सन्दीपलाई भ्याइनभ्याइ, क्यानेडियन लिगमा अनुबन्ध, पारिश्रमिक कति ? को को छन् टिममा ?

 जेठ २१, २०७५ सोमबार ७:३७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यानेडियन लिग पनि खेल्ने भएका छन् । इण्डियन प्रिमियर लिग आईपीएलमा गज्जबको प्रदर्शन, क्यारेवियन प्रिमियर लिग सीपीएलमा अनुबन्ध, विश्व ११ बाट अन्तराष्ट्रिय ट्वेण्टी ट्वेण्टी क्रिकेटमा डेब्युलगायत लगातार खुशीका खबर दिइरहेका नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यानेडियन लिगमा अनुबन्धित भएका हुन् । 

लेग स्पिनर सन्दीपलाई क्यानेडियन लिगका लागि मोन्ट्रेल टाइगर्स क्लबले अनुबन्ध गरेको हो । यससँगै उनले फेरि एकपटक विश्व क्रिकेटमा आफू उदाउँदो खेलाडी रहेको सन्देश फेरि एकपटक दिएका छन् । 

ऐतिहासिक लर्डस मैदानमा विश्व ११ का तर्फबाट खेले लगत्तै सन्दीप क्यानेडियन लिगमा अनुबन्ध भएका हुन् ।

प्रतियोगिता जुन २८ तारिख असार १४ गते शुरु भई जुलाई १५ तारिख अर्थात असार ३१ गतेसम्म चल्नेछ ।   

पारिश्रमिक कति

क्लबले उनलाई बोलकबोलको छैटौं चरणमा अनुबन्ध गरेपनि उनले कति पारिश्रमिक पाउने भन्ने कुरा आधिकारिक रुपमा बताइएको छैन । यो प्रतियोगिताका लागि बोलकबोलमा खेलाडी कुन चरणमा क्लबले लियो भन्ने आधारमा पारिश्रमिक तय हुने ब्यवस्था छ । पहिलो चरणमै अनुबन्ध हुने खेलाडीलाई ९० हजार डलर पाउनेछन् । सन्दीपलाई छैटौ चरणमा क्लबले लिएको हो । छैटौ चरणमा अनुबन्ध हुने खेलाडीले ४० हजार डलर पाउने व्यवस्था छ ।

सन्दीप आइपीएलमा २० लाख भारु र क्यारेवियन प्रिमियर लिगमा पाँच हजार डलरमा अनुबन्ध भएका थिए । 

को को छन् सन्दीप रहेको टिममा  

सन्दीपलाई अनुबन्ध गरेको क्लब मोन्ट्रेल टाइगर्सको मार्की खेलाडी विश्वप्रसिद्ध श्रीलंकाली भेट्रान बलर लसिथ मालिंगा छन् । 

यस्तै कुनै समय विश्व क्रिकेटमा नम्बर एक स्पिनर रहेका वेष्ट इण्डिजका सुनील नराइन, श्रीलंकाका पुर्व कप्तान थिसरा परेरा, वेष्टइण्डिजका विकेटकिपर ब्याट्स्म्यान दिनेश रामदिन, पाकिस्तानको ट्वेण्टी ट्वेण्टी टिमका कप्तान ब्याट्स्म्यान मोहम्मद हाफिज, जिम्बाबेका ब्याट्स्म्यान सिकन्दर राजालगायत खेलाडी छन् ।

यो प्रतियोगितामा जम्मा ६ वटा टीम छन् । जसमा राष्ट्रिय र अन्तराष्ट्रिय उत्कृष्ट खेलाडीहरुलाई मौका दिइएको छ । क्यानडाका शहरहरुको नामबाट बनाइएका क्लबमा टोरोण्टो नेशनल्स, भ्याङ्कुभर नाईट्स, मोण्ट्रेल टाइगर्स, एडमोण्टो रोयल्स र विनिपेग ह्वक्स रहेका छन् । वेष्टइण्डिजको बी टीमले पनि प्रतियोगितामा सहभागिता जनाउनेछ ।

प्रतियोगितामा अष्ट्रेलियाका पुर्व कप्तान स्टीभ स्मिथ, पाकिस्तानी अलराउण्डर शाहीद अफ्रिदी, वेष्टइण्डिजका ब्याट्स्म्यान क्रिस गेल, डारेन सामी, ड्वेन ब्राभो, आन्द्रे रसेललगायत खेलाडीले पनि आ–आफ्ना क्लबबाट प्रतिस्पर्धा गर्नेछन् ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया