लामो दुरीमा गाडी नचल्दा यात्रुलाई सास्ती, सामान ढुवानी पनि प्रभावित

 असोज ४, २०७५ बिहिबार १२:३५:१९ | उज्यालो सहकर्मी

काठमाडौं – चालकको आन्दोलनका कारण विहीबार लामो दूरीका गाडी फाट्टफुट्ट मात्रै चलेका छन् । गाडी नचल्दा यात्रुलाई समस्या भएको छ । अस्ति मंगलबारदेखि नै चालकले आन्दोलन घोषणा गरेका हुन् । मंगलबार र बुधबार लामो दूरीका गाडी केही चले पनि विहीबार धेरै गाडी थन्किएका छन् ।

सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधन गर्दै गाडी दुर्घटनामा यात्रुको ज्यान गए चालकले जेल जानुपर्ने कडा व्यवस्था गरेपछि चालकले आन्दोलन थालेका हुन् । आफूहरुसँग छलफल नै नगरि कानुन संशोधन गरेको भन्दै आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागमा ज्ञापन पत्र बुझाउन लागेको  विभिन्न मजदुर संगठनले जनाएका छन् । सरकारले आफ्नो मागबारे चासो नदेखाए भोलिदेखि सबै गाडी चल्नै नदिने उनीहरुले बताएका छन् 

। यस्तै ढुवानी व्यवसायीले ढुवानी ठप्प पार्दा उपभोक्ता मारमा परेका छन् । पेट्रोलियम तथा सिमेन्ट रड बालुवा गिटीलगायत सामान ढुवानी गर्ने ट्रक र टिप्पर चालकले ढुवानी ठप्प पारेका हुन् । ढुवानी ठप्प हुँदा उपभोक्तालाई समस्या भएको हो । केही दिनसम्म भण्डारमा रहेको सामान बजारमा पठाइरहे पनि अब विस्तारै भण्डारण पनि सकिन थालेकाले निर्माण सामाग्रीको अभाव सुरु भएको ब्यवसायीले बताएका छन् ।

यसैबीच, नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर नचलाए ढुवानी सम्झौता रद्द गर्ने चेतावनी दिएको छ । निगमले सूचना निकालेर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा असर परे कडा कारवाही गर्ने जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया