लमजुङको पहिरोमा बेपत्ता एक जनाको शव फेला, नदीमा हराएका २ जना अझै बेपत्ता

 असोज २, २०७५ मंगलबार १८:१५:३० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको बाढी पहिरोमा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।

बेसीशहर–चामे सडकखण्डको अर्खलेबेसीको पहिरोमा परि गएको बुधबारदेखि बेपत्ता हुनुभएका मस्र्याङ्दी गाउँपालिका–४, नासकुचेका ५९ वर्षे राजु लामा भनिने तुल्सी तामाङको भोटेओडारस्थित मस्र्याङ्दी नदीमा शव फेला परेको हो ।

लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका अनुसार तामाङको शव भोटेओडारस्थित मस्र्याङ्दी नदीमा सोमबार दिउँसो २ बजे फेला परेको हो । भेटिएको शवको सनाखत भएसंगै जिल्ला सामुदायिक अस्पतालमा पोष्मार्टम भएको हो । पोष्टमार्टमपश्चात् मंगलबार नै प्रहरी प्रशासनले तामाङको शवलाई आफन्तको जिम्मा लगाएको छ ।

दुईजना अझै भेटिएनन्

गएको बुधबार नै मस्र्याङ्दी नदीले बगाएर हराएका २ जना अझै भेटिएका छैनन् । नदीमा बगेर हराएका दोर्दी खोला जलविद्युत आयोजनाको पावरहाउस निर्माणमा खटिएका ३५ वर्षे बलिराम चौधरी र २५ वर्षका लक्ष्मीप्रसाद थारु भेटिएका छैनन् । उनीहरुरुको खाजी कार्य जारी छ ।

पहिरोले लियो ५ जनाको ज्यान

गएको बुधबार वर्षासँगै आएको पहिरोमा परि ५ जनाको ज्यान गएको छ । मर्स्यांदी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर बिकका अनुुसार पहिरोमा परि मर्स्यांदी गाउँपालिका–३, की ६५ वर्षीय अतिरुपा थापा, थापाकी ८ वर्षीया नातिनी शरिषा थापा, मस्र्याङ्दी गाउँपालिका–४, श्रीचौरकी विष्णुकली गुरुङ, मर्स्यांदी गाउँपालिका–३, कि ७१ वर्षे ललितमाया गुरुङ र मस्र्याङ्दी गाउँपालिका–४, नासकुचेका ५९ वर्षे राजु लामा भनिने तुल्सी तामाङको ज्यान गएको हो ।      

पहिरोमा परी मृत्युभएकाको परिवारलाई पहिलो चरणको राहत वितरण गरिएको पनि उहाँले जानकारी दिनुभएको छ ।    

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया