उपत्यकाका नदी किनारमा नजान आग्रह

 असोज ५, २०७५ शुक्रबार २०:८:२१ | रासस
unn.prixa.net

काठमाडौं – मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बालबालिका तथा चौपायालाई पनि नदी किनारमा नपठाउन अनुरोध गरिएको हो । पाइप सफा गरेको पानी वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरालगायत उपत्यकाका नदीमा पठाउने व्यवस्था मिलाइएको निर्देशनालयले जनाएको छ । 

सुन्दरीजलबाट चावहिल धोबीखोलासम्मको ११ किमी पाइप परीक्षण सम्पन्न गरी धोबीखोलाबाट नारायणगोपाल चोकसम्मको तीन किमीमा काम भइरहेको निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले जानकारी दिनुभयो । वितरण प्रणाली परीक्षणका क्रममा आउन सक्ने समस्याको समाधान गर्न आवश्यक तयारी पूरा गरिएको छ । फुटेको, चुहिएको पाइप देखेमा निर्देशनालयको निःशुल्क फोन नम्बर ११३९ मा खबर गर्न अनुरोध गरिएको छ । पाइपको निर्मलीकरण गर्न प्रयोग गरिने रासायनिक पदार्थले स्वास्थ्यमा प्रतिकूल असर गर्ने हुँदा नदीको पानी प्रयोग नगर्न, पशुपक्षीलाई पनि नदीको पानी नखुवाउन निर्देशनालयले सजग गराएको छ । 

ठेक्का लगाइएको एक हजार एक किमी वितरण सञ्जालमध्ये हालसम्म ७३० किमीको काम सम्पन्न भएको छ । थोक वितरण प्रणालीको ७९ किमीको काम सकिएको छ । थोक प्रणालीबाट १० वटा पानीपोखरी पानी लगिनेछ । १० वटा पानीपोखरीबाट पहिलो चरणमा पाइप बिच्छ्याइएका स्थानमा पानी वितरण गरिनेछ । वितरण सञ्जालका बनेका क्षेत्रमा हालसम्म ६९ हजार धारा जडान भइसकेको छ । पहिलो चरणमा ठेक्का भएकोमध्ये अब करीब २० हजार धारा जडान गर्न बाँकी छ । यो काम सक्न एक वर्ष लाग्ने निर्देशनालयको अनुमान छ । 

मेलम्चीको पानी २६.५ किमीको सुरुङबाट सुन्दरीजल ल्याई पानी प्रशोधन केन्द्रमा खसालिनेछ । प्रशोधनका लागि पहिलो चरणमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने केन्द्र सम्पन्न भएको छ । केन्द्रमा बाग्मती नदीको बढी भएको पानी प्रशोधन गरी दैनिक तीन करोड लिटर पानी पुरानै सञ्जालबाट वितरण भइरहेको छ । दोस्रो चरणको आठ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने केन्द्र निर्माण भइरहेको छ । 

करिब दुई महिनापछि मेलम्ची खोलाको १७ करोड २८ लाख लिटर पानी दैनिक राजधानी आउनेछ । पानी ल्याउन सुरुङ निर्माण सम्पन्न गरी ढलान गर्ने काम भइरहेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • जोशी जी

    Sept. 21, 2018, 9:30 p.m.

    नदीकाे किनारामा जग्गा मिचेर घर बनाउने को घर लैजादैन हजुर !

  •  0 Reply

तपाईको प्रतिक्रिया