तातोपानी नाका खुलाउन सरकारसँग सांसदहरुकाे माग

 भदौ ३०, २०७५ शनिबार १५:३१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - प्रतिनिधिसभाका सांसदहरुले तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्न सरकारसँग माग गरेका छन् । 

प्रतिनिधिसभाको शनिबारको बैठकको शून्य समयमा बोल्दै सांसद अग्निप्रसाद सापकोटाले तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्न सरकारसँग माग गर्नु भएको हो । उहाँले अरनिको राजमार्गमा रहेको सडक मर्मत सम्भार गरी तत्काल तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

सांसद आशाकुमारी विश्वकर्माले बझाङ जिल्लामा दरबन्दी अनुसार चिकित्सकको तत्काल व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले दरबन्दी अनुसार चिकित्सकहरु नहुँदा बझाङमा विरामीले सास्ती व्यहोर्नु परेको पनि स्मरण गराउनुभयो ।

सांसद इन्दुकुमारी शर्माले चुरे वनविनाश रोक्न सरकारलाई पुनः दबाब दिनुभयो । उहाँले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको नाममा २४ लाख ५० हजार रुख कटानी गर्न लागिएको भन्दै त्यसलाई नरोके चुरे विनाश हुने र त्यसले प्रदेश २ का जनतामाझ ठूलो प्राकृतिक विनाश निम्त्याउने चेतावनी पनि दिनुभयो ।

सांसदहरुले बर्दियाको चेपाङहरुलाई लालपूर्जाको तत्काल व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् । सांसद कुमारी तुलसी थापाले बर्दियाको करिब २ हजार ५ सय जनसंख्या रहेको चेपाङहरु शिक्षा, स्वास्थ्य जस्ता आधारभूत अधिकारबाट बञ्चित हुनु परेको भन्दै उनीहरुलाई तत्काल लालपूर्जाको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

बैठकमा सांसद कृष्णकुमार श्रेष्ठले काठमाडौं प्रवेश गर्ने मुख्य नाकाको रुपमा रहेको कलंकी– नाकढुंगा सडक खण्डमा हुने ट्राफिक जाम हटाउन सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया