नेपालको पुनः निर्माणको अनुभव संयुक्त राष्ट्र सङ्घमा

 असोज १०, २०७५ बुधबार ५:४६:४४ | रासस

काठमाडौं - भूकम्पपछिको पुनः निर्माणका बारेमा राष्ट्रिय पुनः निर्माण प्राधिकरणले नेपालको पुनः निर्माणको अनुभवका बारेमा संयुक्त राष्ट्र सङ्घलाई जानकारी गराउने भएको छ । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त राष्ट्रसङ्घको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित राष्ट्र सङ्घको भवनमा आयोजना हुने ‘विपद् पश्चात्को आवश्यकता आँकलन र पुनः निर्माण तथा पुनः स्थापना योजना’ विषयक कार्यक्रममा नेपालको पुनः निर्माणसम्बन्धी प्रस्तुति गर्नु हुने कार्यक्रम छ । 

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपश्चात् नेपालको पुनः निर्माण तथा पुनः स्थापनासम्बन्धी अनुभव र भावी कार्ययोजना प्रस्तुत गर्नु हुने कार्यक्रम छ । आगामी शुक्रबार आयोजना हुने कार्यक्रममा भाग लिने क्रममा ज्ञवाली आज राति अमेरिकातर्फ जाँदै हुनुहुन्छ । 

“कार्यक्रममा हुने प्रस्तुतिले नेपालको पुनः निर्माणमा अन्तर्राष्ट्रिय समुदायबाट आर्थिकलगायत अरू सहयोग जुटाउन मद्दत पुग्ने विश्वास लिएको छु”, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो । 

कार्यक्रममा नेपालको पुनः निर्माण र पुनः स्थापना सम्बन्धमा नेपालको हाल सम्मको प्रगति अवस्था र पुनः निर्माणका लागि आवश्यक पर्ने वित्तीय आवश्यकता सम्बन्धमा समेत छलफल हुनेछ । 

राष्ट्र सङ्घ, युरोपेली सङ्घ र विश्व बैंकले संयुक्त रुपमा आयोजना गर्ने उक्त कार्यक्रममा डोमिनिकन रिपब्लिक, नाइजेरिया लगायतका देशका विभिन्न संस्थाको प्रस्तुति रहने कार्यक्रम छ । 

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विश्व बैंक र संयुक्त राष्ट्र सङ्घका उच्च अधिकारीहरुसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम पनि छ । ज्ञवाली आगामी आइतबार स्वदेश फर्कने कार्यक्रम छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया