फिलिपिन्समा पनि शक्तिशाली आँधी

 भदौ ३०, २०७५ शनिबार १५:३९:१० | रासस
unn.prixa.net

फिलिपिन्समा पनि शनिबार शक्तिशाली आँधी आएपछि जनजीवन  प्रभावित भएको छ ।

आँधीका कारण अहिलेसम्म तीन जनाको ज्यान गएको र अरु चार जना घाइते भएका विवरण प्राप्त भएको अधिकारीहरुले जनाएका छन् । 

फिलिपिन्सको उत्तरी क्षेत्रमा आएको आँधी र वर्षाले आफ्नो मार्गमा पर्ने क्षेत्रको धेरै भौतिक संरचनामा क्षति पु¥याउने अनुमान गरिएको छ । यस आँधीको मार्गमा ४० लाखभन्दा बढी मानिसहरू रहेका छन् । 

प्रतिघण्टा १८५ किलोमिटरका दरले आँधी आएको मौसम अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले आँधी आउने बेलामा घरबाहिर ननिस्कन र सुरक्षित तरिकाले घरभित्रै बस्न आह्वान गरेका थिए । 

स्थानीय समयानुसार गएराति १ बजेर ४० मिनेटपछि आँधी त्यहाँ आइपुगेको थियो । आँधीपछि त्यो क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । 

आँधी आउदो मङ्गलबारसम्म नै जारी रहने अनुमान गरिएको छ । यो अवधिमा सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन् । 

फिलिपिन्समा प्रत्येक वर्ष औसतमा २० ओटा यस्तै आँधी आउने गरेका छन् भने सयौँको मृत्यु हुनेगरेको छ । त्यसैका कारण दशौँ लाख गरिबीको रेखामुनी पर्ने गरेका छन् । 

त्यसैगरी हजारौंबासिन्दा बाढी पहिरोबाट पनि प्रभावित हुने गरेको समाचारमा जनाइएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया