कञ्चनरुपमा फैलिएको फ्लुको उपचारमा विशेषज्ञ डाक्टरको अभाव

 भदौ ३१, २०७५ आइतबार १६:१०:२८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिकामा फैलिएको स्वाइन फ्लु र हङकङ फ्लुको उपचार गर्न विशेषज्ञ डाक्टरको अभाव भएको छ ।

डाक्टर अभावका कारण उपचार सेवा प्रभावित भएको छ । त्यस नगरपालिकामा १ जनामा स्वाइन फ्लु र ४ जनामा हङकङ फ्लुको संक्रमण भेटिएको छ । ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षणबाट तीन बालिकासहित पाँच जनाको ज्यान गइसकेको छ । २ हजार १ सय जनामा ज्वरो, रुघाखोकी लगायतको समस्या देखिएपछि नगरपालिकालाई नै ‘विपद क्षेत्र’ घोषणा गरिएको छ ।

नगरपालिकाको आकस्मिक बैठकले यस्तो घोषणा गरेर तीनदिनसम्म विद्यालय समेत बन्द गरे पनि बिरामीको उपचारका लागि विज्ञेषज्ञ डाक्टर नहुँदा समस्या परेको स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले बताउनुभयो । उहाँका अनुसार विशेषज्ञ डाक्टरको अभावले उपचारमा आवश्यक औषधी चलाउन अन्यौल भएको छ । विशेषज्ञ डाक्टरको निगरानीमा मात्र यस्तो औषधी चलाउनु पर्ने भएकोले उपचारमा कठिनाई भएको उहाँको भनाई छ ।

कञ्चनरुप नगरपालिका वडा ४, ६, ७ र ११ मा नमुना रगत र खकार संकलनका लागि शिविर सञ्चालन गरी अहिलेसम्म ४० जनाको नमुना जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । गुप्ताले अहिले कञ्चनपुर स्वास्थ्य केन्द्रका डाक्टर सञ्जिव झा, राजेशकुमार यादव तथा कडरवोना स्वास्थ्य केन्द्रका जितेन्द्रकुमार यादव र मनोजकुमार चौधरीसहित ८० जना स्वास्थ्यकर्मीले सेवा दिइरहेको बताउनुभयो ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले चार दिनअघि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालका डाक्टर रञ्जित झाको नेतृत्वमा दुई सदस्यीय टोली पनि प्रभावित क्षेत्रमा खटाएको थियो । तर, उक्त टोली प्राथमिक स्वास्य केन्द्र कञ्चनपुरमा पुगेर १० मिनेटपछि नै फिर्ता भएको थियो । ‘हामीसँग त उहाँहरुको भेट पनि भएन, के–के गरेर जानु भो भन्ने नै थाहा छैन,’ गुप्ताले भन्नुभयो ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा सप्तरीका सीडीओ सुरेन्द्र पौडेलले कञ्चनरुपमा फ्लुको समस्या घट्दो दरमा रहेको र भयावह अवस्था नरहेकाले डा. झाको टोली फिर्ता भएको बताउनुभयोे । ‘अहिले गम्भिर समस्या भएका बिरामी कञ्चनपुरमा छैनन् र बिरामीहरुको संख्या पनि घट्ने क्रममा छ’, उहाँले भन्नुभयो, ‘आवश्यक्ता परे हामी फेरि डाक्टरको टोली पठाउँछौ ।’
 

अन्तिम अपडेट: फागुन २८, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया