साफ कपमा सेमिफाइनलमै राेकिएकाे नेपाली फुटबल टोली स्वदेश फिर्ता

 भदौ २८, २०७५ बिहिबार १८:५८:२३ | उज्यालो सहकर्मी

काठमाडाैं - बिहीबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मलिन र निराश अनुहार लिएर नेपाली टोली स्वदेश फर्कियो ।

चौथो पटक सेमिफाइनलमा पुगेर फाइनल पुग्न असमर्थ रहेको नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पाएको अवसर सृजना गर्न नसक्नु र तयारीका लागि छोटो समय हुनुलाई हारको कारणको रुपमा व्याख्या गरे । 

यद्यपी घरेलु टोली बंगलादेशलाई हराएर समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपाली टोली माल्दिभ्सबिरुद्ध बढी आत्मविश्वासी हुनुलाई पनि हारको कारणको रुपमा आलोचना गरिएको छ ।

कप्तान विराज महर्जनले भने रणनीतिअनुसारको प्रदर्शन मैदानमा नभएका कारण माल्दिभ्सविरुद्ध जित हासिल गर्न नसकिएको बताए । 

समग्र टिम र नेपालका लागि निराशाजनक अवस्था रहे पनि केही खेलाडीको प्रदर्शनले भने नेपाली फुटबलले भविश्यमा उपलब्धिको आशा राख्न सक्छ । रक्षापंक्तिमा सुमन अर्यालका लागि यो प्रतियोगिता पहिलो थियो । तर, डेब्यू प्रतियोगितामै उनले राम्रो छाप छाड्न सफल भएका छन् ।

त्यस्तै अग्रपंक्तिमा सुनील बलले पनि यस प्रतियोगितामा अविष्मरणीय प्रदर्शन गरे । निराजन खड्का र बिमल घर्तीमर पनि लयमा देखिए ।

समूह चरणमा पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएको नेपालले त्यसपछिका दुई खेलमा शानदार प्रदर्शन गरी समूह विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।

 

नेपालले भुटानलाक्ष्ए ४–० र घरेलु टोली बंगलादेशलाई २–० गोलले हराएको थियो । समूह चरणमा एउटै खेल नजिति टसका आधारमा समूह उपविजेताको रुपमा छनोट भएको माल्दिभ्सविरुद्ध नेपालले आत्मविश्वासी खेल प्रदर्शन गरेको थियो । तर, नतिजा नेपालको पक्षमा रहेन ।


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया