इंग्लिस प्रिमियर लिग : शीर्ष क्लबहरुकाे सफलता, हाजार्डको ह्याट्रिक, टाेटनह्याम पराजित

 भदौ ३१, २०७५ आइतबार ९:४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष क्लबहरु चेल्सी, लिभरपूल, म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड र आर्सनलले आआफ्नो खेलमा जित हासिल गर्दा टोटनह्याम भने पराजित भएको छ ।

शनिबार राति भएको खेलमा टोटनह्याम आफ्नै मैदानमा लिभरपुलसँग २–१ गोलले पराजित भयो । लिभरपुलका लागि जर्जिनियो बिवज्नाल्डम र रोबर्टो फिर्मिन्होले गोल गर्दा टोटनह्यामका एरिक लामेलाले खेलको अन्तिम मिनेटमा एक गोल फर्काएका थिए ।

यता घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा कार्डिफ सिटीलाई ४–१ गोलले हराउँदा चेल्सीका इडेन हाजार्डले ह्याट्रिक गरे । कार्डिफका सोलेमाने बाम्बाले १६औं मिनेटमा गोल गरी पाहुना टोलीलाई अग्रत दिलाएका थिए । तर, चेल्सीले त्यसयता चार गोल थप्यो । हाजार्डले खेलको ३७औं, ४४औं र ८०औं मिनेटमा गोल गरे भने चेल्सीका लागि अर्को गोल विलियनले गरेका थिए ।

म्यान्चेस्टर सिटीले पनि घरेलु मैदानमा फुलह्यामलाई ३–० गोलले हरायो । सिटीका लागि खेलको दोस्रो मिनेटमै लेरोय सानेले गोल गरेका थिए । त्यस्तै २१औं मिनेटमा डेभिड शिल्भा र ४७औं मिनेटमा रहिम स्टर्लिङले गोल गरे ।

अर्को खेलमा आर्सनलले भने न्युकाशल युनाइटेडलाई उसकै मैदानमा २–१ गोलले हरायो । आर्सनलका लागि खेलको ४९औं मिनेटमा ग्रानित जाका र ५८औं मिनेटमा मेसुट ओजिलले गोल गरेका थिए । न्युकाशलका कियारन क्लार्कले खेलको अन्त्यतिर १ गोल फर्काएका थिए । 

म्यानचेस्टर युनाइटेडले पनि वाटफोर्डबिरुद्ध जित निकाल्न सफल भयो । लिगमा पाँचौं चरणको खेलमा वाटफोर्डको यो पहिलो हार हो । यसअघि उसले टोटनह्यामलाई पराजित गरेको थियो । घरेलु मैदानमा वाटफोर्डले युनाइटेडलाई भने चुनौति दिन सकेन । युनाइटेडका लागि रोमेलु लुकाकु र क्रिस स्माइलिङले गोल गरेका थिए भने वाटफोर्डका लागि आन्द्रे ग्रेले एक गोल फर्काएका थिए ।

पाँचौं चरणको खेलपछि प्रिमियर लिगमा चेल्सी र लिभरपुलले विजयी यात्रा कायमै राखेका छन् भने सिटीको अपराजित यात्रा पनि कायमै छ । चेल्सी र लिभरपुलको समान १५ अंक र सिटीको १३ अंक भएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया