भनि सुन दिएको उनीहरुले बताएका छन् ।” 

उनीहरुलाई चिनियाँ नागरिकले सुन काठमाडौं पुर्‍याएवापत ५० हजार रुपैयाँ दिने बताएको बस्नेतले जानकारी दिनुभयो । प्रहरीले उनीहरुमाथि आजैबाट अनुसन्धान थालेको छ । उनीहरु भरीया मात्रै हुन् वा सुन तस्कर हुन् भन्ने खुल्न बाँकी छ । “उनीहरुबाट सुन तस्करीको अरु सञ्जालसम्म पुग्न सकिने विश्वास छ” प्रजिअ नारायणप्रसाद भट्टराईले भन्नुभयो, “उत्तरी नाकामा थप सुरक्षा सजगता पनि अपनाइने छ ।” 

सुन बरामद गर्ने प्रहरी पुरस्कृत

शनिबार १० किलो सुनसहित दुईजनालाई पक्राउ गर्ने प्रहरी नायव निरीक्षक सइ तुलबहादुर सेन ठकुरीलाई पुरस्कृत गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले २१ सय रुपैयाँसहित पुरस्कृत गरेको हो । सेनलाई नगद हस्तान्तरण गर्दै प्रजिअ भट्टराईले भन्नुभयो, “पुरस्कार रकम सानो हुन सक्छ, यसले असल काम गर्नुपर्छ भन्ने सन्देशसहित उहाँको मनोवल बढ्ने विश्वास लिएका छौं ।” 

प्रहरीको अभिलेखमा जनिने गरी तत्काल यने नगद पुरस्कार दिइएको एसपी बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो “तस्करहरुको प्रलोभनमा नपरी उहाँले अभियुक्तहरुलाई सदरमुकामसम्म ल्याउन सफल हुनुभयो, हामी थप हौसला बढाउने कार्यक्रमका लागि हेडक्वार्टरमा लेखि पठाउँछौं ।” 

जिल्ला प्रहरी कार्यालय गोरखामा दरबन्दी भएका सेन फिलिम प्रहरी चौकीमा खटिएको २२ औं दिनमा १० किलो सुनसहित तस्करहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरीले चौकीका सबै प्रहरीलाई फिर्ता बोलाई नयाँ टोली पठाएको थियो । पुरस्कृत सेनका अनुसार पक्राउ परेका दुई जनाले सुन आधा आधा बाँड्ने भन्दै आफूहरुलाई छोडिदिन आग्रह गरेका थिए । “सुन लिने त कुरै भएन, रातभर निद्रा लागेन” सेनले भन्नुभयो, “सुरुमा आधा–आधा सुन बाँडौंला भन्थे, पछि त पूरै लिनुस् पो भन्न थाले ।” बरामद गरिएको १० किलो सुनको बजार भाउ अहिले झण्डै ५ करोड रुपैयाँ रहेको छ । 

-----------------------------------

याे पनि हेर्नुहाेस्ः

अन्तिम अपडेट: बैशाख १२, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया