कारागारबाट भागेका यमराजलाई १८ वर्ष कैद सजाय

 बैशाख २१, २०७९ बुधबार १७:४७:१६ | हेमराज शर्मा
unn.prixa.net

फाइल फाेटाे

दाङ – कारागारबाट भागेका कैदी यमराज परियारलाई देउखुरी जिल्ला अदालतले थप ६ वर्ष गरी १८ वर्ष कैद सजायको फैसला गरेको छ । गएकाे पुस ८ गते अस्पताल जाने क्रममा प्रहरी जवानसँगको मिलामतोमा भागेर भारतबाट पक्राउ परेका कैदी यमराजलाई भुक्तान गर्न बाँकी र थप गरी अदालतले १८ वर्षको कैद सजायको फैसला सुनाएको हो ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका परियारले सात वर्ष पाँच महिना कैद सजाय भुक्तान गरिसकेका थिए । अदालतका न्यायाधीश डिल्लीराज शर्मा अर्यालको इजलासले भुक्तान गर्न बाँकी १२ वर्ष ६ महिना र थप ६ वर्ष ३ महिना गरी १८ वर्ष १० महिना कैद सजाय सुनाएको हो । कारागार ऐन २०१९ को दफा २४ को ३ अनुसार कैदी कारागारबाट भागेमा पक्राउपछि बाँकी कैदको डेढी बढाइ कैद सजायको व्यवस्था छ । त्यहीअनुसार अदालतले यमराजलाई थप ६ वर्ष तीन महिना साढे १४ दिन कैद सजाय तोकेको छ । 

त्यस्तै यमराजलाई भगाउन सहयोग गर्ने प्रहरी जवान धनबहादुर चौधरीलाई १० वर्ष कैद सजाय फैसला भएको छ । गर्भवती प्रेमिकाको हत्यामा जन्मकैदको सजाय काटिरहेका यमराज गएकाे पुस ८ गते बिहान प्रहरी जवान धनबहादुर चौधरीसँग उपचारका लागि अस्पताल गएका थिए ।

छालाको उपचारका लागि गएका प्रहरी जवान चौधरी र कैदी यमराज अस्पताल नगएर दुई महिलासहित घोराही वीपी चोकमा रहेकाे थकाली भान्सा घर एन्ड लजमा पुगेका थिए । त्यही क्रममा कैदी यमराज प्रहरीको लु ३४ प ४१० नम्बरको मोटरसाइकल लिएर भागेका थिए । त्यसलगतै प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालको कमान्डमा प्रहरी खटिएर घटनाको अनुसन्धान गरेको थियो । रिजालको कमान्डमा 'याङकी अप्रेशन' मार्फत भागेको एक महिनापछि कैदी परियारलाई गएकाे माघ १० गते भारतको लुधियानाबाट पक्राउ गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया