यति धेरै फोन आउँथ्यो कि नवीनले हरेक महिना नम्बर फेर्थे

 असोज ६, २०७५ शनिबार १२:८:१५ | दीपा तिमल्सिना
unn.prixa.net

अग्लो कद । लजालु स्वभाव । शीरदेखि पाउसम्म म्याचिङ ड्रेस । शीरमा कहिल्यै नछुट्ने क्याप । उनको चिनारी यति मात्रै होइन । कुनै बेला पप संगीतमा एकछत्र राज गरेका उनले अहिले पनि उतिकै माया पाएका छन्  । कारण– उनी दिलदेखि नै गाउँछन्, रमाउँछन् । 

गायक नवीन के भट्टराई । जो सानो समूहमा बस्न रुचाउँछन् । गीत गाउने सोख र इच्छा चाहना थियो, तर पैसा थिएन । अनुकूल समयमा गितार बजाउनु, गीत गाउनु, साथीभाइलाई सुनाउनु । यसैगरी दिन बित्दै गयो । धेरैजसो त उनी आफ्नो अभिन्न मित्र गितारसँगै लुकामारी खेल्नै रमाउँथे । 

गीत रेकर्ड गराउने ठूलो रहर थियो । तर बाधा उही पैसा । यो बाधाको पहाडलाई छिचोल्न मामा कृष्ण बनेर आए । २०५२ सलातिरको कुरा, हो – मामाले गीतको एल्बम निकाल्न सहयोग गर्दै बाधाको पहाड फोडे । भट्टराई आफ्नो रहरले बाटो र लय पाउँदा दंग परे । त्यही बेला गीत रेकर्ड गर्दा २५ सय रुपैयाँ जति खर्च भयो ।

उनी भए फुरुंग । उनको खुशी एक दुई दिनमै हलक्कै फैलियो ।  ‘आँखामा तिमीलाई पाउँछु म धेरै धेरै...’ बोलको गीत सबैको मुखैमा झुण्डियो । 

गीत निकै चल्यो । एकान्त रुचाउने उनलाई थाहै थिएन की गीत चल्दा गायकले नि पैसा कमाउँछन्  ।  यो गीत पछि उनलाई गीत गाउन कार्यक्रमबाट निम्तो नै आउन थाल्यो । 

सबै जना हेर्न बस्थे, तर स्वभावले ह्याण्डल गर्न सकिएन

कलेजबाट घर फर्किदा हिँड्दै । चिया पसल, होटल रेष्टुराँ, शैलुन उनी हिड्ने बाटोमै पर्थ्यो । त्यहाँ हुने सबैको आँखामा भट्टराईले आफैँलाई पाउँथे । ‘आँखामा तिमीलाई पाउँछु म धेरै धेरै...’ सुन्दै उनीलाई पर्खिरहेका हुन्थे, हेरिरहेका हुन्थे, उनीहरु । 

तर भट्टराईलाई कसैको आँखामा मात्रै बसिरहन सकस हुन्थ्यो । उनी सकेसम्म लुकेर नदेखिने गरी ओहोरदोहोर गर्दथे । भिड होइन सानो समूहमा उनको मन बस्थ्यो । 

काठमाडौंको डिल्लीबजार घर । स्कुल हुँदा गायनलाई घर र साथीभाई माझ नै सीमित राखे । जब स्कुले जीवन सकियो, उनमा संगीतको आवेग बढ्यो । बुढानीलकण्ठमा स्कुले जीवन बिताएका उनी काठमाडौं युनिभर्सिटी भक्तपुरमा उच्च शिक्षाका लागि पुगे । युनिभर्सिटीसँगै गायन यात्रले पनि गति पायो ।  यो यात्रामा बुवाको भरपुर साथ थियो । उनी डिल्लीबजारदेखि हिँड्दै रत्नपार्क पुग्थे । अनि रत्पार्कबाट गाडीमा काठमाडौं युनिभर्सिटी, भक्तपुर । फेरि भक्तपुरदेखि रत्नपार्कसम्म उही यात्रा । अनि उही बाटो हिँड्दै डिल्लीबजार घर । ‘थिएन नि म सँग बाइक, लुखुर लुखुर हिडेर जान्थे’, उनी सम्झन्छन् ।  

१० वर्षसम्म गाह्राे भयो, हरेक महिना नम्बर परिवर्तन

रहरै रहरमा निक्लियो एल्बम ‘रहरै रहरमा’ । बजारमा ‘रहरै रहरमा’ गएसँगै भिडले नियाल्न थालेपछि भट्टराई प्रफुल्लित त भए । तर उनी भिडमा रुमल्लिन चाहेनन् ।  प्रायः मान्छेको चहलपहल कम हुने समयमा नै उनी घर वरपर निस्कन्थ्ये । भिड उनको पछि लागिरह्यो । उनी एक्लै दौडिरहे । उनी भन्छन्, ‘त्यस्तो बेला मलाई यस्तो प्रेसर भयो, कुनै एउटा प्वाइन्टमा पुग्दा त मैले आफूलाई मेसिन नै सम्झे । यति धेरै फोन आउथ्यो राति – बिहान । म वाक्क भइसकेको थिए । मैले यो भिड र चमकलाई ह्याण्डल नै गर्न सकिन । मान्छे थाक्छ नि ।’ 

भट्टराईको घर नजिकै एक जना दिदीको पसल थियो । दिदी सँधै भन्नु हुन्थ्यो, ‘ओहो नवीन तिम्रो त हरेक महिना नम्बर चेन्ज गर्नुपर्दछ है ।’  यो पाटो रमाइलो पनि हो । कति मान्छेको लक्ष्य नै यही नाम दामको होस् भन्ने हुन्छ, तर मेरो चाहना यो सब भन्दा नि आनन्दले गीत नै गाउँ र गीतबाटै शेयर गरौँ भन्ने नै हो । म भिडको पछि लाग्नै चाहिन ।’

स्वभावकै कारण केही मिडियाले त प्रतिबन्ध नै लगाए

धेरैको मनमा बसेका पप गायक नविन भट्टराई केही मिडियाले भने प्रतिबन्ध नै लगाए । उनकै शब्दमा भन्नु पर्दा उनी खास मिडियाबाट टाढा बस्न रुचाउँथे । यो स्वभावले केही कार्यक्रम प्रस्तोता वाक्क भएका थिए । केही वर्ष त उनलाई उनीहरुले निषेध नै गरे । ‘मेरो स्वभाव नै त्यस्तै थियो मिडियामा धेरै नजाने, त्यो कुरा मिडियाले बुझेनन् ।’ 

४ वर्षपछि कमब्याक

सुरुमा द स्टिल ह्विल्स ब्यान्डमा आबद्ध भट्टराई अहिले सोलो गाउँछन् । २०४८ सालतिर लाइभ शोमा अंग्रेजी गीत गाएर सुरु भएको थियो सांगीतिक यात्रा । बुढानीलकण्ठको पढाईले उनीलाई अंगे्रजी गीतप्रति लगाव बढेको थियो । लोकप्रिय बनौँला, सबैले वाहवाह गर्लान् भनेर उनले गितार समाएको पटक्कै होइन । रहर थियो सोख थियो अनि भित्री चाहना थियो । 

यसैले पनि उनी आफ्नो गीतको पहिलो हरफ आफैँ लेख्छन्, कम्पोज गर्छन् । उनका गीतमा अन्तरा प्राय: हुँदैनन । ‘मान्छे छक्क पर्थे, आबुई अन्तरा नै नभएको गीत भन्थे ।’ उनले भने । कुनै बेला अरुले हाँसीमज्जाक गरे नि यो उनको आफ्नोपन हो । 

२०४९ सालको कुरा हो । उनले पहिलो पटक विशेष औपचारिक कार्यक्रममा गाउने निम्तो पाए । यसरी विशिष्ट अतिथि (राजा वीरेन्द्र शाह) सामू गीत गाउने जर्मको जुर्ला भन्ने आशा नै थिएन उनलाई । उनको गायनको सबैले चर्चा गरे । त्यति मात्रै होइन खाममा उनले ५ हजार रुपैयाँ पनि पाए । ‘कस्तो अचम्म गीत गाएर नि पैसा पाइदो रैछ’ उनी एकै पटक फ्ल्यासब्याकमा पुगे ।

नवीनको आफ्नै शैली छ । त्यसैले त उनले ४  वर्षपछि कमब्याक गर्दा सबै गीत टेपमा नै रेकर्ड गराए । १० वर्षसम्म थन्किएको टेपको धुलो पुछ्दै गीत भरे–‘अनिदो भईं रातमा...।’ आधुनिक उपकरण भन्दा उनलाई त्यही पुरानो टेपले मन छोयो ।

संगीतमा केही नयाँ गर्नकै लागि भनेर उनले ‘ग्याप’ राखे । ४ वर्षसम्म एल्बम र गीत रेकर्ड नगराए पनि उनी विभिन्न सांगीतिक कार्यक्रम, महोत्सवमा भने व्यस्त हुन्थे ।  तर अरु सांगीतिक ब्याण्डसँग उनको ‘केमेस्ट्री’ उति नजम्ने, आफ्नै ब्याण्ड लैजान आयोजकको खर्च बढ्ने । लाइभ  कन्सर्ट र लोडसेडिङ लगायत कारण बाधक बन्यो, रोकियो चार वर्ष । 

राम्रो श्रोता

२०३१ साल काठमाडौंको डिल्लीबजारमा जन्मिएका भट्टराईलाई सानैदेखि पप संगीत सुन्न खुबै रुची थियो । उत्कृष्ट गीत प्रस्तुत गर्न खप्पिस गायक भट्टराई राम्रो श्रोता हुन् । गीत सुनेर नै उनले गाउन सिके । संगीतका विभिन्न पाटोका बारेमा ज्ञान बटुले । पछि त उनले संगतिको औपचारिक शिक्षा नै लिए । 

भट्टराईको छोरा श्लोक पनि संगीतमा रुची राख्छन् । तर उनको अगाडि हिम्मतै गर्दैनन् गाउने । अहिले बुवा साथमा हुनुहुन्न, तर भट्टराई आफूले गायनमा बुवाको साथ पाए जस्तै साथ छोरालाई दिन चाहन्छन् । छोरा श्लोक नवीन के भट्टराईसँग उति खुल्दैनन, जति आमा र हजुरआमासँग खुल्छन् ।

छोराले नि संगीतिक क्षेत्रमा केही गरोस् भन्ने चाहना छ, नवीन के भट्टराईलाई  । प्रायः पश्चिमी गीत सुन्ने भट्टराई श्लोकलाई पनि यस्तै गीत सुनाउँछन् । 

भट्टराईको दैनिकी हिजो आज पनि पहिले जस्तै छ । परिवेश मात्रै फेरिएको छ । उनी पहिले जस्तै पश्चिमी गीत सुन्न र गाउन रुचाउँछन्, त्यही बिट अनुसार गितार बजाउँछन् । बिहान उठेदेखि नसुतेसम्म गितारमा नै रमाउने उनी केही दिन घरमा भएनन् भने छिमेकीको खोजीको पात्र बन्छन् । गितार र भट्टराईको गज्जबको कनेक्सनकै कारण सँधै गितारको आवाजले झर्को मान्ने छिमेकी पनि सुनसान हुँदा चासो देखाउँछन्, ‘होइन, नवीन कहाँ गएछ ...?’ 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया