निर्मलाका बुवाअामा भन्छन्-सरकार ! न्याय दिन सक्दैनाै भने हामीलाई पनि गोली हानी मारिदेउ

 भदौ २८, २०७५ बिहिबार १६:४७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - बलात्कारपछि हत्या भएकी निर्मला पन्तका आमा बाबुले न्याय दिन नसके आफुहरुलाई पनि गोली हानी मारिदिन सरकारसंग आग्रह गरेका छन् । 

न्याय खोज्दै राजधानी छिरेका पन्तका आमा बाबुले बिहीबार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा छोरीको हत्यारा पत्ता लगाएर कारबाही गर्न नसक्ने भए आफूहरुलाई पनि गोली ठोकेर मार्न चुनौति दिएका हुन् । बाबु यज्ञराज पन्त र आमा दुर्गा देवीले छोरीको हत्यारा पत्ता नलगाएका कारण आफू राजधानी आएकाले छोरी जस्तो सम्झेर न्याय दिलाउन प्रधानमन्त्रीसँग आग्रह गरे ।

कञ्चनपुरका महिला अधिकारकर्मीले न्याय नपाइकन जिल्ला नफर्कने भन्दै न्यायका लागि ज्यान गुमाउन पनि तयार रहेको बताए । प्रहरीले घटनाका प्रमाण नष्ट गर्ने काम गरेको भन्दै अधिकारकर्मीले प्रहरीमाथि लागेको दाग हटाउन प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई पनि चुनौति दिए ।

उनीहरुले अनुसन्धान टोलीमा रहेका सदस्य उपसचिव विरेन्द्र केसीले अनुसन्धानको विश्वसनीयतामा गम्भीर प्रश्न उठाउँदै राजीनामा दिएर पनि फेरि समिति सदस्यमै फर्किएकाले उहाँको भूमिकाप्रति पनि आशंका उब्जिएको बताए ।

अधिकारकर्मी शारदा चन्दले गोली नचलुञ्जेलसम्म घटनाबारे केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण नभएको र त्यसपछि सरकारका विभिन्न निकाय पुगेर पन्तका परिवारलाई पीडा दिने काम भएको बताउनुभयो । उहाँले न्यायका लागि ज्यान दिन पनि आफूहरु तयार रहेको भन्दै न्याय नपाई जिल्ला नफर्कने चेतावनी दिनुभयो ।

९ जना अधिकारकर्मीसहित निर्मला पन्तका आमा बुबा न्याय खोज्दै राजधानी काठमाण्डौ आएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया