ब्रोइलर पालन ‘जुवाको खेती’ : किसानले नै बेहोर्नुपर्ने सबै क्षति !

 असोज १, २०७५ सोमबार १२:२०:४९ | टेकमान शाक्य
unn.prixa.net

विश्व पोल्ट्री बजारमा छिमेकी देश भारत र चीनको भूमिका निकै दरिलो छ । नेपाल पनि यो व्यवसायमा आत्मनिर्भर नजिक पुगेको छ ।

पोल्ट्रीका लागि आवश्यक कच्चा पदार्थमा छिमेकीकै भर पर्नुपर्ने बाध्यकारी अवस्थाले भने नेपालमा सोचेजस्तो व्यवसायको स्तरोन्नति हुन सकेको छैन । पोल्ट्री व्यवसाय गर्नेहरुको जमात बढे पनि अन्तर्राष्ट्रिय पोल्ट्री बजारमा नेपालले पहुँच जमाउन भने अझै केही समय लाग्ने देखिन्छ ।

पछिल्लो समय नेपालमै हजारौं मेट्रिक टन मासु र लाखौको संख्यामा अण्डा उत्पादन हुँदै आए पनि यसले नेपालको आवश्यकता अझै थेग्न सकिरहेको छैन । अन्य कृषि उपजको तुलनामा आत्मनिर्भरको नजिक पुगिएको भनिएको पेशा भए पनि सहज बजारिकरणको अभावमा धेरै चुनौतीका चाङहरु छन् । किसानले उत्पादन गर्ने, यसको जिम्मेवारी किसान बन्ने अनि कमाउने चाहिँ बिचौलिया भएपछि पोल्ट्री व्यवसायबाट बिरक्तिनेहरुको जमात बढ्दो छ । 

बिचौलियाको चंगुल

दानाको मूल्य दाना कम्पनीले तोक्ने । चल्लाको भाउ ह्याचरी कम्पनीले तोक्ने । बजार भाउ भने बिचौलिया अर्थात कोल्ड स्टोर्सहरुले तोक्ने । किसान भने आफ्नो वस्तुको मूल्यांकन अरुलाई गर्न लगाउनुपर्ने । आफ्नो वस्तुको मूल्य अरुलाई तोक्न लगाउनुपर्ने । दाना कम्पनीले जति मूल्य भन्यो, त्यति नै तिर्न तयार हुनुपर्ने । ह्याचरी कम्पनीले जति भन्यो त्यतिमै चल्ला खरिद गर्नुपर्ने । महिनौं दिन दुःख गरेर स्याहार्ने किसान, हालिमुहाली भने बिचौलियाको ।

किसानले हुर्काएको कुखुरामाथि किसानकै अधिकार हुनुपर्छ । किसान आफैंले नै कुखुराको मूल्य तोक्न पाउनुपर्छ । हैन भने सरकारले उचित दररेट तोकिदिनुपर्छ । कोल्ड स्टोर व्यवसायी संघले अहिले कुखुराको मूल्य तोक्ने गरेको छ । तोकिएको मूल्यमा पनि व्यवसायीहरु २० रुपैयाँ भन्दा बढी घटाएर किसानलाई हिसाबकिताब बुझाउँछन् । सबैभन्दा पहिले यो क्षेत्रको विकास र विस्तारका लागि किसानको पक्षमा नियामक निकाय दरिलो भएर उपस्थित हुनु आवश्यक छ ।

अस्थिर बजारिकरण

नेपालमा अहिले पोल्ट्री बजारको अवस्था अस्थिर छ । कुनै समयमा महंगो पनि हुन्छ, कुनै समयमा उठ्न नै नसक्ने गरी थचक्कै बसाउने गरी भाउ घटिदिन्छ । जब चल्लाको भाउ महंगो हुन्छ, अनि उत्पादन भएको कुखुराको मूल्य भने घट्छ । तब घाटामा किसान जान्छ, उसले समयमा आफ्नो खोरमा खोरमा चल्ला राख्न सक्दैन । किसान खाल्डोमा परेको मौका छोपी ठूला व्यापारीहरु आफ्नो खोरमा कुखुराको चल्ला छोड्छन् । सामान्य किसानलाई १ सय रुपैयाँमा चल्ला किनेर प्रतिकिलो १ सय ५० रुपैयाँमा बेच्नुपर्ने बाध्यकारी अवस्था सिर्जना हुन्छ ।

उदाहरणकै लागि २ हजार कुखुरा पाल्नको लागि चल्लालाई मात्रै १ सय रुपैयाँको दरले २ लाख रुपैयाँ पर्छ । त्यसले करीब साढे ४ लाख रुपैयाँको दाना खान्छ । करिब साढे ७ लाख भन्दा बढी खर्च हुन आउँछ । हिसाब गर्दा सरदर २ किलो ५ सय ग्रामको २ हजार कुखुराको प्रतिकिलो १ सय ५० को दरले साढे ७ लाख रुपैयाँ भन्दा बढी हुँदैन । यो हिसाबमा खर्च र आम्दानी बराबर हुन आउँछ । यसमा प्रतिकिलो १० रुपैयाँ मात्रै थप हुने हो भने पनि ५० हजारको फरक हुन आउँछ । 

नियामक निकाय भने यस विषयमा मौन छ । उचित मूल्य निर्धारण मात्रै हुन सक्यो भने पनि किसान मर्कामा पर्दैनन् । पोल्ट्री व्यवसायीमा पछिल्लो समय देखिएको अस्थिर बजार मूल्यले किसानलाई यो ब्यवसाय ‘जुवाको खेती’ सरह भएको छ । नियामक निकायले उचित मूल्य निर्धारण गरी व्यवसायबाट पलायन हुने सम्भावनाबाट युवाहरुलाई रोक्न सक्नुपर्छ । नत्र एक दिन फेरि छिमेकी देशबाट अत्याधिक आयात गर्नुपर्ने दिन नआउला भन्न सकिन्न ।

बीमा कम्पनी बीमा गर्न नै मान्दैनन् 

टाठाबाठाहरुको पोल्ट्री फर्ममा बीमा कम्पनीले बीमा गर्ने गरेको भए पनि सर्वसाधारणको खोरमा भने बीमा कम्पनीको नजर पुग्न सकेको छैन । बीमा गर्नकै लागि बीमा कम्पनीसँग ‘विनम्र आग्रह अनुरोध’ गर्नुपर्ने परिपाटी तीव्र बढ्दो छ । ब्रोइलर कुखुरा पालन आफैंमा चुनौतीको पेशा हो । यसमा गुम्ने र कमाउने दुबै सम्भावना बराबर जस्तै हुन्छ ।

त्यसैले पनि कम्पनीहरु यतातिर बीमा गर्न नै चाहँदैनन् । उनीहरु विभिन्न बहाना बनाउँदै पन्छिन्छन् । बीमा कम्पनीहरु ब्रोईलर कुखुरा पालनलाई ‘फुकेर ठूलो पारेको बेलुन’ जस्तै ठान्छन् । आम्दानीभन्दा प्रिमियम बढी तिर्नुपर्ने अवस्थाकै कारण उनीहरु यस क्षेत्रमा प्रवेश गर्न नै चाहँदैनन् ।

कर्जा प्रवाहमा आनाकानी

अन्य क्षेत्रमा बैंकले सजिलै ऋण उपलब्ध गराउँछ । व्यापार र अरु व्यवसायमा त झन कुनै आनाकानी नै हुँदैन । बाणिज्य बैंकहरुले अनिवार्य सहूलियत ऋणमा कृषि कर्जा प्रवाह गर्नुपर्ने सरकारको नीति छ । तर बैंकहरुले यो क्षेत्रमा सहज कर्जा प्रवाह गर्न मान्दै मान्दैन । यदि सहुलियत ब्याजदरको कृषि कर्जा प्रवाह भैहाले पनि त्यो पहुँचवामा मात्रै सीमित छ । 

पोल्ट्री फर्म देखाएर कृषि कर्जा निकाल्ने र त्यो रकम अन्यत्र लगानी गर्ने परिपाटी पछिल्लो समय ब्यापक छ । सामान्य जीविकोपार्जन गरिरहेका तर केही गर्छु भनेर कर्जाका लागि बैंकको ढोकामा पुगेकालाई बैंकले चिन्दै चिन्दैन । उनीहरुलाई कृषि कर्जा प्रवाह गर्यो भने ब्याज त त्यस्तै हो सावाँ समेत गुम्ने हो कि भन्ने बैंकहरुलाई लागेको छ । सामान्य ब्रोईलर पालक किसानमा सहूलियत ब्याजदरको कर्जा प्रवाह नहुनु आफैंमा बिडम्बना हो । यसमा नियामक निकायको गम्भीर ध्यान जानु जरुरी छ ।

‘खोर काँटा’ आवश्यक 

किसानकै खोरमा गएर खोरबाट नै कुखुरा तौलिनुलाई ‘खोर काँटा’ गर्ने भनिन्छ । ब्रोईलर कुखुरा उत्पादन गरिसकेपछि पनि किसानलाई सुख छैन । सहज बजारिकरण हुँदाहुँदै पनि किसान खोरमा भएको कुखुरालाई हेर्दै लामो सास फेर्न बाध्य छन् । व्यापारीहरु व्यवसायीको खोरमा कुखुरा जोख्न नै मान्दैनन् । उनीहरुकै ढोकामा लगेर जोखिदिनुपर्ने परिपाटी छ । कोल्ड स्टोर्ससम्म आईपुग्दा हुने क्षति सबै किसानले ने बेहोर्नुपर्ने हुन्छ । 

रातदिन नभनिकन उत्पादन गरिएको वस्तुलाई व्यापारीसम्म पुर्याउँदा भएको क्षति समेत बेहोर्नुपर्ने किसानको बाध्यकारी अवस्था अन्त्यका लागि सरकारले थप कानुनी प्रावधान बनाउनु जरुरी छ । व्यापारीहरु ‘काँटामा टाँका’ मार्नका लागि पनि खोरमा कुखुरा जोख्न नै मान्दैनन् । सामान्य लेखपढ समेत नजान्ने किसानलाई उनीहरुले सामान्य ललिपपमै झुलाएर ठग्ने प्रवृति छ । एकातिर बाटोमा भएको क्षति आफैंले बेहोर्नुपर्ने, अर्कोतिर काँटामा समेत टाँका मार्ने भएपछि किसान दोहोरो मारमा मात्रै होइन, पलपलको मारमा छन् ।

चल्लामा चलखेल

ब्रोइलर कुखुराको जातमध्ये सबैभन्दा प्रचलित ‘कब ५००’ नै हो । धेरैले यही जातको ब्रोइलर कुखुरा पाल्ने गरेको पाइन्छ । यसको छाती ठूलो हुने, छिट्टै तौल बढ्ने र प्रतिफल पनि राम्रो दिने भएसँगै यसप्रति सबैको आकर्षण छ । कुखुरा राम्रो हुनुमा जातमा मात्रै हैन, चल्लाको तौलमा पनि भर पर्छ । प्रायः ४५ ग्रामभन्दा माथि चल्लाको तौल हुनुपर्ने हो । त्योभन्दा तलको तौल भएका चल्लाहरु पछि त्यति राम्रोसँग फस्टाउन नसक्ने हुन्छ । कम तौल भएका चल्लाहरुलाई ‘कलिङ’ गरेर हटाउनुपर्ने हुन्छ । 

तर, ह्याचरीले सप्लायर्सलाई र सप्लायर्सले किसानलाई कम तौल भएका चल्ला पनि मिसाएर पठाउने गरेको पाइन्छ । यसले उत्पादित कुखुराको तौलमा असर पार्ने गरेको छ । खोरमा अस्थिर तौलका कुखुराहरु भएपछि औषत तौल कम आउने भएकाले किसान यसको प्रत्यक्ष मारमा छन् ।

त्यही खोरमा कुनै ३ किलो र कुनै साढे १ किलोको कुखुरा भयो भने किसानले ठूलो कुखुराको मूल्य पाउन सक्दैन । व्यवसायीहरुले ठूलो कुखुराको प्रतिकिलो मूल्य बढि र सानो कुखुराको प्रतिकिलो मूल्य कम दिने भएकाले छ्यासमिसे कुखुराकै कारण किसान कम मूल्यमै खुम्चिनुपर्ने बाध्यकारी अवस्थामा छन् । 

‘फ्रोजन मिट’ उत्पादनलाई जोड

अन्य पेशाको तुलनामा ब्रोइलर कुखुरा पालन ‘जुवाको खेती’ नै हो । थोरै समयमै प्रतिफल दिने पेशा हुँदाहुँदै पनि यसको सहज व्यवस्थापन हुन नसक्दा घाटा र नाफाको कुनै ग्यारेन्टी नै हुँदैन । बजारको पहुँच राम्रो हुँदाहुँदै पनि अस्थिर बजार भाउले किसान मर्र्कामा परेका छन् । समग्र समाधानका लागि जिउँदो कुखुरा व्यापारीको ढोकासम्म पुर्याउने भन्दा पनि बजारमा किसान आफैंको पहुँच व्यवस्थापन हुनुपर्ने आवश्यकता देखिन्छ । 

यसको एउटा उचित विकल्प ‘फ्रोजन मिट’ उत्पादनलाई हुन सक्छ । अन्य देशमा यसको प्रयास भएको भए पनि नेपालमा भने प्रयास समेत गरिएको पार्इंदैन । ‘फ्रोजन मिट’ प्रविधि अन्तर्गत रहेर सप्लाई गर्ने हो भने किसानले बाटोमा बेहोर्नुपर्ने क्षति न्युनिकरण हुन्छ । विशेष प्रविधिबाट शुद्धिकरण गरिएको यस्तो मासु कम्तिमा ३ महिनासम्म प्रयोग गर्न मिल्छ ।

लामो समयसम्म प्रयोग गर्न मिल्ने, जिउँदै बजारमा पुर्याउन नपर्ने, र किसानले बजार कुरेर पनि बस्न नपर्ने भएकाले यसमा बिचौलिया न्युनिकरण हुन सक्छ । यसमा सरकारले उचित मूल्य भने निर्धारण गरिदिनुपर्छ । उचित मूल्य निर्धारणसँगै ‘पकेट’ ठाउँहरुमा ‘फ्रोजन मिट’ उत्पादनका लागि विशेष ‘जोन’ हरु खडा गरिनुपर्छ ।
 

अन्तिम अपडेट: कात्तिक २, २०७५

तपाईको प्रतिक्रिया