प्रतिनिधि सभाका विषयगत समिति सभापति निर्वाचनको कार्यक्रम सार्वजनिक

 असोज ३, २०७५ बुधबार १६:४:४८ | उज्यालो सहकर्मी

काठमाडाैं - संघीय संसद्को सचिवालयले प्रतिनिधि सभा अन्तर्गत रहने १० विषयगत समितिहरुको सभापति निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ । 

संघीय संसद्को सचिवालयले बुधबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार बिहीबार ११ बजेदेखि ५ बजेसम्म समितिमा सभापति हुन चाहने सांसदले कम्तिमा एक जना प्रस्तावक र एक जना समर्थक रहेको उम्मेदवारी प्रस्ताव दर्ता गराउनु पर्नेछ ।

यसरी सबै १० वटा समितिमा दर्ता हुन आएको प्रस्ताव दर्ता समय अनुसार मिलाई बिहीबार बेलुका उम्मेदवारको सुची प्रकाशन गरिने छ ।

यसरी दर्ता हुन आएको प्रस्ताव शुक्रबार ११ बजे बस्ने समितिको बैठकमा दर्ता क्रम अनुसार निर्णयार्थ प्रस्तुत गरिने नियमावलीमा व्यवस्था छ । जुन उम्मेदवारको पक्षमा समितिको बैठकमा पहिलो बहुमत पुग्छ त्यसलाई नै बिजयी घोषणा गरिने छ । सभापतिमा एक मात्र उम्मेदवार प्रस्ताव दर्ता भए निर्बिरोध घोषणा गरिने ब्यबस्था नियमावलीमा छ ।

शुक्रबार निर्वाचन हुने प्रतिनिधिसभाका समितिहरु राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य, सार्वजनिक लेखा समिति, अर्थ समिति, अन्तर्रा्ष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र  महिला तथा सामाजिक समिति रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया