बेसीशहर–चामे सडक : बेसीशहरदेखि अर्खले र मनाङदेखि काभ्रेभिरसम्म सडक सञ्चालन

 असोज १, २०७५ सोमबार १०:६:६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ –बेसीशहर–चामे सडक पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । गएको बुधबार वर्षासँगै आएको बाढी पहिरोका कारण अवरुद्ध सडक अझै पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको हो ।

बाढी पहिरोका कारण यस सडकखण्डको खरखरे भिर, घोप्टेभिर, काभ्रेभिर लगायतका ठाउँठाउँमा पहिरो गएकाले सडक पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । कतिपय ठाउँमा पहिरोले सडकको ट्रयाक नै बगाएको छ । 

सडक पूर्ण रुपमा सञ्चालनमा नआउँदा स्थानीय तथा पर्यटकहरुलाई आउजाउमा समस्या भएको छ । बाटो नखुल्दा सवारीधनी र होटल व्यावसायीहरु समेत मारमा परेका छन् । लमजुङको बेसीशहरदेखि अर्खले र मनाङदेखि काभ्रेभिरसम्म सडक खुलेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी यादव ढकालले जानकारी दिनुभयो ।

‘यता लमजुङदेखि अर्खलेसम्म र उता मनाङदेखि काभ्रेभिरसम्मको सडक खुलेको छ । सडकखण्डकोबीच भागका विभिन्न ठाउँमा रहेका पहिरो हटाई सडक खुलाउने प्रयास जारी छ । पूर्ण रुपमा सडक सञ्चालनका लागि बाटो खुलाउने काम भैरहेको छ,’ डिएसपी ढकालले भन्नुभयो ।

लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका अनुसार खरखरे भिरमा आएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । उहाँका अनुसार खरखरे भिरको पहिरो हटाउन बिहीबारदेखि नै काम सुरु गरिएकोमा शुक्रबार दिउँसो २ बजे मात्रै पहिरो हटेको थियो । ‘खरखरे भिरमा खसेको पहिरोले सडकको ट्रयाक नै बगाएको थियो । नयाँ ट्रयाक खोलेर सडक सञ्चालन गरिएको छ,’ उहाँले भन्नुभयो ।

ठाउँठाउँमा सडक पुरिएको र बगाएको उहाँले बताउनुभयो । सडक सञ्चालनका लागि नयाँ ट्रयाक खोल्नुपर्ने अवस्था छ । ‘सडकको विभिन्न ठाउँमा रहेका पहिरो र ठूलाठूला ढुंगा हटाउन उपकरणसहित टोली खटिएको छ । बाटो खुलाउन नेपाली सेना र नेपाल प्रहरी पनि जुटेको छ,’ उहाँले भन्नुभयो ।

बेपत्ताहरुको खोजी चल्दै   

मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकका अनुसार बुधबारको पहिरोमा परी मस्र्याङ्दी गाउँपालिका–४, नासकुचेका ५९ वर्षे राजु लामा भनिने तुल्सीप्रसाद तामाङ हराउनुभएको छ । 

बुधबारै मस्र्याङ्दी नदीमा बगेर २ जना हराएका छन् । बेसीसहर नगरपालिका–११, रामचोकबेसीस्थित दोर्दीखोला जलविद्युत आयोजनाको पावरहाउस निर्माणमा खटिएका ३५ वर्षे बलिराम चौधरी र २५ वर्षका लक्ष्मीप्रसाद थारु मस्र्याङ्दीमा बगेर हराएका हुन् ।

‘बाढीपहिरोमा परी बेपत्ता भएकाहरु अझै भेटिएका छैनन् । उनीहरुको खोजी कार्य भईरहेको छ,’ सहायक प्रजिअ सुनारले भन्नुभयो ।   
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया