लमजुङमा सिभिल इञ्जिनियरिङको पठनपाठन सुरु, पढ्नकै लागि शहर जानुपर्ने बाध्यता हट्याे

 असोज ४, २०७५ बिहिबार १७:५४:४९ | श्यामशितल परियार

लमजुङ – लमजुङमा सिभिल इञ्जिनियरिङको पठनपाठन सुरु भएको छ ।

सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको भक्ति नमुना माविमा डिप्लोमा ३ वर्षे कार्यक्रम सिभिल इञ्जिनियरिङ (डीसीई)को पठनपाठन सुरु भएको हो ।   

विद्यालयले यसैवर्ष प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)बाट ३ वर्षे सिभिल ईन्जिनियरिङको कक्षा सञ्चालनका लागि सम्बन्धन पाएको हो ।       

वडाअध्यक्ष मोतीप्रसाद गुरुङले बिहिबार विद्यालयमा ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ कक्षाको शुभारम्भ गर्नुभएको हो । अहिलेको समयको माग र चाहनालाई मध्यनजर राख्दै घरआँगनमै प्राविधिक शिक्षा प्रदान गर्ने कार्यमा विद्यालय जुटेकोमा उहाँले खुशी व्यक्त गर्नुभएको छ ।

दत्तचित्त भई अध्ययनमा जुट्न विद्यार्थीहरुलाई उहाँले आग्रहसमेत गर्नुभएको छ ।

रोजगारीका लागि प्राविधिक शिक्षा

विद्यार्थीलाई स्थानीय स्तरमै प्राविधिक शिक्षा प्रदान गरी उनीहरुलाई रोजगारीको अवसर सिर्जना गर्ने उद्धेश्यका साथ विद्यालयमा सिभिल ईन्जिनियरिङको पठनपाठन सुरु गरिएको विद्यालयका प्रअ यज्ञराज घिमिरेले बताउनुभयो ।      

‘पढाई सकिएसंगै रोजगारीको अवसर प्राप्त हुने भएकाले पनि प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण छ । त्यसैले हामीले विद्यालयमा सिभिल इन्जिनियरिङको पठनपाठन सुरु गरेका हौै, उहाँले थप्नुभयो । विद्यालयमा ३० जना विद्यार्थी भर्ना भइसकेका छन् ।

‘विद्यालयमा ४८ जना विद्यार्थीको कोटा रहेको छ । अहिलेसम्म ३० जना विद्यार्थी भर्ना भइसकेका छन्,’ उहाँले भन्नुभयो ।    

प्रअ घिमिरेका अनुसार विद्यालयमा लमजुङ, तनहुँ, गोरखासंगै धादिङ, जाजरकोट, बझाङ लगायतका जिल्लाका विद्यार्थी भर्ना भएका छन् । सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय परिवार जुट्ने विद्यालयका अध्यक्ष कीर्तिनाथ सापकोटाले बताउनुभएको छ ।

विद्यार्थीमा उत्साह     

घर आँगनमै प्राविधिक शिक्षा आर्जन गर्न पाउँदा यहाँका विद्यार्थी निकै उत्साहित भएका छन् ।

‘प्राविधिक शिक्षा लिन काठमाडौँ, चितवन पोखरा जानुपर्ने अवस्था थियो । अहिले घरआँगनकै विद्यालयमा सिभिल ईन्जिनियरिङको कक्षा सञ्चालन भएको छ । पढ्नकै लागि शहर जानुपर्ने बाध्यता हटेको छ । यहीँ पढ्न पाउँदा खुशी छु,’ सुन्दरबजार नगरपालिका–९, पैह्रेका सन्दिप परियारले खुशी दर्शाउँदै भन्नुभयो ।  

विद्याज्योति मावि तार्कु खहरेका प्रधानाध्यापक सूर्यबहादुर केसीका अनुसार यसवर्ष सीटीईभीटीबाट लमजुङमा ३ विद्यालयले ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिजनयरिङको कक्षा सञ्चालन गर्ने अनुमति पाएका हुन् ।      

जिल्लाका भक्ति नमूना मावि भोटेओडार, विद्याज्योति मावि तार्कु खहरे र जनकल्याण मावि चितिले ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङको कक्षा सञ्चालनका लागि सम्बन्धन पाएका हुन् ।    

विद्यार्थी संख्या कम भएकाले यसवर्ष विद्यालयमा सिभिल इन्जिनियरिङको कक्षा सञ्चालन गर्न नसकिएको विद्याज्योति माविका प्रअ केसीले बताउनुभयो ।

‘विद्यार्थी संख्या कम भए । त्यसैले यस वर्ष विद्यालयमा सिभिल इन्जिनियरिङको कक्षा सञ्चालन गर्न सकेनौँ । अर्को वर्षदेखि कक्षा सञ्चालन गर्ने हाम्रो तयारी छ,’ उहाँले भन्नुभयो ।  

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया