‘प्रकाण्ड’ पक्राउ र रिहाई प्रक्रियाले वार्तामा असहजता सिर्जना भयो: संयोजक पाण्डे

 असोज ५, २०७५ शुक्रबार १४:५:५१ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारद्धारा गठित उच्चस्तरीय वार्ता समितिका संयोजक सोम प्रसाद पाण्डेले नेकपा विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को पक्राउ र रिहाईको प्रक्रियाले वार्तामा असहजता सिर्जना भएको बताउनुभएकाे छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक पाण्डेले राजनीतिक र गैर–राजनीतिक क्रियाकलापका आधारमा द्वन्द्वरत समूहहरुलाई वार्तामा बोलाएर शान्ति कायम गर्न सरकार लचिलो हुनुपर्ने बताए । 

‘समाचारमा आएका कुराहरुलाई मात्रै आधार मानेर हुँदैन, हामीले प्रकाण्डबारे अदालत र सरकारसँग कुराकानी गरेका थियौं, अदालतले दोषी नरहेको भन्दै रिहाई गर्न भन्ने र गृहले अदालतको परिसरबाटै पक्राउ गर्ने प्रक्रियाले अनेक प्रश्न खडा भएका हुन,’ उहाँले भन्नुभयो ।

उहाँले प्रकाण्डलाई बारम्बार पक्राउ गर्नुको भित्री कारण उजुरी र जाहेरीको आधार रहेको सुनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘त्यही उजुरी र जाहेरीका आधारमा प्रहरीले प्रकाण्डलाई पक्राउ गर्ने र अदालतले दोषी नभेटेपछि रिहाई गर्ने आदेश दिएको रहेछ । नेकपा विप्लव राजनीतिकमोर्चा हो, उसले उठाएका मागहरु राजनीतिक छन्, त्यसैले सरकार यस्ता मोर्चा र अन्य अराजनीतिक समूहको बारेमा जानकार छ ।’

अदालतले रिहाई गर्न आदेश दिएका नेकपा प्रवक्ता प्रकाण्डलाई अदालतकै परिसरबाटै पक्राउ गर्ने र मधेशलाई नेपाल नै होइन भनेर आमसभा गर्ने सिके राउतलाई सरकारले केही नगर्ने भएपछि कसरी शान्तिकायम हुन्छ ? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा उहाँले भन्नुभयो,‘जाहेरी र पक्राउ पुर्जीको आधारमा प्रकाण्डलाई पक्राउ गरिएको भन्ने कुुरा हामीले जानकारी पाएका छौं, अर्को कुरा हाम्रो वार्ता टोलीलाई भए जतिको अधिकार छ, त्योभन्दाबाहिर गएर गर्न मिल्ने काम भनेको देशलाई सामाजिक, जातीय र धार्मिक विखण्डनजस्ता कार्यहरु कसैले गर्छ भने त्यस्ता समूहकाबारेमा सरकारले तत्काल सोच्नुपर्छ भनेर भन्न सक्छौं, सरकारले पनि सोचिरहेको होला ।’
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया