स्वास्थ्य सेवामा हेलचेक्य्राइँ : गर्भ जाँच गर्न आएका महिलालाई अस्पतालले फर्काइदिन्छ !

 असोज ९, २०७५ मंगलबार २०:२७:१६ | अर्जुन श्रेष्ठ
unn.prixa.net

धादिङ – जिल्ला अस्पताल धादिङमा दरबन्दी अनुसारको चिकित्सक नहुँदा अस्पतालबाट दिने सेवा तथा सुविधाहरु प्रभावित बनेका छन् ।

चिकित्सक पद रिक्त हुँदा भिडियो एक्सरे र गर्भवतीको अपरेसन सेवा लिन आउने सेवाग्राहीहरु अप्ठ्यारोमा परेका हुन् । गंगा जमुना–३, धादिङकी मंगली गुरुङ सुत्केरी गराउनका लागि गाउँदेखि जिल्ला अस्पताल आइपुगेको बताउनुहुन्छ ।

डाक्टरले अपरेसन गर्नु पर्ने तर अस्पतालमा चिकित्सकको अभावका कारण सम्भव नभएको भन्दै काठमाडौं लैजानु पर्ने बताएपछि आफूलाई अत्तेस लागेको उहाँको भनाई छ ।

उहाँ भन्नुहुन्छ, ‘बर्खाको समय गाउँबाट कति सकसले सदरमुकाम आइपुगेँ । न भिडियो एक्सरे छ, न त अपरेसन सेवा नै । हामी बिरामीभन्दा पनि जिल्ला अस्पताल नै बेहाल रहेछ ।’ 

त्यस्तै नीलकण्ठ ३ धादिङका वीरेन्द्र तामाङ शुक्रबार राति इमर्जेन्सी वार्डमा भेटिनुभयो । भान्जीलाई असह्य रुपमा पेट दुखेर अस्पताल ल्याएको बताउने तामाङ चिन्तित देखिनुहुन्थ्यो ।

कुराकानीकै क्रममा उहाँले भन्नुभयो, ‘जिल्ला अस्पतालमा भिडियो एक्सरे हुँदैन रे, रातको समय भएर अल्छि पो ग¥यो कि भनेर बुझेको त, डाक्टर नै पो रहेनछ । स्वास्थ्य क्षेत्रमा यतिसम्म हेलचक्याइँ रहेछ ।’ 

‘जाँच गर्ने डाक्टरले अन्य ठाउँमा लैजानु भन्नुभयो, रातारात काठमाडौं लैजान कसरी सम्भव हुन्छ । निजी क्लिनीक, अस्पताल तथा काठमाडौं लैजाँदा खर्च धेरै हुन्छ’, उहाँले भन्नुभयो, ‘के गरिबलाई बाँच्ने अधिकार छैन, अकालमै मर्नु पर्ने हो ।’

प्रसुति क्षेत्रमा सेवा दिँदै आएका डा. अर्जुन श्रेष्ठले भिडियो एक्सरेको सेवा पनि दिँदै आउनुभएको थियो । तर करार अवधि गएको असारमा सकिएपछि अस्पतालले दिने सेवा, श्रोत र साधनको अभावका कारण सेवा ठप्प भएको जिल्ला अस्पताल धादिङका प्रमुख डा. दीपा बोहराले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘जिल्ला अस्पताल भनेर बिरामी र आफन्तहरु ठूलो आश र भरोसाका साथ आउनुहुन्छ । तर श्रोत र साधनको अभावका कारण चाहेर पनि सेवा दिन नसक्दा खल्लो लाग्छ ।’

उहाँ थप्नुहुन्छ, ‘जिल्ला अस्पताल भएका कारण बिरामीको चाप पनि बढी छ ।’ सम्बन्धित क्षेत्रमा दक्ष चिकित्सक, श्रोत र साधनकै अभावका कारण रोकिएको सेवा सुरु गर्न नसकिएको उहाँको भनाई छ ।

गर्भवती महिलाहरुले ४ महिना, ६ महिना र ८ महिनामा गर्नुपर्ने भिडियो एक्स–रे सेवा जिल्ला अस्पतालबाट मात्रै प्रदान हुँदै आएको थियो । तर भिडियो एक्सरे र अपरेसन थिएटर कोठामा ताल्चा लगाइएको छ ।

सेवा लिन आएका बिरामी सेवा नलिइ फर्कन बाध्य भएका छन् । अस्पताल विकास समितिको पदावधि सकिएर बिदाइ हुँदा करार सेवामा राखिएका कर्मचारीहरुको करार नविकरण हुन सकेको छैन ।

चारजना सरकारी दरबन्दी रहेकोमा एकजना मात्रै चिकित्सक छन् । भएको एकजना डाक्टर दीपा बोहराले पनि निमित्त मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी लिएर प्रसाशनिक काम गर्नुपर्ने बाध्यता आइपरेपछि जिल्ला अस्पताल धादिङवेशीबाट प्रदान गरिने बहिरङ्ग (ओपीडी) सेवा समेत प्रभावित भएको छ ।

जिल्ला अस्पतालको नेतृत्व गर्ने मेडिकल सुपरिटेण्डेन्ट रिक्त रहेकै २ वर्ष भइसक्दा समेत मन्त्रालय र विभागबाट चिकित्सक पठाएका छैनन् । तत्कालीन मेसु डाक्टर रसिला अमात्य सरुवा भएपछि १ वर्षसम्म नित्तिम मेसु चलाएका गौरव महतो समेत सरुवा भइसक्दा समेत सरकारी दरबन्दीको मेसु जिल्लामा हाजिर हुन सकेको छैन ।

अहिले जिल्ला अस्पतालमको एक सरकारी दरबन्दीमा चिकित्सक डा. दीपा बोहराले नित्तिम मेसुको काम सम्हालिरहनुभएको छ । त्यस्तै, बहिरङग (ओपीडी) सेवा चारजना करार चिकित्सकको भरमा चलेको छ ।

धादिङ जिल्लाका ग्रामिण क्षेत्रका स्वास्थ्य चौकीहरुमा उपचार हुन नसकेपछि थप उपचार गराउन आउने बिरामीहरुलाइ चिकित्सक नभएकै कारण रिफर गर्नुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताउनुभयो ।

उप्रेती भन्नुहुन्छ, ‘गएको आर्थिक वर्षमा चार हजार एक सय एकजनाले भिडियो एक्सरे सेवा लिएका थिए । हरेक दिन १० देखि १५ जना भिडियो एक्सरे सेवा लिन आउने गरेको उहाँको भनाई छ ।

त्यस्तै प्रसुतिको कुनै जटिल अवस्था आइपरेमा तत्काल रिफर गर्नुको विकल्प छैन । गएको असार मसान्तसम्म कार्यरत रहेका डाक्टर अर्जुन श्रेष्ठको करार अवधि सकिएपछि भिडियो एक्सरे सेवा र अपरेसनसहितको आकस्मिक प्रसुति सेवा सञ्चालनमा समस्या भएको उप्रेतीले बताउनुभयो । 

१५ शैया क्षमताको अस्पताल भए पनि अहिले त्योभन्दा बढी शैयाबाट सेवा दिइरहेको अवस्थामा पनि जिम्मेवार निकायबाट हेलचेक्राइँ हुँदा जिल्ला अस्पतालमा उपचार गराउने बिरामीहरु समस्यामा परिरहेका छन् ।

‘हामीले पटक–पटक स्वास्थ्य मन्त्रालय, विभाग र क्षेत्रमा चिकित्सक नभएकाले समस्या भएको भनेर पत्र पठाएका छौँ, तर पनि कुनै सुनुवाइ भएकै छैन’, उप्रतीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २, २०८०

अर्जुन श्रेष्ठ

रेडियो धादिङमा काम गर्ने अर्जुन श्रेष्ठ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया