भलबाढीको जोखिममा खोटाङ खानेपानी आयोजनाको पाइपलाइन

 चैत १५, २०७८ मंगलबार १३:५८:५३ | दमन राई
unn.prixa.net

खोटाङ - खोटाङको हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको पाइप जोखिम आकलन नगरि खोलामा बिछ्याइएको पाइएको छ ।

हलेसी तुवाचुङ नगरपालिकामा दूधकाेसीको पानी निकाल्नका लागि सुरु गरिएको पम्पिङ खानेपानी आयोजनाको पाइपलाई निर्माण कम्पनीले भलबाढीबाट क्षति पुग्नसक्ने खतरालाई आकलन नगरि खोलामा राखेको पाइएको हो ।

निर्माण कम्पनी दिवा–महादेव खिम्तीले हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा रहेकाे महादेवबेसीबाट दूधकाेसीको पानी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाइनको पाइप महादेव खोलैखोला असुरक्षित तरिकाले राखेको हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारका वडाध्यक्ष रमेश राउतले बताउनुभयो । 

खोलामा लडाएर राखिएको पाइप वर्षामा आउने भलबाढीले क्षति पुग्ने खतरा देखिएको छ । निर्माण कम्पनीले खानेपानीको पाइपलाई जमिनमाथि उठाउने पिलर पनि राखेकाे छैन। खोलामा लडाएर राखिएका कारण सामान्य भलबाढीले पनि पाइपमा खिया लाग्न सुरु भइसकेको छ ।

स्थानीय महादेव खोला र ढुँडी खोलामा भलबाढीले भेट्नेगरी करिब साढे ३ किलोमिटर पाइप जमिनमा लडाएर राखिएको छ । खोलाभन्दा २० मिटरमाथिबाट पाइप राख्न आवाज उठाउँदै आएको भए पनि सुनुवाइ नभएको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका वडाध्यक्ष काशीराज राईले बताउनुभयो । 

पम्पिङ अयोजनाको काम पाइप बिछ्याउने क्रममा भएको त्रुटि सच्याउनका लागि निर्माण व्यवसायीलाई १६ फागुनमा पत्राचार गरिएको सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जनले बताउनुभयो । 

दूधकाेसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाइनको ठेक्का दिवा–महादेव खिम्तीले लिएको हो ।

दूधकाेसीबाट काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मङ्गलटारमा वितरण गर्नेगरी रमन सगरमाथा–सगरमाथा घिमिरे जेभी र भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का लामा कन्ट्रक्सनले गरिरहेको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया