बाध्यताले पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो : मन्त्री यादव

 जेठ २१, २०७५ सोमबार १८:२:५९ | उज्यालो सहकर्मी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरकारले बाध्य भएर पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको बताउनुभएको छ ।

मन्त्री यादवले नागरिकलाई सहुलियत दिने काममा आवश्यक साथ र सहयोग गर्न पनि विद्यार्थी संगठनका नेतृत्वसँग आग्रह गर्नुभयो । पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै सोमबार मन्त्रालय पुगेका प्रमुख दल निकट विद्यार्थी संगठनका नेतृत्वलाई उहाँले विद्यार्थीहरुलाई सहुलियत दरमा ग्यास उपलब्ध गराउने लगायतका विगतका सहमति कार्यान्वयनका लागि आवश्यक छलफल गर्ने आश्वासन दिनुभयो ।

मन्त्री यादवले नेपाल आयल निगममा अब भ्रष्टाचार नहुने र चुहावट हुन नदिन आफूले विशेष अभियान सञ्चालन गरिसकेको दाबी गर्नुभयो ।

मन्त्री यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा संघर्ष नगर्न पनि अनेरास्ववियू, नेपाल विद्यार्थी संघलगायतका प्रमुख दलका विद्यार्थी संगठनका नेताहरुसँग आग्रह गर्नुभयो ।

विद्यार्थी संगठनका नेताहरुले नागरिकलाई मारमा पर्ने गरी सरकारले बढाएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै मन्त्री यादवलाई ज्ञापन पत्र बुझाएका थिए । नागरिकलाई मारमा पार्ने गरी पेट्रोलियम पदार्थमा बढाइएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाउनु परेको अनेरास्ववियूका उपाध्यक्ष रश्मि आचार्यले जानकारी दिनुभयो ।

विद्यार्थी संगठनहरुले पेट्रोलमा बढाइएको मूल्य वृद्धि तत्काल फिर्ता नभए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया