अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चल्यो : बन्दुकधारीले श्रीमतीसहित ६ जनाकाे गरे हत्या

 भदौ २८, २०७५ बिहिबार १४:१६:४ | रासस
unn.prixa.net

अमेरिकाको क्यानिफोर्नियामा एकजना बन्धुकधारीले जथाभावी गोली चलाएर बुधबार ६ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिले आफ्नै श्रीमतीको पनि हत्या गरी आत्महत्या गरेका छन् । 

क्यालिफोर्नियाको बेकर्सफिल्डमा भएको गोलीकाण्डलाई प्रहरीले घरेलु हिंसाको रुपमा व्याख्या गरेको छ । कर्न काउन्टीका प्रहरी अधिकृत मार्क किङले अपराह्न सवा ५ बजे गोली चलेको खबर पाउनासाथ प्रहरी घटनास्थलमा पुगेको जानकारी दिनुभयो । 

हत्यामा संलग्न व्यक्तिले ट्रक व्यवसायीको हत्या गरेपछि श्रीमतीको हत्या गरेका थिए । उक्त गोलीकाण्डका प्रत्यक्षदर्शीलाई पनि ती व्यक्तिले लखेट्दै हत्या गरेका थिए । गोली लागेर तीन जना पुरुष र दुई जना महिलाको ज्यान गएको छ । प्रहरीले पीडितहरुको नाम सार्वजनिक गरेको छैन । 

बन्दुकसँग सम्बन्धित हिंसाका घटना दिनहुँ भइरहने अमेरिकामा यो पछिल्लो गोलीकाण्ड हो । पछिल्लो अध्ययनमा अमेरिकाको जनसंख्या विश्वको कूल जनसंख्याको करिब चार प्रतिशत मात्र छ तर करिब ४० प्रतिशत बन्दुक अमेरिकी जनताका हातमा छ । 

स्मल आर्म्स सर्भेका अनुसार, नागरिकका हातमा विश्वभर करिब ८५ करोड ७० लाख बन्दुक छ र त्यसमध्ये ३९ करोड ३० लाख थान बन्दुक अमेरिकी नागरिकसँग रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया