रुकुमको एउटा स्वास्थ्य चौकीको दुःख : ‘छाना चुहिन्छ, औषधि मुसाले गायब पार्छ’

 माघ २६, २०७८ बुधबार १८:३०:४१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको एक स्वास्थ्य चौकीमा समस्याका चाङ रहेका छन् । बर्थिङ सेन्टर सहितको सेवा सञ्चालन भइरहेको र सेवा प्रवाहमा उदाहरणीय रहेको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ को मुरु स्वास्थ्य चौकी व्यवस्थापनमा अनेक समस्या रहेको छ । 

स्वास्थ्य संस्थाको मापदण्डअनुसारको भवन नहुँदा सेवाग्राही र कर्मचारीले अनेक समस्या झेलिरहेका छन् । एक कर्मचारीका अनुसार बर्थिङ सेवा लिनेहरूरुका लागि आराम गर्ने कोठासमेत छैन । 

गएको आर्थिक वर्षमा यस स्वास्थ्य चौकीमा एक सय १३ जनाले सुरक्षित प्रसूति सेवा पाएको तथ्याङ्क रहेको छ । ग्रामीणस्तरमा प्रभावकारी सेवा दिइरहेको यस स्वास्थ्य चौकीको व्यवस्थापनमा भने कसैको चासो नपुगेको स्थानीयवासीको गुनासो छ । 

जानकारीअनुसार व्यवस्थित स्टोर कोठा नहुँदा औषधि तथा औषधिजन्य सामग्री र उपकरणहरूको सुरक्षा गर्न कर्मचारीलाई कठिनाइ हुने गरेको गरेको छ । माटोले बनेको पुरानो भवनमा रहेको स्वास्थ्य चौकीमा मुसाको रजाइँ हुने गरेको छ । मुसाले भित्ता खोल्ने, माटो फाल्ने, औषधि तथा अन्य सामग्रीह गायब गर्ने गरेको कर्मचारीको गुनासो छ । 

जीर्ण भवनबाट सबै सेवा दिनुपर्ने भएकाले सेवामा गुणस्तर कायम गर्न कर्मचारीलाई मुस्किल हुने गरेको बताइएको छ । टिनको छानो र माटोका भित्ता रहेको पुरानो भवनमा छाना चुहिने र भित्ताको माटो झर्ने समस्या छ । खिया लागेको टिनको छाना चुहिँदा औषधि तथा औषधिजन्य उपकरणह भिज्ने, बिग्रने डर रहेको एक कर्मचारीको भनाइ छ । 

विगतमा स्वास्थ्य मन्त्रालयबाट संस्थाको स्तरवृद्धिको निर्णय भए पनि अन्य सरोकारवालाले वास्ता नगरेको स्थानीयवासीले बताएका छन् । 

स्वास्थ्य चौकीको आफ्नै जग्गा छ, तर स्वास्थ्य मापदण्डअनुसारको भवन छैन । यस विषयमा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष् वीरबहादुर खड्काले समस्याह तमाम रहेको स्वीकार्नुभयो । उहाँले तत्कालीन मुरु गाविसले बनाइदिएको कच्ची भवन रहेको तर जीर्ण बन्दै गएकाले गुणस्तरीय सेवा प्रवाह गर्न समस्या आएको उल्लेख गर्नुभयो । 

वडाध्यक्षसमेत रहनुभएका खड्काले स्वास्थ्य चौकीको नयाँ भवन बनाइदिन गाउँपालिका, प्रदेश मन्त्रालय र सङ्घीय सरकारलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ हुन नसकेको बताउनुभयो । ‘आफ्नो कार्यकाल सकिनै लाग्यो, हामी आफैँ पीडित छौँ’, अध्यक्ष खड्काले भन्नुभयो, ‘यहाँ परेको भवन पनि पूर्वाग्रहपूर्ण तरिकाले अन्यत्र लगियो ।’ भवन निर्माणका लागि स्थानीयवासीले जग्गा उपलब्ध गराउँदा पनि यहाँको भवन योजना अन्यत्र सारिदिएको उहाँको गुनासो छ । 

यस विषयमा त्रिवेणी गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम पुनले मुरु स्वास्थ्य चौकीका लागि नयाँ भवन अत्यावश्यक रहेको बताउनुभयो । उहाँले गाउँपालिकाको सीमित स्रोतले भवन बन्न नसक्ने भएकाले कार्यपालिका बैठकबाट निर्णय गराइ प्रदेश मन्त्रालयमा योजना माग गरिएको समेत जानकारी दिनुभयो । 

यस स्वास्थ्य चौकीबाट खोप सेवा, पोषण सेवा, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सेवा, दैनिक उपचार तथा परामर्श सेवा, गाउँ घर क्लिनिक लगायतका सेवा सञ्चालन भइरहेका छन् । स्वास्थ्य चौकीबाट गएको आर्थिक वर्षमा सात हजार पाँच सय ५३ जना सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Sushil Bista

    Feb. 9, 2022, 8:20 p.m.

    समस्या उजागर गरीदिएकोमा धन्यबाद ।सकरात्मक प्रभाब रहने अपेक्षा राख्दछु ।

  •  0 Reply

तपाईको प्रतिक्रिया