आफ्नै पालिकामा स्वास्थ्य शाखा प्रमुखकाे पद छोडेर उपाध्यक्ष बन्नुभएका भक्तबहादुर

 जेठ ७, २०७९ शनिबार १४:३५:११ | हेमराज शर्मा
unn.prixa.net

दाङ – भर्खरै सम्पन्न पालिका तहकाे चुनावअघि दाङको बंगलाचुली गाउँपालिका स्थास्थ्य शाखा प्रमुख रहनुभएका भक्तबहादुर जिसी अहिले त्यही पालिकाकाे उपाध्यक्ष्य बन्नुभएकाे छ ।उहाँ अधिकृतको जागिर छोडेर राजनीतिमा लाग्नु भएकाे छ ।  

भक्तबहादुर जिसी बैशाख ३० गते सम्पन्न पालिका तहको चुनावबाट उपाध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । ५ हजार ९ सय ४५ मतका साथ गठबन्धनमा नेपाली कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित जिसी अब भने सबैका साझा व्यक्ति बन्नु भएको छ । जिसी यसअघि स्वास्थ्य क्षेत्रका कर्मचारी हुनुहुन्थ्यो । अधिकृत छैठौँ स्तरका जिसी अहिले राजनीतिमा प्रवेश गर्नुभएको छ । नागरिकका साझा समस्यालाई समाधान गर्नका लागि आफू राजनीतिमा आएको उहाँ बताउनुहुन्छ । 

नीति कार्यान्वयन तहमा रहेका जिसी अहिले आफैं नीति निर्माण तहमा पुग्नुभएकाे हाे । स्वास्थ्य क्षेत्रबाट जनप्रतिनिधिमा पुग्नुभएका बंगलाचुली गाउँपालिकाका जिसीले आफ्नो ठाउँलाई सुन्दर र समृद्ध बनाउने योजना अघि सार्नु भएकाे छ ।

विस २०३३ साल कार्तिक १७ गते साविकको लुहारपानी–१ हालको बंगलाचुली–६ रिभानमा जन्मिनु भएका जिसीले सरकारी सेवामा २२ वर्ष ५ महिना बिताउनु भयो । विस २०५६ साल मंसिर १ गतेदेखि स्वास्थ्य सेवाबाट सरकारी सेवामा प्रवेश गर्नुभएका जिसी पछिल्लो समय स्वास्थ्यमा देखिएका समस्या निराकरण गर्नका लागि आफैं जनप्रतिनिधि बन्नु भएको छ । 

‘कर्मचारी हुँदा म नीति कार्यान्वयन तहमा थिएँ’ उहाँले भन्नुभयो,  ‘अब नीति बनाउने तहमा पुगेको छु, सबैको साथ र सहयोगले अब पक्कै पनि स्वास्थ्य क्षेत्रलगायत विभिन्न क्षेत्रमा देखिएका समस्यालाई निराकरण गर्नेछु ।’

बंगलाचुली गाउँपालिकामा भर्खरै सञ्चालनमा आएको सामुदायिक अस्पतालको सेवालाई स्तरवृद्धि गर्नेदेखि लिएर गाउँपालिकाले स्थापना गरेको स्वास्थ्य केन्द्रको सेवा विस्तार गर्नेसम्मको उहाँको योजना छ ।

‘स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई समाधान गरी गुणस्तरीय सेवा दिने योजना बनाएको छु’ उहाँले भन्नुभयो, ‘लामो समय स्वास्थ्य क्षेत्रमा रहेर सरकारी सेवामा काम गर्दा धेरै अनुभव संगालेको छु ।’

स्वास्थ्य सेवामात्र नभइ गाउँपालिकाबाट सुख सुविधाका लागि बसाइँ सर्नेहरूलाई रोक्ने उहाँको योजना छ । उहाँले युवालाई गाउँकै माटोमा आत्मनिर्भरताको बाटोमा लैजाने योजना बनाउनु भएको छ । 

‘रोजगारी होस्, या सुख सुविधाको लागि जिल्लामै एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने क्रम बढेको छ’ उहाँले भन्नुभयो,  ‘यसलाई रोक्नका लागि अब गाउँपालिकाले आत्मनिर्भरतामुखी योजना ल्याएर अघि बढ्छ ।’ 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया