सुकिलुम्बाबाट सफल भयो परीक्षण उडान

 जेठ २१, २०७५ सोमबार १६:५:८ | सुजता सुनुवार

इलाम – इलामको सुकिलुम्बा विमानस्थलमा तारा एयरले सफल उडान परीक्षण गरेको छ ।

इलाम नगरपालिका–९, मा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नागरिक उड्यान प्राधिकरणले नाएन एन–एइटी (ढल्–ब्भ्त्)नम्बरको तारा एयरको जहाज सोमबार बिहान १२ बजे सफल उडान परीक्षण गरेको हो  ।

बिहान साढे १० बजे जहाज अवतरण गर्ने भनिए पनि दिउँसो १२ बजे मात्र विमानस्थलमा जहाज अवतरण भएको थियो । पाइलटसहितको २० सिटको जहाज अवतरण गरे पश्चात धावनमार्ग उडानका लागि योग्य रहेको तारा एयरका मुख्य पाइलट प्रभाकर घिमिरेले बताउनुभयो ।

सहजै परीक्षण उडान सफल भएको प्रतिक्रिया दिँदै पाइलट घिमिरेले रनवे टेक अफ र ल्याण्डिङ्ग हुन सक्ने अप्ठ्यारा कन्ट्रक्सनहरु क्लियर गर्न बाँकी रहेकाले अब यसलाई ध्यान दिन आवश्यक रहेको बताउनुभयो । वरपर ल्याण्ड गर्न नसकेको अवस्थामा सिधा स्ट्याब्रोच गर्न समेत सकिने अवस्था रहेकोले उडानका क्रममा यसको पनि परीक्षण गरेको घिमिरेको भनाई छ ।

ल्याण्ड गर्दा अफ स्लोप छ । स्लोप भएकोले पानी पर्दा माटो बगाएर लाने समस्या छ । जसले गर्दा टेकअफ र ल्याण्डिङ्गमा समस्या आउने हुँदा यो समस्या तत्काल रोक्न जरुरी रहेको उहाँले बताउनुभयो । काठमाडौंबाट १० बजेर ५५ मिनेटमा उडेको जहाज सुकिलुम्बा विमानस्थलमा आउन एक घण्टा पाँच मिनेट लागेको विमानका सह–चालक सञ्जिव श्रेष्ठले जानकारी दिनुभयो ।

आफ्नै ठाउँमा बिमान आएपछि स्थानीयबासिन्दा निकै खुशी भएका छन् । ८८ वर्षका स्थानीयबासिन्दा  निरबहादुर क्षेत्रीले भन्नुभयो, ‘हेर्न पाउँछु, पाउँदिन भन्ने थियो । तर आज आयो देखेँ । खुशी लागेको छ  ।’ सात सय मिटर लम्बाइ र ६० मिटर चौडाइ रहेको धावनमार्ग सहितको विमानस्थलको शिलान्यास २०६७ सालमा गरिएको थियो ।

स्थानीयस्तरमा रकम जुटाएर खरिद गरिएको तीन सय २६ रोपनी जमिनमा निर्माण गरिएको विमानस्थलमा १८ करोड रुपैयाँ खर्च भइसकेको छ । नागरिक उड्यान प्राधिकरणका इञ्जिनियर पुष्प न्यौपानेले परीक्षण उडान मात्र सफल भएको बताउनुभयो ।

नियमित उडानका लागि ग्राबेलिङ तथा कालेपत्रे गर्नुपर्छ । यसका लागि अर्को वर्ष नागरिक उड्यान प्राधिकरणले कालोपत्रे गर्ने तयारी गरेको छ । त्यस्तै टर्मिनल भवन छैन । यसको समेत निर्माण गर्न जरुरी रहेको इञ्जिनियर न्यौपानेको भनाई छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया