गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत् रूपमा सञ्चालन

 बैशाख ८, २०७९ बिहिबार १३:५१:५७ | विमल बिष्ट
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज बिहीवारदेखि विधिवत् रूपमा सञ्चालनमा आएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि देशमा अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको यो विमानस्थलको पुरानो एक हजार पाँच सय मिटर लामो धावनमार्ग बन्द गरेर आजदेखि अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा आएको क्यानका महानिर्देशक ई. प्रदीपकुमार अधिकारीले जानकारी दिनुभयो । 

यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भने आउँदो जेठ २ गते बुद्धजयन्तीका दिनदेखि हुने तय भएको छ । आजदेखि नयाँ धावनमार्गबाटै आन्तरिक उडान सञ्चालन भइसकेको छ । काठमाण्डौको विमानस्थल बन्द भएको अवस्थामा वा अन्य कुनै आपत्कालीन अवस्थामा विदेशी एअरलाइन्सको जहाजले भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न पाउने व्यवस्था मिलाइएको छ । यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि जजिरा एअरले सम्पूर्ण तयारी गरिसकेको छ । अन्य एअरलाइन्सले पनि सम्पर्क गरिरहेका प्राधिकरणले जनाएको छ । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) भने गएको फागुन महिनामै सम्पन्न भइसकेको छ ।  

नयाँ धावनमार्गबाट आज निजी क्षेत्रको हवाई सेवा प्रदायक यती एअरलाइन्सले पहिलो उडान भरेको विमानस्थलले जनाएको छ । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरु भएको यो विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापर्बाहीले रोकिएको थियो । 

पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण पछि धकेलिएको थियो । यो विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुपले निर्माण गरेको हो । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा झन्डै ११ अर्ब रुपैयाँ खर्च भएको प्राधिकिरणले जनाएको छ । अब दोस्रो चरणको टर्मिनल भवनको काम पनि छिट्टै अघि बढाइने छ । 

४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम हुने विश्वास लिइएको छ । अब अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । विमानस्थल सञ्चालनमा आउँदा त्यहाँका नागरिक खुसी भएका छन् । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया